अस्वाभाविक स्तनले पीडा

थाइल्यान्डको फितसानुलोक प्रान्तमा बस्ने लाम फ्राईका दुवै स्तन अस्वाभाविक रूपमा बढेपछि पीडा भोग्नु परिरहेको बताइएको छ । चिकित्सकहरूले उनको रोग पहिचान गर्न नसकेपछि उनी थप पीडित बन्न पुगेकी छिन् । शुरूका चारदेखि पाँच महिनामा देब्रे स्तन बढेको र त्यसपछि दाहिने स्तन पनि बढ्न थालेको उनले बताएकी छिन् ।
उनको स्तनमा क्यान्सरजन्य ट्युमरहरू नभएको फुतथाचिनारत अस्पतालका चिकित्सकहरूले बताएका छन् । उनको पूर्ण स्वास्थ्य परीक्षण साउन ३ गते मात्र हुनेछ तर उनी र उनका पति बेरोजगार भएकाले खर्च गर्न सक्ने स्थितिमा नभएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । फ्राईले मानिसहरूलाई आर्थिक सहायता उपलब्ध गराउन अपील गरेको समाचारमा जनाइएको छ ।
तीन वर्षअघि उनले आफ्ना स्तनहरू बढ्न थालेको थाहा पाइन् तर विगत नौ महिनामा स्तन अस्वाभाविक रूपमा बढ्न थालेपछि ४६ वर्षीया ती महिलाले वैशाखी टेकेर मात्र हिँड्न सक्छिन् र विशाल स्तनका कारण उनको मेरुदण्डमा असर परेको समाचारमा जनाइएको छ । स्तन अस्वाभाविक रूपमा बढ्दा उनको निप्पलमा पीडा भएको बताइएको छ ।