कांग्रेस नेतृत्वप्रति नेताहरुको आक्रोश

पार्टी विधानअनुसार चलाउन चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध खबरदारी गर्न र पार्टी सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियानमा छ । ‘हिमाल, पहाड तराइ–मधेश, नेपाली कांग्रेस’ भन्ने नाराका साथ सुरु भएको अभियानमा सरिक केन्द्रीय नेताहरु सरकारविरुद्ध आक्रमण देखिएका छन् भने त्यो भन्दा बढी दोस्रो तहका केन्द्रीय नेता र जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ता पार्टीकै नेतृत्वप्रति असन्तुष्ट देखिएका छन् ।
बिहीबार राजधानीमा भएको अन्र्तक्रियामा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालगायतले सरकारको आलोचना गरेका थिए भने सोही मञ्चमा कार्यकर्ताले भने पार्टी नेतृत्व माथि नै प्रश्न उठाएका थिए ।
देउवाले प्रजातन्त्र र लोकतन्त्रसँग हिड्न नचाहेकै कारण २००७ सालमा राणा शासन, पञ्चायत हुँदै पछिल्लो समय राजा फालिएको उल्लेख गर्दै अहिलेकै जस्तो व्यबहार कायम राखे वर्तमान सरकार पनि फालिन सक्ने चेतावनी दिए ।
देउवाले ‘ओली सरकारले पनि लोकतन्त्रलाई खोस्न खोजेको छ । लोकतन्त्रमाथि धावा बोलिरहेको छ । यस्तै रहे अर्को लडाँई लड्नुपर्ने अवस्था आउन सक्छ ।’ भन्दै त्यसका लागि तयार रहन नेता÷कार्यकर्तालाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीकै कारण सिंहदरबारको अधिकार गाउँसम्म पुग्न नसकेको भन्दै देउवाले संघीयता फर्किन्छ कि भन्नेमा आशंका नगर्न आग्रह पनि गरेका छन् ।
त्यस्तै उपसभापति विमलेन्द्र नीधिले वर्तमान सरकारबाट संघीयताको सफल कार्यान्वयन हुन नसक्ने जिकिर गर्दै भने ‘कम्युनिस्ट प्रणाली र संघीय प्रणाली विरोधी कुरा हुन् । कम्युनिस्ट जनवादी केन्द्रीयतामा विश्वास गर्छन् । संघीयता कम्युनिस्ट मोडल होइन लोकतान्त्रिक मोडल हो, त्यसकारण वर्तमान सरकारबाट संघीयताको सफल कार्यान्वयन सम्भव छैन ।’
पार्टी नेतृत्वले सरकारको आलोचना गरेर पार्टीभित्रको अन्तरविरोध र कमीकमजोरीलाई ढाकछोप गर्न खोजेपनि कार्यकर्ताले भने पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न तेर्साएका छन् । कांग्रेसको संघीयताअनुसारको संगठन संरचना कहिले बन्छ ? ११ प्रदेशको अवधारणा आएको छ, यसमा कांग्रेसको धारणा के ? कांग्रेस नेतृत्व किन अलमलमा परेको हो ? भन्दै नेतृत्वमाथि कार्यकर्ताले प्रश्न गरेका छन् ।
त्यस्तै पार्टी भित्र बढेको गुटबन्दीको विरोध गर्दै कांग्रेस कार्यकर्ता रविन्द्र भट्टराईले प्रश्न गरे – ‘म शेरबहादुर देउवाको हुने कि शशांक कोइरालाको हुने कि पूर्णबहादुर खड्काको हुने कि अरु कुनै केन्द्रीय नेताको हुने ? जिल्ला समिति, वडा समिति, टोल समिति सबैतिर कसैको नभए जिम्मेवारी पाइँदैन, दिइँदैन् । प्रशिक्षण पनि गाउँगाउँसम्म पुग्न सकेको छैन । यसको निराकरण कहिले हुन्छ ?”
