‘वाइडबडी खरिदमा साढे चार अर्ब भ्रष्टाचार !’
नेपाल एयरलाइन्ससँग मन्त्रालयले माग्यो स्पष्टीकरण
काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी बिमान खरिदमा साढे चार अर्ब बढी अपचलन गरी भ्रष्टाचार गरेको नागरिक आयोगले निष्कर्ष निकालेको छ । नेपालका लागि नेपालीद्वारा गठित वाइडबडी अनुसन्धान सम्बन्धि नागरिक आयोगले दोषीलाई उम्काउन सेटिङमै चलखेल भएको भन्दै कारबाहीको दायरामा ल्याउन व्यापक जनदबाब सृजना गर्न जरुरी भएको औल्याएको छ ।
पूर्वकार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई क्षेत्री, पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक डा. ठाकुरमोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र सामाजिक अभियन्ता रोशा श्रेष्ठ सदस्यसचिव रहेको चार सदस्यीय नागरिक आयोगले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले करिव साढे चार अर्ब अनियमितता भएको निष्कर्ष निकालेको हो ।
१० बुँदे प्रतिवेदनमा ‘संसदबाटै छानबिन गरी आफ्नो संवैधानिक र कानुनी कर्तव्य पूरा गर्न नसक्ने पदाधिकारीहरुलाई संवैधानिक र कानूनी कारबाहीको दायरामा ल्याइनु पर्ने, चार अर्ब ३५ करोड ५६ लाखभन्दा बढी अनियमितता भएको, सार्वजनिक खरिद ऐनका प्रक्रियाहरु अबलम्बन नगरेको जनाइएको छ ।
जहाज खरिद प्रक्रियामा अविश्सनीय कम्पनीहरु रोजिएको, नेपाल राष्ट्र बैंकबाट प्रतितपत्र नखोली रकम निकाशा गरिएको, कमसल सामाग्री जडान गरिएको, खरिद गरिएका बिमानहरु हरेक उडानमा बिश्राम र पुनः उडानको संचालनमा अतिरिक्त भारको कारण आर्थिक रुपमा फाइदाजनक नभएको प्रतिवेदनमा उल्लेख छ ।
पूर्वकार्यवाहक महालेखा परीक्षक भट्टराईले आयोगको प्रतिवेदनले जहाज खरिद प्रकरणमा चरम भ्रष्टाचार भएको विषयलाई खुलस्त पारेको दावी गर्दै गहिरो अध्ययनसहित कारबाही गर्न सकिने विषय समेत भएको बताएका छन् ।
आयोगका सदस्य डा. ठाकुरमोहन श्रेष्ठले कारबाही गर्नुपर्नेमा उल्टै संरक्षण गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने माग राखे । राज्यको ढुकुटी रित्याउने गरी भएको भ्रष्टाचारमा संलग्नलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने उनले जनाए । भने,‘यो हदसम्मको भ्रष्टाचार छोप्न खोजे व्यापक जनदबाब सृजना गर्नुको विकल्प छैन ।’
आयोगकी सदस्यसचिव रोशा श्रेष्ठले नागरिकस्तरमा पहिलो पटक निष्कर्ष निकालेको भन्दै कारबाही गर्ने निकायमा दबाब सृजना गर्नुपर्ने बताइन् ।
नेपाली सेनाका पूर्वसहायकरथी प्रेमसिंह बस्न्यातले भ्रष्टाचारीलाई कारबाही नगरे देश बर्बाद हुने बताएका छन् । अन्तर्राष्ट्रिय माफियाको इशारामा चल्नेहरु देशको शासनमा रहेको आरोप लगाउँदै उनले अब देश बेच्न मात्र बाँकी राखेको गम्भीर आरोप लगाएका छन् ।
यसैवीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमसँग स्पष्टिकरण मागेको छ । मन्त्रालयले वाईडवडीमा भएको भ्रष्टाचारबारे निगमसँग स्पष्टिकरण मागेको भने होइन । जापान उडान रद्ददेखि भएका जहाज किन संचालनमा नल्याएको भन्दै स्पष्टीकरण मागेको हो । मन्त्रालयले विहीबार निगमलाई पत्र पठाउँदै जापान उडान उद्द गर्नुपर्ने कारण माग गरेको हो ।
आन्तरिक उडानमा निगमले देखाएको ढिलासुस्ती र कर्मचारी व्यवस्थापनको अस्तब्यस्त अवस्थाका सम्बन्धमा पनि जवाफ मागेको छ । मन्त्रालय स्रोतका अनुसार जापान उडान रद्द भएको बारे निगमले मन्त्रालयलाई औपचारिक जानकारी गराएको थिएन ।
यस्तै मन्त्रालयले निगमसँग अब नयाँ गन्तब्य कहिले थप हुन्छ, आन्तरिक उडान कसरी व्यवस्थापन हुँदैछ भन्दै आगामी योजनाका सम्बन्धमा पनि कार्ययोजना पठाउन निर्देशन दिएको छ ।
पाइलट र कर्मचारीको सही व्यवस्थापन कसरी हुँदैछ भन्ने सम्बन्धमा पनि कार्ययोजनाको खाका बनाएर पेश गर्न मन्त्रालयले निगम व्यवस्थापनलाई निर्देशन दिएको छ ।
अहिले निगमको कार्यकारी अध्यक्ष रहेका मदन खरेल महाप्रबन्धक रहेकै समयमा खरिद गरेका ६ वटा चिनियाँ जहाज ग्राउण्डेड गरेर राखिएको छ ।
उता, लामो दूरी उडाउने लक्ष्यसहित किनिएका दुई वाइडबडी जहाज ए३३०–२०० जहाज नयाँ गन्तब्य नपाउँदा क्षमता अनुसार उड्न सकिरहेका छैनन् । अर्कोतर्फ निगम हरेक दिन लाखौं घाटामा संचालन भइरहेको छ ।