जिल्ला इन्चार्ज र पोलिटव्यूरो गठनमा नेकपाभित्र किचलो
काठमाडौं । सत्तारुढ दलभित्र प्रमुख नेताहरुबीच कचिंगल बढेका कारण नेकपाका केन्द्रीय नेताहरुको कार्यविभाजन, जिल्ला इन्चार्ज र पोलिटव्यूरो गठन हुन सकेको छैन । नेताहरुको स्वार्थ वाझिएकै कारण कार्यविभाजन प्रक्रिया डेढ साताका लागि पछि धकेलिएको छ । एकताको एक वर्ष पुगेपनि कार्यविभाजन नहुँदा कैयन नेता निरास बन्न थालेका छन् ।
केपी ओली र पुष्पकमल दाहाल गुटका व्यक्तिहरुलाई मात्र समावेश गरेर अरुलाई किनाराका साक्षी बनाउन खोजिएको वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरुको अरोप छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली को युरोप भ्रमणपछि मात्र सचिवालयको वैठक बस्ने र कार्यविभाजन टुंगो लगाउने नेकपाका नेता झलनाथ खनालले बताएका छन् ।
कार्यविभाजनको प्रस्तावबारे पक्ष र विपक्षमा नेताहरु बाँडिएका छन् । आफ्नो खल्तीका नेताहरुलाई जिम्मेवारी दिएर ओली–दाहालले गल्ती गरेको भन्दै वामदेव गौतम जस्ता नेताहरुले आरोप लगाएका छन् ।
सांसद र केन्द्रीय सदस्य भइसकेका व्यक्तिलाई जिल्ला इन्चार्ज बनाउने कि नबनाउने भन्ने विवाद देखिएको छ । यसले गर्दा नेताहरुबीच ध्रुविकरण बढिरहेको छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको विवाद मिलाउन भन्दै पुष्पकमल दाहालले मध्यमार्गी बाटो भन्दै प्रस्ताव ल्याएका थिए । तर ओली र नेपालको विवादको फाइदा उठाउन दाहालले खोजेको एक नेताले बताएका छन् ।
सचिवालय वैठकमा केही नेताले केन्द्रीय स्तरका नेतालाई जिल्लाको इन्चार्ज र सहइन्चार्ज बनाउन हुने तर्क गरेका छन् । तर आवश्यक परे उनीहरुलाई जिल्लामा नेतृत्व गर्न बन्देज लगाउन नहुने पुष्पकमल दाहालको तर्क छ ।
महानगरपालिका भएका जिल्लाहरुमा स्थायी समिति सदस्यलाई इन्चार्ज बनाउनु पर्ने प्रस्ताव पनि अघि सारिएको छ । छलफलमा विभिन्न विषय उठेपनि नीति र मापदण्डका बारेमा अझै धेरै कुरा मिल्न बाँकी देखिन्छ । दोहोरो जिम्मेवारी दिनुभन्दा जिम्मेवारी नै नपाएका नेताहरुलाई काम गर्न दिनुपर्ने केहीको तर्क छ भने कतिपय सुझावलाई उपेक्षा गरेर पार्टी अध्यक्ष तथा प्रम केपी ओलीले आफ्नै विचार लाद्न खोजेको आरोप समेत लागेको छ ।
ओलीले दाहालको समेत सहमतिमा बनाएको मापदण्ड माधव नेपालले अस्वीकार गरेपछि सचिवालय वैठकले कुनै ठोस निर्णय गर्न नसकेको बताइएको छ । नेताहरुले योग्यता, क्षमता र योगदान भएका नेताहरु जिम्मेवार दिने भन्दा पनि आफू अनुकुलका व्यक्तिलाई जिल्लाको इन्चार्ज बनाउन खोजेको एक नेताले बताएका छन् ।
विशेष गरेर संगठन विभागको संयोजकमा नेताहरुबीच रस्साकस्सी देखिएको छ । पार्टीको संगठन परिचालन र सवै रेकर्डसमेत राख्ने यो विभागको प्रमुख बन्न ईश्वर पोखरेल, वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेलको दावेदारी छ । विगतदेखि नै माओवादीप्रति नरम देखिदै आएका नेता गौतम प्रचण्डसँग नजिक छन् भने पूर्वमाओवादी नेता थापा ओलीसँग नजिक बनेका छन् ।
यसैवीच सत्तारुढ नेकपामा अध्यक्ष ओली र दाहालबीच सत्ताको नेतृत्वलाई लिएर पनि मनमुटाव शुरु भएको छ । १५ महिनापछि आफू प्रधानमन्त्री हुने अभिव्यक्ति सार्वजनिक गरेर विवादमा आएका पुष्पकमल दाहालले ओलीलाई चुनौती दिएको भन्दै एमाले पृष्ठभूमिका कतिपय नेताहरु ओलीको वचाउमा लागेका छन् भने दाहाल पक्षका नेताहरुले सहमति कार्यान्वनय हुनुपर्ने तर्क गरेका छन् ।
रक्षामन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको अध्यक्ष र प्रधानमन्त्री एउटै हुनुपर्ने तर्क गरेर दाहाललाई चुनौती दिएका छन् । उनले नीति र नेतृत्व एउटै व्यक्तिले हाँक्नुपर्ने तर्क गरको छन् । सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्री पद बाँडचुड गर्न नसकिने बताएका छन् ।