त्यस्तै अर्का कार्यकर्ता विनोद भट्टराईले पनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति रोष प्रकट गरे । उनले देश संघीयतामा गएपनि स्रोत र साधनको सहि परिचलान हुन नसकेको टिप्पणी गरे । प्रकृतिले दिएको स्रोत साधनलाई प्रयोगमा ल्याउन वर्तमान सरकारले काम गर्न नसक्दा कांग्रेसले संसदमा आवाज उठाउन किन नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यस्तै उनले सरकारलाई कांग्रेसको छायाँ सरकारले लगाम लगाउन सक्छ भन्ने प्रश्न पनि गरेका छन् ।
त्यस्तै कांग्रेस समर्थक अधिवक्ता सुष्मा बास्कोटाले सरकारले संघीयता अनुसार काम गर्न नसकेको भन्दै कांग्रेस अलमलमा नपरी प्रष्ट हुनुर्ने बताइन् ।
त्यस्तै सांसद मिना सुब्बाले लडाईं गरेर ल्याएको संघीयता वर्तमान सरकारलाई बाँदरको हातमा नरिवल भएको टिप्पणी गर्दै स्थानीय तह र प्रदेशले हेर्ने आयोजना पनि केन्द्रबाटै हेर्ने भनिएकोप्रति कांग्रेसले दरिलोसँग आवाज उठाउनु पर्ने बताइन् ।
त्यस्तै कांग्रेस समर्थक अधिवक्ता गोकर्ण बन्जाडेले “कांग्रेस कहिले संघीय संरचनामा जान्छ ? कांग्रेसको प्रदेश संरचना कहिले बन्छ ? कांग्रेसको संगठन संरचना चाहीँ संघीयता अनुरुप हुनुपर्दैन ?” भन्ने प्रश्न गरेका छन् ।
त्यस्तै कांग्रेस कार्यकर्ता प्रभात ओझाले संघीयता कार्यान्वयनमा कसले के गर्यो भन्नु भन्दा पहिले कांग्रेसले आफ्नो विचार स्पष्ट गर्नुपर्ने बताए । उनले कसरी संघीयता ल्याइयो, यसको मर्म के ? कसरी कार्यान्वयन हुनुपर्छलगायतका विषय समेटिएको पाठ्यक्रम बनाएर जनतामा जानुपर्ने वताएका छन् । नत्र सरकारले कार्यान्वयन गरेन भनेर विरोध गर्नुको अर्थ नहुने बताएका छन् ।
कार्यकर्ताको आक्रोशलाई सम्वोधन गर्दै महामन्त्री पूर्णबहादुर खड्काले संघीयताअनुसारको संगठन संरचना बनाउन ढिलाई भएपछि संघीय संरचना अनुसारको पार्टीको विधान बनाउने पहिलो पार्टी कांग्रेस नै भएको दावी गरे ।
जागरण अभियानको पहिलो चरण सकिएपछि पार्टी विधान अनुसार अन्तरिम संरचना निर्माण गर्न बारे छलफल भइरहेको उनले बताए ।
११ प्रदेशको अवधारणाका सन्दर्भमा बाहिर आवाज उठेको तर, कांग्रेस अहिले सात प्रदेशलाई घटवढ गर्ने पक्षमा नरहेको महामन्त्री खड्काले स्पष्ट गरेका छन् ।
यसैवीच नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले नै पार्टी विधि र विधानअनुसार चल्न नसकेको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने चेतावनी दिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताए । जागरण अभियानले कांग्रेसलाई जनतासम्म लैजान मद्दत पुगेपनि नेतृत्वले नियत नसुधारेसम्म पार्टी सशक्त हुन नसक्ने बताए ।
अर्का केन्द्रीय सदस्य कमला पन्तले भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अधिवेशन तोकिएको समयमा हुन नसक्दा पार्टी कमजोर हुँदै गएको वताउँदै स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको संरचनालाई पूर्णता दिए मात्र पार्टी बलियो हुने बताइन् ।
त्यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र वृहद एकता आवश्यक रहेको बताए ।
पार्टीका लमजुङ सभापति भेषबहादुर पौडेलले गाउँगाउँमा रहेका विद्यार्थी, महिला, किसानको भावनालाई समावेश गरेर अगाडि बढेमात्र कांग्रेसको सङ्गठन बलियो हुने बताए ।
नेता विष्णुप्रसाद धितालले नेता र कार्यकर्ता एकताबद्ध भएर अगाडि बढेमात्र कांग्रेसको सङ्गठन बलियो हुने बताए । त्यस्तै सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, नेपाल विद्यार्थी सङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष सुमन बसौलालगायतले कांग्रेसलाई बलियो बनाउन युवामुखी कार्यक्रम अगाडि बढाउनुपर्ने बताएका छन् ।