नेताको आचारण सुधार्ने कि कार्यकर्तामा जागरण अभियान चलाउने
कांग्रेसमा वहस
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रदेखि तल्लो तहसम्म संघीय प्रणाली अनुसार पार्टीको संरचना बनाउने भएको छ । दोस्रो चरणको जागरण अभियान शुरु नगर्न कतिपय नेताले सभापति शेरबहादुर देउवालाई दवाव दिइरहेका छन् भने वैशाख २५ देखि जेठ २५ सम्म चलाएको अभियान कति फलदायी भयो भन्ने विश्लेषण हुनुपर्ने उनीहरुको तर्क छ ।
भदौ २४ देखि असोज १० गतेसम्म ३३० वटा निर्वाचन क्षेत्रलगायत ७५१ वटा स्थानीय तहमा पार्टीले जनजागरण अभियान चलाउने बताएको छ । देउवाविरोधी कतिपय नेताले विदेशका शहर र नेपालका गाउँगाउँसम्म जागरण अभियान चलाउनु भन्दा केन्द्रीय नेताले आफ्नो आचरण सुधार गर्नुपर्ने तर्क गरेका छन् ।
त्यस्तै १४औं महाधिवेशन पहिले सम्पन्न गर्ने कि अपूर्ण संरचनालाई पूर्णता दिने भन्ने विषयमा सभापति शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेलपक्षबीच मतभेद चर्किदै गएको छ ।
महाधिवेशन पछिको कुरा हो, राष्ट्रिय जागरण अभियानको दोस्रो चरणअघि नै विधानको व्यवस्था अनुसार पार्टीको संरचना पुनर्गठन गर्नुपर्छ भन्ने देउवाको धारणा छ । तर पौडेललगायतका नेताहरु त्यसको विपक्षमा उभिएका छन् । महाधिवेशनको तयारीमा जुट्नु पर्ने पौडेल–कोइराला पक्षको भनाइ छ । महाधिवेशन छिटो भए आफूहरुले सभापति पद पाउन सक्ने सम्भावना देखेका पौडेल–कोइरालाहरुले विभिन्न जिल्लामा आफ्ना कार्यकर्ताहरुलाई देउवाका विरुद्ध एकजुट हुन प्रेरित गरिरहेका छन् ।
स्थानीय, प्रदेश र संघका समितिहरुको निर्वाचन गर्ने तयारीमा जुट्नुपर्छ र त्यसपछि महाधिवेशन गर्नुपर्छ भन्ने पौडेल पक्षको धारणा पाइन्छ । तर देउवा गिरिजाप्रसाद कोइरालालगायतका सभापतिले जस्तै आफ्नो कार्यकाल लम्व्याउने पक्षमा देखिएका छन् । देउवा निकट कतिपय नेताहरुले पार्टीको संरचनालाई पूर्णता दिनुपर्छ भन्ने देउवाको विचार गलत नभएको तर्क गरिरहेका छन् । पौडेलका समर्थकहरु महाधिवेशन गरेपछि पार्टीले स्वतः गति लिन्छ र संगठन बलियो हुन्छ भन्ने तर्क गरिरहेका छन् ।
देउवा र पौडेल पक्षवीच भएको यस्तो वादविवादले समय वर्वाद हुन्छ भन्ने तेस्रो पक्षको धारणा छ । तर उनीहरु पौडेल वा देउवाका पक्षमा वा विपक्षमा खुलेर बोल्न सकिरहेका छैनन् । पौडेल र देउवालाई भिडाएर बीचमा फाइदा लिन खोज्ने कृष्णप्रसाद सिटौलालगायतका नेता पर्ख र हेरको अवस्थामा छन् । यसले गर्दा कांग्रेस चौबाटोमा अल्मलिएको जस्तो देखिन्छ । यसकारण नेपाली कांग्रेस बलियो होस् भन्ने सदासय राख्दै आएका लाखौ कार्यकर्ताहरुमा समेत निरासा छाउन सक्ने सम्भावना बढेको देखिन्छ ।
केन्द्रदेखि तल्लो तहसम्म पराजय भोगेपनि शीर्ष नेताहरुका कारण पार्टीभित्र गुटबन्दी घट्नुको सट्टा बढ्दै गएको भन्दै कार्यकर्ताहरु निरास देखिन्छन् । विगतका कमजोरी र असफलताबाट शिक्षा लिनुभन्दा अरुलाई खराब आफूलाई असल देख्ने प्रवृत्तिले नेताहरुलाई गाँजेको कार्यकर्ताहरुको टिप्पणी छ ।