बुद्धबारे चिनियाँ भ्रमको प्रतिवाद गरे राजदूत पौडेलले
काठमाडौं । भगवान बुद्ध आफ्नो मुलुकमा जन्मिएको भन्दै भारतीयहरुले फैल्याएको भ्रमको प्रभाव अन्य मुलुकमा समेत परेको देखिन्छ । चीनमा समेत बुद्धको जन्मभूमी भारतमा भएको भन्ने भ्रामक धारणा निकै रहेको छ । हाल मात्रै एउटा अन्तर्राष्ट्रिय समारोहमा त्यहाँका एक उच्च तहका चीनीयाँ बुद्धिजिवीले नै त्यस प्रकारको विचार प्रकट गरेका थिए । सोही समारोहमा सहभागी चीनका लागि नेपालका राजदूत लिलामणि पौडेलले बुद्धको जन्मभूमि नेपाल भएको स्पष्ट गर्दै चिनियाँको गलत भनाइलाई नसच्चाएमा आफूले त्यो समारोहको बहिष्कार गर्ने चेतावनी दिएको बुझिएको छ । राजदूत पौडेलको चेतावनीपछि त्यो भनाइलाई सच्याइएको थियो ।
राजदूत पौडेलले देखाएको त्यस प्रकारको राष्ट्रिय भावना, स्वाभिमान र तत्काल प्रतिवाद गर्ने साहस र क्षमताबाट अन्य देशका नेपाली राजदूतहरूले शिक्षा लिनु पर्ने नेकपा मसालले विज्ञप्तिमार्फत जनाएको छ ।
सरकारले राजदूत नियुक्त गर्दा पौडेल जस्तै तत्काल प्रतिवाद गर्नसक्ने, योग्यता, क्षमता भएको राष्ट्रियताप्रति प्रखर व्यक्तिलाई चयन गर्नुपर्छ । तर यहाँ योग्यता, क्षमतालाई भन्दा पनि आफन्त र पार्टीको मान्छे खोजिने गरेको छ ।
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको मापदण्ड बनाएपनि त्यो लागू भएको पाइदैन । सरकारले हालै मात्र चार देशका लागि राजदूत सिफारिस गरेको छ । सरकारले डा. वंशिधर मिश्र– बंगलादेश, डा. नारदनाथ भारद्वाज– कतार, महेशराज दाहाल– अष्ट्रेलिया र दावा फुटी शेर्पा– स्पेनका लागि सिफारिस गर्ने निर्णय गरेको छ । तर ती मध्ये केही व्यक्तिको बारेमा विवाद उत्पन्न भएको छ । कूटनीतिज्ञ हुन आवश्यक पर्ने न्यूनतम योग्यता, क्षमता, दक्षता र जानकारी समेत नभएका व्यक्तिलाई राजदूत पदमा सिफारिस गरिएको भन्दै परराष्ट्र मन्त्रालयका अधिकारीहरुले नै असन्तुष्टि जनाएका छन् ।
वंगलादेशका लागि सिफारिस भएका डा. वंशिधर मिश्र नेकपाका नेता हुन् । उनको योग्यता, क्षमतामा प्रश्न नउठाएपनि राजनीतिक व्यक्तित्वलाई चयन गर्नु गलत भएको कूटनीतिज्ञहरुको तर्क छ ।
त्यस्तै अष्ट्रेलियाका लागि राजदूत पदमा सिफारिस गरिएका महेशराज दाहाल विवादमा परेका छन् । उनकी पत्नी अमेरिकामा श्रम इजाजतपत्र लिएर काम गरिरहेको खुलासा भएको छ भने कतिपयले उनले ग्रिनकार्ड लिएको समेत उल्लेख गरेका छन् । माओवादीको कोटामा नेपाल टेलिभिजनमा अध्यक्ष भएका उनले त्यहाँ प्रभावशाली काम गर्न नसकेको भन्दै आलोचना समेत भएको थियो । दाहालले आफू जेसिसको सदस्य भएका नाताले राजदूत पदका लागि योग्य भएको दावी गरेका छन् ।
यस्तै ३४ वर्षीय दावा फुटि शेर्पालाई सरकारले राजदूत पदमा नियुक्त गर्ने निर्णय गरेपछि उनी समेत विवादमा परेकी छिन् । २३ गते बसेको क्याविनेट वैठकले उनलाई स्पेनका लागि सिफारिस गरेको थियो ।
अमेरिकामा अध्ययन सकेर भर्खर नेपाल आएकी शेर्पा यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाकी दाइकी छोरी हुन् । दावा फुटिकी आमा पासाङ ल्हामु सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला मानिन्छिन् । आमाको प्रसिद्धिका कारण छोरीलाई राजदूत बनाउनु कूटनीतिक ठ्टटा भएको परराष्ट्र मन्त्रालयका कतिपय कर्मचारीले बताएका छन् ।
यस्तै सरकारले नारायण भारद्वाजलाई कतारका लागि राजदूत पदमा सिफारिस गरेको छ । उनी झापा विद्रोहका बेला केपी ओलीसँगै काम गरेका र जेल समेत परेका व्यक्ति हुन् । केही समय उनले पत्रकारिता समेत गरेका थिए ।
राजदूत पदमा सिफारिस गर्दा व्यक्तिगत पहिचान र दलीय भागवण्डा जस्ता आधार बनाइएको भन्दै परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी समेत असन्तुष्ट देखिएका छन् । परराष्ट्र मन्त्रालयले सिफारिस गर्नुपर्नेमा परराष्ट्रमन्त्री र सचिवलाई समेत त्यसबारे जानकारी नभएको बुझिएको छ ।