कांग्रेसभित्र तीव्र असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसमा गुटबन्दी बढिरहेका बेला सभापति शेरबहादुर देउवाले महाधिवेशन छलेर आफ्नो कार्यकाल लम्व्याउन खोजेको आरोप लागिरहेको छ । संविधानमा पार्टीको महाधिवेशन हरेक पाँचवर्षभित्र हुनुपर्ने व्यवस्था छ भने कांग्रेसको विधानमा चारवर्ष भित्रमा महाधिवेशन गर्नुपर्ने उल्लेख छ । देउवाले संविधानको प्रावधान देखाएर कार्यकाल लम्व्याउन खोजेको उनका आलोचकहरुले आरोप लगाएका छन् ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा टुंगो नलागेपनि महाधिवेशन पछि आफू अध्यक्ष बन्न रामचन्द्र पौडेल, सशांक कोइराला, शेखर कोइरालालगायतले कसरत गर्न थालेका छन् ।
शेरबहादुर देउवाको चार वर्षे कार्यकाल फागुन मसान्तबाट समाप्त हुँदैछ । उनको पदावधि नौ महिना मात्र बाँकी रहेको अवस्थामा विभिन्न जिल्लाका नेता, कार्यकर्तालाई आफ्नो प्रभावमा पारेर दुनो सोझ्याउन देउवा विरोधीहरु सक्रिय बनेका छन् ।
उता महाधिवेशन साढे पाँच वर्षमा हुन्छ भन्दै देउवाले त्यसपछि पनि आफू अध्यक्ष हुन सक्ने संकेत गरिसकेका छन् । समयमै महाधिवेशन गराउनुपर्ने व्यापक दवाव हुँदाहुँदै पनि पाँच सात महिना तलमाथि हुन सक्ने देउवाको संकेत छ ।
नेपाली कांग्रेसको विधानको दफा ४३ मा ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने छ’ भनिएको छ ।
यसैबीच पार्टीले विधान पारित भएको पाँच महिनापछि संघीय संरचनाअनुसार पार्टीको पुनर्गठन गर्ने गृहकार्य गरेको छ । जेठ ३० गते जागरणको प्रथम चरण र आगामी कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दोस्रो चरणको जागरण अभियान अगावै विधानले व्यवस्था गरेअनुसार पार्टी संरचना बनिसक्ने बताएका छन् ।
गत मंसिर–पुसमा भएको महासमिति बैठकबाट पारित भई फागुन १२ गते केन्द्रीय समितिबाट अनुमोदित पार्टी विधानले टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचनाको व्यवस्था गरेको छ ।
आगामी भदौ २४ गते (बीपी जयन्ती)बाट सुरु हुने पूर्व घोषित दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अघि नै संघीय व्यवस्थाको नयाँ ढाँचाअनुसार पार्टीको संगठनात्मक संरचना बनाउने तयारी गरिएपनि त्यो विवादरहित हुने सम्भावना देखिदैन । बुथ, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश कार्यसमिति गठन गर्दै पार्टीलाई तल्लो तहसम्म बलियो बनाउने रणनीति तय गरिएको छ । तर तल्लो तहसम्म आफ्नो गुटका मानिस परुन् भनेर कतिपय नेताले प्रयास गरिरहेको हुँदा गुटबन्दीको दुष्प्रभाव त्यहाँसम्म फैलिने लक्षण देखिन थालेको छ ।
महाधिवेशन हुन नसकेर नेतृत्वविहीन अवस्थामा रहेका नेपाल विद्यार्थी संघ लगायतका १० वटा भ्रातृ संस्थाबारे आवश्यक निर्णय यथाशीघ्र लिइने भनिएको छ भने त्यसका लागि असार २२ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकले जागरण अभियानको दोस्रो चरण पूर्व नै नेपालको संविधान र नेपाली काँग्रेसको संशोधित विधान बमोजिमको सम्पूर्ण संरचनाहरु कसरी निर्माण गर्नेछ भन्ने निर्णय गर्ने बताइएको छ ।
यता पार्टी विधानको दफा ३५ को २ (घ) मा ‘काँग्रेसको केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुने वर्षभन्दा कम्तीमा १ वर्ष अगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमिति गठन गरिनेछ’ भन्ने उल्लेख छ । विधानअनुसार केन्द्रीय महाधिवेशन ९ महिनापछि गर्नुपर्ने हुन्छ भने स्थानीय संरचनाका अधिवेशन तीन महिनाअगावै सक्नुपर्ने थियो । यसको बचाउ गर्दै देउवा निकट नेताहरुले पार्टी तदर्थवादले नचलेको र कुनै न कुनै रुपमा सबै अंगलाई क्रियाशिल राखिएको बताएका छन् ।
केन्द्रीय समितिको बैठकले कैयन् जल्दावल्दा विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । तर वैठक एकदुई दिनमै समाप्त हुने अवस्था देखिदैन । ७७ जिल्ला र विदेशमा समेत ६ हजार जति समिति बनाउनुपर्ने भएकाले गृहकार्यमा लामो समय लाग्ने अवस्था देखिन्छ । त्यतिबेलासम्म गुटबन्दीले अर्को रुप लिन सक्ने संकेत समेत देखिएको नेताहरुले उल्लेख गरेका छन् ।
तीन तहको चुनावमा नराम्रोसँग पराजित भएपनि अरुलाई उपदेश दिँदै हिडेका नेताहरु आफू सच्चिन तयार देखिदैनन् । अहिले कांग्रेसमा देखिएको सबैभन्दा ठूलो समस्या पनि त्यही हो । यसले कांग्रेसको भावी राजनीतिलाई परिष्कृत बनाउँदै जान्छ भन्ने ठूलो आशा गर्ने ठाउँ नदेखिएको कार्यकर्ताको गुनासो छ ।