कांग्रेसको वैठकमा नेताहरुबीच घम्साघम्सी

केन्द्रीय समिति वैठक अघि गुटका छुट्टा–छुट्टै वैठक

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादले पार्टीलाई जटिल मोडमा पुर्याएपनि तत्कालका निम्ति संकट टरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले ठूलै कसरतपछि केन्द्रीय कार्यसमितिको एजेण्डामा १४ औं महाधिवेशन गर्ने कुरा राख्न सभापति शेरबहादुर देउवालाई वाध्य तुल्याएका छन् ।
पौडेलले केन्द्रीय समितिको बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि ‘विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम संरचना बनेपछि १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा’ भन्ने एजेण्डा बनेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो सहितका १४ एजेण्डामा शुक्रबारबाट छलफल भइरहेको छ ।
पौडेल समूहले १४ औं महाधिवेशन बैठकको एजेण्डा बन्नुलाई उपलब्धि मानेको पाइन्छ भने सम्पूर्ण विवाद टुंगिसकेको छैन । कांग्रेसकै कतिपय नेताहरु भने योे सहमति पौडेलको लागि ‘फेससेभिङ’ मात्र भएको र पार्टी सभापति शेरबहादुर देउवाले केही नगुमाउने बताइरहेका छन् ।
वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका बनाउन माग गर्दै आएका थिए । केन्द्रीय समितिमा आफैंले कार्यतालिका पनि पेश गरेका थिए तर, बैठकको प्रस्ताव महामन्त्रीमार्फत आउनुपर्ने भन्दै उपसभापति विमलेन्द्र निधिले प्रतिवाद गरेपछि पौडेलको प्रस्ताव एजेण्डा नै बन्न सकेको थिएन । पौडेल पक्षलाई कमजोर बनाउन देउवाले महाधिवेशनमा सशांक कोइराला समेत सभापति हुन सक्छन् भन्ने पासा फालेका छन् । यसले पनि पौडेल र सशांकबीच केही आशंका पैदा भएको अवस्था छ ।
असार २२ गते केन्द्रीय समिति बैठक बोलाएपछि पौडेल सहितका नेताहरुले पार्टी सभापति देउवामाथि अन्तरिम संरचनाको नाममा तदर्थ समिति बनाउन लागेको भन्दै विरोध जनाएका थिए । गोंगबुस्थित जगदीशनरसिंह केसीको निवासमा वैठक नै गरेर पौडेल समूहले तदर्थ समिति बनाउने देउवाको तयारी नमान्ने चेतावनी दिएका थिए । तर बैठक अगाडि प्रवक्ता विश्वप्रकाश शर्माले तदर्थ समिति बन्ने कुराको खण्डन गर्दै विधानमा त्यस्तो प्रावधान नै नरहेको विज्ञप्तिमार्फत स्पष्ट पारेका थिए ।
२२ गते केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको बैठक बसेपछि त्यहाँ १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन माग गर्ने योजना बनाइएको थियो ।
वडा, स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र र प्रदेश कमिटीमा संरचना बनाउन बाँकी छ । यसमा नेताहरुबीच संगठनात्मक स्वरुप कस्तो बनाउने भन्नेमै विवाद देखिएको छ । नेताहरुबीच कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न कस्तो संरचना बनाउने भन्ने वहस शुरु भएको हो । चुनावपछि पार्टीमा अराजकता देखिएको निष्कर्षसहित संस्थापन पक्षले अनुशासनमा कडाइ गर्न चाहेको छ, भ्राृत तथा शुभेच्छुक संगठनलाई पार्टीमुखी बनाउन चाहेको छ । केन्द्रीय कार्यसमितिमा प्रस्तुत नियमावलीमा पनि त्यस्तै प्रस्ताव आएको छ । तर, संस्थापन इतरको पक्षले भने प्रस्तावित व्यवस्थाले पार्टी नियन्त्रणमुखी, मासबेसबाट क्याडर बेस बनाउने चिन्ता व्यक्त गरेका छन् ।
