माफिया मास्न राजनीतिक सफाइ जरुरी ः सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले देशको राजनीति प्रदूषित भएको बताउँदै स्वच्छ पार्न राजनीतिक सफाइ जरुरी भएको बताएका छन् । देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त गर्दै सभामुख महराले भूमाफियाले देशै हडप्न खोजेको बताएका छन् ।
व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।
हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आयोजना गरिएको राष्ट्रिय वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा शनिबार बोल्दै सभामुख महराले राजनीतिमा रहेको प्रदुषण नहटाएसम्म सडक र नदीमात्रै सफाइ गरेर केही नहुने बताए ।
सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमूना जिल्ला बनाउने दाबी गर्दै तीन वर्षपछि देश–विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने दावी गरे । आकाशे पानी सङ्कलन अभियान, प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरीको निर्माण गर्ने, सडक बालबालिकामुक्त जिल्ला बनाउने, जाममुक्त, उज्यालो भक्तपुर बनाउने सांसद बस्नेतले बताए ।
त्यस्तै प्रदेश सदस्य शशीजङ्ग थापाले करीब २३ रोपनी क्षेत्रफलमा फैलिएको दक्षिण बाराही उद्यान सामुदायिक वनमा प्रदेश सरकारको रु ७० लाखको लागतमा अत्याधुनिक र आकर्षक पार्क निर्माणकार्य भइरहेको वताउँदै यस्ता पार्कको विभिन्न ठाउँमा विस्तार गर्दै लैजाने बताए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख एवं हनुमन्ते सफाइ अभियानका संयोजक वासुदेव थापा, दक्षिण बाराही उद्यान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ लगायतले वृक्षारोपण गर्नेमात्र नभई रोपिएका बिरुवालाई हुर्काएर संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा २०० वटा एभोकाडोका बिरुवा रोपिएका थिए ।