करिश्माले इन्कारिन गोल्डेन गेटको अफर
नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । ढिलै भए पनि एसर्ईईमा पास भएकोमा उनी निकै हर्षित देखिएकी छिन् ।
आफूले अध्ययन गरेको त्रिवेणी सामुदायिक विद्यालय मैतिदेवीमा खुशी साट्न पुगेकी नायिका मानन्धरले ‘बी प्लस’ आएपनि आफू खुशी रहेको र अब व्यवस्थापन विषय पढ्ने सोच बनाएको बताइन् । उनले आफ्नो लागि त्यही नै ठिक भएको बताएकी छिन् ।
नायिका मानन्धरले घर नजिकैको सरकारी कलेजमा पढ्ने बताएकी छिन् । सरकारी स्कुल र कलेजमा गरिबका छोराछोरी मात्र पढ्छन् भन्ने मानसिकता भएको भन्दै यसलाई चिर्न पनि आफूले सरकारी विद्यालय र कलेज रोजेको बताएकी छिन् ।
अध्ययनका लागि गोल्डेन गेटका शिक्षक करिश्माको घरमै भेट्न पुगेको तर उनले सरकारी कलेजमा नै पढ्ने स्पष्ट गर्दै गोल्डेन गेटको निशुल्क पढाउने अफर इन्कार गरिदिएको उनी निकटस्थले बताएका छन् ।
नायिका मानन्धरले नयाँ शक्ति पार्टीबाट राजनीति गर्दै आएकी थिइन् । बाबुराम भट्टराई नेतृत्वको सो पार्टी हाल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी नेपाल बनेको छ ।
पार्टीले उचित स्थान नदिएका कारण राजनीतिबाट अलग भएको उनले बताएकी छिन् । तर केही दिन अगाडि चलचित्र ‘जात्रै जात्रा’ हेर्न कुमारी हल पुगेका डा. भट्टराईले नायिका करिश्मा मानन्धर २ बर्षदेखि राजनीति र पार्टीमा सक्रिय नभएको बताएका थिए । उनले १२ कक्षासम्म पढ्छु भनेकाले पार्टीबाट छुट्टी दिइएको बताएका थिए ।