संघीय संरचना बनाउँदै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका समितिहरु संघीय संरचना अनुसार बनाउने भएको छ । जागरण अभियानको दोस्रो चरण शुरु हुनुभन्दा पहिले संशोधित विधान अनुसार सम्पूर्ण संरचना बनाउने बताइएको छ । असार तेस्रो साता बस्ने भनिएको केन्द्रीय समिति वैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउन गृहकार्य गर्ने बताइएको छ ।
नेपाली कांग्रेसका विभिन्न तहका कार्यकर्ताहरुले केन्द्रका नेताहरुलाई आफू जागृत हुन र गुटबन्दी त्यागेर विभाजित नहुन पनि सुझाव दिएका थिए । हिमाल, पहाड र तराई क्षेत्रमा कांग्रेसले जागरण अभियान चलाउँदा विभिन्न तहको सुझाव संकलन समेत गरेकाले त्यसका केही अंश समेटेर संशोधित विधानमा राख्न सकिने नेताहरुले बताएका छन् । पार्टीको विधानमा टोल, गाउँ, नगर, वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश, क्षेत्रीय, प्रतिनिसभा क्षेत्रीय समिति र प्रदेश कार्यसमिति राख्ने व्यवस्था गरिएको छ ।
मेचीदेखि महाकालीसम्म लाखौ कार्यकर्ता सक्रिय भएपनि पार्टीमा गुटबन्दी, मतमतान्तर र नेतृत्वको कलह हुँदा पुरानो पार्टी भएपनि नेपाली कांग्रेसले गति लिन सकेको छैन । झन्झन् खस्किदै गएको छ । भ्रातृ संगठनहरु निस्क्रिय जस्तै छन् भने कार्यकर्तामा व्यापक निरासा देखिन्छ ।
विभिन्न जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिले असार १४ अघि नै पार्टीलाई लिखित प्रतिवेदन बुझाउने र सोही अनुसार रणनीति बनाएर आउँदा दिनहरुमा पार्टीले राजनीतिक भविष्य सुरक्षित राख्ने नीति तथा कार्यक्रम बनाउने अपेक्षा गरिएको केही नेताले बताएका छन् ।
राष्ट्रियता र प्रजातन्त्रलाई केन्द्रविन्दुमा राखेर नेपाली कांग्रेसले काम गर्नुपर्छ भन्ने पार्टीको शुभेच्छुकहरुको सुझाव छ । तर वाह्य शक्तिको दवाव, व्यक्तिगत प्रलोभन र सत्ताको लोभमा पार्टी फस्दै गएकाले विगतमा तीन तहको चुनाव नेपाली कांग्रेसका निम्ति फलामको चिउरा सावित भएको थियो । त्यसबाट पार्टीले केही शिक्षा लिन सक्ने अपेक्षा गरिएको छ । जागरण अभियानमा ३१ हजार ६ सय जना कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।