महासमिति बैठकको पूर्वसंध्यामा यसबारे कस्तो पार्टी बनाउने भन्ने बहस भएको थियो । संस्थापन पक्षले भारतको पश्चिम बंगालमा कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न त्रिणमुल कांग्रेसले मात्र सकेको भन्दै त्यस्तै पार्टीको बकालत गरेका थिए । तर नरहरि आचार्य, प्रदीप गिरी, गगन थापा लगायतले पार्टीलाई अझ खुला बनाउने तर्क अघि सारे । यसबारे बहस भएपनि विधानमा खासै परिवर्तन भएन तर, नियमावली बनाउने क्रममा फेरि यो बहस सुरु भएको छ ।
रमेश लेखक नेतृत्वको समितिले बनाएको नियमावली मस्यौदामा पार्टीको नीति तथा सिद्धान्त विपरित सार्वजनिक रुपमा बोल्न नपाइने, भ्राृत तथा शुभेक्षुक संगठन पार्टीमुखी हुने, सबैले लेबी बुझाउनुपर्ने जस्ता प्रस्ताव गरिएको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता पौडेल लगायतले यसको विरोध गरेका छन् । लोकतान्त्रिक पार्टीको मूल्य र मान्यता विपरित पार्टीलाई नियन्त्रणमुखी बनाउन खोजेको भन्दै उनीहरुले विरोध गरेका हुन् । नेता प्रकाशमान सिंहले त नियत नै ठीक नभएको टिप्पणी गरेका छन् । तर, किशोरसिंह राठोर, शंकर भण्डारी, अत्तहर कमल मुसलमान र अर्जुन जोशीले भने अहिलेको अवस्थामा पार्टी नचल्ने भन्दै अझ कठोर बनाउनुपर्ने मत राखेका छन् ।
नेता जोशीले उदार कार्यशैलीको नाममा अराजकता स्वीकार्य नहुने बताए । उनले भने, कांग्रेसको नीति सिद्धान्त मान्छु भनेर सपथ पनि खाने अनि कांग्रेसलाई भोट पनि नहाल्ने अराजकता स्वीकार्य हुँदैन । अनुशासनको कारबाही हुनुपर्छ ।’ उनले लेबी भन्ने शब्द नै प्रयोग गर्दा कांग्रेसको आफ्नो पहिचान गुम्छ कि भन्ने चिन्ता हो भने आर्थिक सहयोग भन्न सकिने तर, पार्टी ब्यापारीहरुको भरपर्नु पर्ने अवस्था अन्त्य गर्ने हो भने आर्थिक सहयोग जुटाउनुपर्ने बताए ।
अनुशासन कडा गर्ने, आर्थिक सहयोग लिने व्यवस्था गर्दैमा पार्टी क्याडर बेस नहुने उनको तर्क छ । जोशीले भने, ‘कम्युनिस्टको विकल्प डेमोक्रेसी नै हो, उदार कार्यशैली हो तर उदार, स्वतन्त्र भन्दैमा जे पनि गर्न÷बोल्न पाइन्छ भन्ने होइन ।’
प्रवक्ता विश्वप्रकाश शर्माले भने अहिले भइरहेको बहस पार्टीलाई कम्युनिस्ट जस्तो बनाउने–नबनाउने नभई व्यवस्थित बनाउन भएको बताए ।
त्यस्तै यो विवाद आज बस्ने वैठकले टुंगो लगाउन सक्ने एक नेताले बताएका छन् । त्यस्तै ती संरचनाहरुमा आआफ्ना मानिसहरुलाई ल्याउन खोज्ने नेताहरुको होडले विवादको सिलसिला पुनः शुरु हुन सक्छ ।
भदौ २४ बाट सुरु हुने भनिएको पार्टीको दोस्रो चरणको जागरण अभियानलाई नै अन्तरिम संरचना निर्माण अभियानका रुपमा लैजाने कि भन्ने बहस पनि भइरहेको बताइन्छ । तर दशैं, तिहार अगाडि नै कांग्रेसको संरचना बन्नु पर्ने हुनाले नेताहरुमाथि चर्को दवाव परेको छ ।
सोही कारणले संरचनाको काम समेत पूरा नहुँदा ०७६ फागुन १४ गते गर्ने भनिएको महाधिवेशन सर्ने सम्भावना देखिन्छ । सो मितिमा हुन नसके ०७७ भदौमा महाधिवशेन गर्नुपर्ने प्रस्ताव पनि आएको छ । तर देउवाले त्यस अवधिमा पनि नगरेर एक वर्षको म्याद थपेर हालकै नेतृत्वलाई निरन्तरता दिन सक्ने सम्भावना देखिन्छ । त्यस्तो अवस्थामा देउवा र पौडेलको दुरी अरु बढ्न सक्छ ।