३३० किलोका व्यक्तिलाई निकाल्न घरको भित्ता फोरियो
पाकिस्तानमा ३ सय ३० किलोको शरीर भएका एकजना व्यक्तिलाई घरबाट निकालेर अस्पताल पु¥याउन निकै सकस व्यहोर्नु परेको छ । उनको भिमकाय शरिर घरको ढोकाबाट निकाल्न सम्भव नभएपछि घरको भित्ता फोर्नु परेको छ ।
पञ्जाब प्रान्तस्थित सादिकावादमा बस्ने ५५ वर्षीय नुरुल हसन नामका व्यक्ति अत्यधिक मोटोपनाबाट पीडित छन् । घरभित्रै बस्दै आएका उनले उपचारका लागि अस्पताल भर्ना हुनुपरेपछि पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवासँग आफ्नो उद्दार गरी उपचार गर्नका लागि सोसल मिडियामार्फत अनुरोध गरेका थिए । उनको सोही अनुरोध सुनुवाई गर्दै सेना प्रमुखले उनको उपचारको बन्दोबस्त मिलाएका हुन् ।
जिउको वजन निकै धेरै भएका कारण उनी हिँडडुल गर्न सक्दैनन् । नुरुल हसनको अस्पतालमा ल्याप्रोस्कोपिक सर्जरी गरिनेछ । मिडिया रिपोर्टअनुसार नुरुल हसन पाकिस्तानका सबैभन्दा बढी तौल भएका व्यक्ति हुन् । तथापि उनले त्यसको आधिकारिक मान्यता भने पाएका छैनन् ।