चौधरीलाई किन साङ्लो बाँधियो र खोलियो ?

काठमाडौं । वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा बाँधिएको फलामको नेल खोलिएको छ । नेल तत्काल खोल्न र नेल लगाउनेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल खोल्न र लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।
जेल प्रशासनले चौधरीलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको बताएको थियो । टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा जन्मकैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरी लामो समयदेखि हाडजोर्नी सम्बन्धी समस्या झेलिरहेका छन् । चौधरी १५ दिनदेखि वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका थिए । तर पछिल्लो समय शरीर नै कुप्रो परेपछि उनलाई बिहीबार वीरको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।
चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ भने समाजवादी पार्टी र राजपाका नेताहरुले पनि आपत्ति जनाएका थिए ।
समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटेका थिए । उनले सरकारको व्यवहारको आलोचना गर्दै नेल तत्काल खोल्न माग गरेका थिए ।