वैरो व्यवसायीको तीन महिने अल्टिमेटम

काठमाडौं । सरकारले धरौटी राखिएको आफ्ना पैसाको ब्याज नदिएको, मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरु ‘मर्ज’ गर्दा सुविधा दिनुपर्ने, ‘फ्री भिसा, फ्री टिकट’ लगायतका निर्णयमा पुनर्विचार गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायीको माग छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सम्बोधन गराउन सरकारलाई दबाब दिँदै जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको थियो ।
आफ्ना माग बेवास्ता गरेपछि सरकारविरुद्ध आन्दोलनमा उत्रनु परेको जनाउँदै संघले ३ महिनाभित्र आफूहरुको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।
संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिनाभित्र पनि सम्बोधन नगरे आफ्नो पेसा, व्यवसाय नै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आउने बताएका छन् ।
अध्यक्ष गुरुङले वार्षिक ५ लाखभन्दा बढी युवाहरुलाई वैदेशिक रोजगारीको व्यवस्था गरेपनि सरकारले आफूहरुको कामको सम्मान गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।
सरकारी तथ्यांकअनुसार नेपालमा हाल ४३ लाख नेपाली नागरिकहरु वैदेशिक रोजगारमा गएका छन् । उनीहरुले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ ।