नेपालको धर्ममा विदेशीको चासो
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले तयार पारेको प्रतिवेदनमा नेपालको वर्तमान राजनीतिक प्रणाली स्पष्ट नभएको विश्लेषण गरिएको छ । धार्मिक स्वतन्त्रता नभएको भन्दै अमेरिकाले धर्म परिवर्तन गर्ने अधिकार दिनुपर्ने उल्लेख गरेको छ भने धर्मनिरपेक्ष नेपालमा धर्म परिवर्तन र धर्मको प्रचार गर्नेलाई अपराधीसरह व्यवहार गर्ने गरिएको भन्दै आपत्ति जनाएको छ ।
धार्मिक र सांस्कृतिक विषयमा प्रत्यक्ष रुपमा सरकारलाई लक्षित गर्दै यस्ता टिप्पणीहरु आइरहेका छन् । यसले गर्दा आउँदा दिनमा संविधान संशोधन गर्न समेत कूटनीतिक दवाव पर्न सक्ने कूटनीतिज्ञहरुको आँकलन छ । सशस्त्र प्रहरीले विभिन्न देवदेवीका नाममा राखेका गण, गुल्महरुको नाम परिवर्तन गर्न समेत विदेशीले दवाव दिएको बताइएको छ ।
यस्तै नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्दै हालै भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले दिएको अभिव्यक्तिलाई पनि नेपालको धर्म, संस्कृतिमा भारतको प्रभाव बढाउन खोजिएको विश्लेषणका रुपमा हेरिएको छ । पश्चिमी राष्ट्र र भारतको धर्मसम्वन्धी नीति र प्रचलन फरक भएकाले राष्ट्रिय राजनीति र कूटनीतिमा समेत धार्मिक र सांस्कृतिक दवाव बढ्न सक्ने कूटनीतिज्ञ तथा राजनीतिज्ञहरुको विश्लेषण छ ।