वर्षाको पहिरनमा आलोचनाको वर्षा

काठमाडौं । नायिकाको पहिरनलाई लिएर कलिउड (नेपाल) मा मात्र होइन हलिउड, बलिउडमा समेत चर्चापरिचर्चा हुने गरेको छ । नायिकाहरुले छोटा, वक्षस्थल देखिने वा पारदर्शी लुगा लगाएको खण्डमा हट नायिकाको संज्ञा पाइने र हिट भइने ठान्छन् । उनीहरु अभिनयमा भन्दा अंगप्रदर्शनमा रमाउँछन् ।
अझ कतिपय नायिकाहरुले त चलचित्र प्रदर्शनको छेको पारेर विभिन्न फण्डा गर्ने गरेका छन् । चलचित्र निर्माताहरुले पनि नायिकाहरुलाई विवादमा ल्याएर चलचित्रको राम्रो प्रचार गर्ने अवसरका रुपमा लिने गरेका छन् । कहिले नायक–नायिकको प्रेम सम्वन्ध रहेको खुराक मिडियालाई ल्याइन्छ त कहिले अश्लिलतालाई पस्किने गरिन्छ ।
पछिल्लो समय नायिका वर्षा राउतमाथि आलोचनाको वर्षा नै भएको छ । नायिका राउतद्वारा अभिनित चलचित्र ‘जात्रै जात्रा’ ले नेपाली बक्स अफिसमा आक्रमक व्यापार गरेको छ ।
गत शुक्रबार सिड्नीमा आयोजित फिल्म ‘जात्रै जात्रा’ को प्रिमियरमा नायिका वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, निर्देशक प्रदिप भट्टराई उपस्थित थिए । सो कार्यक्रममा वर्षा राउतले लगाएको पहिरनले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत राम्रै चर्चा पाएको छ । छातीको आधा भाग देखिने कालो र सेतो रंगको लामो खुलेको गाउन लगाएकी थिइन् । सोही पहिरनका कारण उनी सामाजिक सञ्जालमा ‘ट्रोल’को शिकारसमेत भएकी छिन् । चलचित्र जात्रैजात्राको पनि राम्रो प्रचार भएको छ ।
वर्षाले आफ्नो ड्रेस डिजाइनरलाई क्रेडिट दिँदै उक्त तस्विर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । आफ्नो पहिरनलाई लिएर आलोचना र ट्रोलहरु बनिरहदा पनि वर्षाले भने कुनै प्रतिक्रिया दिएकी छैनन् । तर उनका पति नायक संजोग कोइरालाले भने प्रतिक्रिया दिएका छन् । गत वर्ष मात्र वर्षा र संजोगको विवाह भएको थियो ।
वर्षसँगै सिड्नी पुगेका संजोगले वर्षाको पहिरनमाथि उठेका आलोचनाप्रति प्रतिक्रिया दिँदै सोमबार आफ्नो आधिकारिक फेसबुकमार्फत लेखेका छन् ‘म तिमीलाई सधैं प्रोत्साहन गर्छु, सम्मान गर्छु, तिम्रो हरेक लडाइमा तिम्रो साथमै उभिनेछु । तिम्रो संघर्ष र कठिनाईको समयमा पनि म तिमीलाई नै माया गरिरहनेछु । म तिमीलाई जस्तो समय र परिस्थितिमा पनि आनन्दित तुल्याउने प्रयत्न गर्नेछु ।’