कलेजो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा कलेजो प्रत्यारोपण सफल भएको छ । डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरेको अस्पताल प्रशासनले जनाएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकिरहेका बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो पटक पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको हो ।
टिचिङ अस्पतालमै सफल प्रत्यारोपणले कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुने बताइएको छ ।
डा. भण्डारीको टोलीले ५ वर्षदेखि कलेजो प्रत्यारोपणको तयारी गरेपछि चार महिनाअघि मात्र प्रत्यारोपण गर्ने अनुमति पाएको थियो । वार्षिक १० देखि १५ वटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिइएको डा. भण्डारीले बताएका छन् ।
सन् २०१० मा अष्ट्रेलियाबाट फर्किएपछि डा. भण्डारीले जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरी गर्न थालेका थिए । त्यही बेला नेपालमा कलेजो प्रत्यारोपणको आवश्यकता महसुस गरे लगत्तै आवश्यक तालिमका लागि अष्ट्रेलिया गएका भण्डारी सन् २०१५ मा फर्केका थिए ।
आवश्यक जनशक्ति, तालिम र सामान तयार पार्न झन्डै २ वर्ष लागेको उनले बताएका छन् । १२ करोडभन्दा बढीको लगानीमा आवश्यकता अनुसारको ‘सेट अप’ तयार भएको बताइएको छ ।
तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले कलेजो प्रत्यारोपणका लागि आवश्यक सहयोग गरेका थिए । अहिले प्रत्यारोपणका लागि भारतस्थित एपोलो अस्पतालको टिमले सहयोग गरेको बताइएको छ ।