प्रतिपक्षीको भूमिका औपचारिकतामा सीमित

काठमाडौं । प्रमुख प्रतिपक्षी दलले सतही कुराहरुलाई छलफल, वहस वा राजनीतिक मुद्दा बनाएर केही दिन उचाल्ने र त्यसपछि मौन बस्ने गर्दा सर्वसाधारणबाट ठूलो समर्थन पाउन सकिरहेको देखिदैन । गम्भीर विषयलाई उठाउने क्षमता नभएका कारण हो वा नचाहेर हो, कांग्रेसका नेताहरुले सञ्चारमाध्यमका केही शीर्षक पढेर संसदमा बोल्ने गरेका छन् ।
सुन काण्ड, निर्मला हत्या प्रकरण, मेडिकल विधेयक सम्वन्धी वहस र पछिल्ला दिनहरुमा गुठी र मिडिया काउन्सिल सम्वन्धी विधेयकमा कांग्रेसले मौसमी राग अलापे पनि उसको दीर्घकालीन रणनीति के हो र पार्टीले आउँदा दिनमा केके गर्छ भन्ने जस्ता गम्भीर विषय जनताले बुझ्न सकेका छैनन् ।
२०६२÷६३ पछि ठूला दलका एजेन्डाहरु कमजोर हुँदै गएको राजनीतिशास्त्रीहरुको तर्क छ । राजतन्त्रको अन्त्यपछि खुद्रा विषयमा अल्मलिइरहेका ठूला दलहरु र त्यसमा पनि नेपाली कांग्रेस एजेन्डाविहीन भएको विश्लेषकहरुको टिप्पणी छ । आफूले संसदमा पहिले बोल्न नपाएपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीले आफ्नो अवमूल्यन गरेको आरोप लगाएका छन् ।
त्यसो त ओलीको कार्यशैलीबारे उनकै पार्टीभित्र चर्को विरोध र आलोचना भइरहेको छ । देउवाले भनेझै हेप्ने र उडन्ते कुरा गरेर विपक्षी दलहरुलाई होच्याउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा प्रशस्त देखिन्छ । तर नेपाली कांग्रेस नै गैरजिम्मेवार ढंगले प्रस्तुत हुने एवं जनताले भोग्नु परेका जल्दावल्दा समस्याप्रति प्रखर रुपमा प्रस्तुत नरहेको पनि सत्य हो ।
मुलुकको शाख गिराउने शैलीमा प्रधानमन्त्रीले विदेश भ्रमण गरेको देउवाले आरोप लगाएका छन् । २०४८ सालदेखि संसदमा निरन्तर प्रतिनिधित्व गरिरहेका देउवाले गणतन्त्रकालमा भन्दा २०४७ को संविधान सक्रिय रहँदा संसद मर्यादित देखिएको कुरा घुमाउरो शैलीमा समर्थन गरेका छन् ।
संसदीय प्रक्रियामा प्रवेश गरेपछि कुनै पनि विधेयकलाई असंसदीय ढंगले फिर्ता वा स्थगित गर्न नमिल्ने उनको तर्क छ । मंगलबारको वैठकमा प्रधानमन्त्री र देउवा मध्ये को पहिला बोल्ने भन्ने विषयलाई लिएर सरकार र विपक्षी दलबीच दोहोरी चलेको थियो । सोही कारण संसदको महत्वपूर्ण समय खेर गएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैको आलोचना भएको छ ।
होहल्लाका कारण संसद चल्न नसक्दा सभामुखले सहजकर्ताको भूमिका खेलेर तत्काल वैठक सुचारु गर्नुपर्नेमा पटकपटक सूचना टाँसेर स्थगित गर्ने गरेका छन् । त्यसकारण संसदमा हरेक दिन लाखौ रुपैयाँ तलवभत्ता, उपकरण वा विभिन्न शीर्षकमा खर्च भएपनि त्यसले त्यति ठूलो फाइदा गरेको देखिदैन ।