गगनमाथि गम्भीर आरोप

काठमाडौं । नेपाली राजनीति, कूटनीति र राष्ट्रिय सुरक्षालाई नै प्रभावित तुल्याउन विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रले नेपालका विभिन्न प्रभावशाली व्यक्तिहरुलाई प्रयोग गर्ने गरेका धेरै उदाहरण छन् । पञ्चायतकालदेखि नै शुरु भएको त्यस्तो प्रवृत्ति गणतन्त्रकालमा आइपुग्दा झन् बढ्दै गएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालका विभिन्न महत्वपूर्ण पदमा रहेका २२ हजार पदाधिकारीहरुले भारतको तलब खाएर नेपालीको भन्दा भारतको भक्तिमा लाग्नुका साथै नेपालका सम्पूर्ण सुचना भारतलाई उपलब्ध गराउने गरेको बताएका थिए । विजुक्छेले भने झै भारतको मात्र होइन, अन्य देशको काम गर्नेहरु पनि थुप्रै छन् ।
प्रत्यक्ष–अप्रत्यक्ष रुपमा उच्चपदस्थ कर्मचारी र राजनीतिज्ञ मात्र होइन मन्त्रीदेखि सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरु समेत विदेशी शक्तिका निम्ति प्रयोग भइरहेका छन् । विदेशीहरुले भ्रमणको निम्तिो दिएर होस् वा भेटघाटको मेसो मिलाएर होस्, एनजिओ÷आईएनजिओ मार्फत होस् वा गोष्ठी, सेमिनार मार्फत होस् नेपालका गोप्य सूचना र जानकारीहरु लिने गरेका छन् ।
यसैवीच कांग्रेसका युवा नेता गगन थापा अमेरिकी सरकारका लागि प्रयोग भएको भन्दै गत सोमवार अनलाइनहरुमा समाचार सार्वजनिक भएपछि तनावमा देखिएका थापाले शुक्रबार त्यसको खण्डन गरेका छन् ।
१२ वर्ष पुरानो गोप्य रिपोर्टलाई आधार बनाएर नेता तथा सांसद थापाविरुद्ध समाचार प्रकाशित भएपछि थापाले आफूले नेपालको गोप्य सूचना नदिएको र सार्वजनिक रुपमा जे बोल्दै आएको हो, त्यही कुरा अमेरिकी दूतावासका प्रतिनिधिसँग भएको सफाइ दिएका छन् ।
अमेरिकी दूतावासले २०६४ चैत २८ मा निर्धारित पहिलो संविधानसभा चुनाव ताका तयार गरेको एक गोप्य रिपोर्टमा थापालाई ‘दूतावासको मुख्य सम्पर्क व्यक्ति’ अर्थात् ‘कि एम्बेसी कन्ट्याक्ट’ का भनिएको छ । यसबाट उनले दूतावासलाई राजनीतिक रिपोर्ट बुझाउने गरेको स्पष्ट हुने भन्दै उनीविरुद्ध समाचार प्रकाशित भएका छन् ।
विकिलिक्सले करिब एक दशक अगाडि विश्वभरका अमेरिकी गोप्य कूटनीतिक रिपोर्ट सार्वजनिक गर्दा नेपालस्थित अमेरिकी दूतावासका रिपोर्ट पनि खुलासा भएका थिए । अहिले चर्चामा ल्याएको सामग्री तिनैमध्ये एक भएको बताइएको छ ।
थापालाई उद्धृत गर्दै तयार पारिएको दूतावासको रिपोर्टमा नेपाली कांग्रेसले युवा उम्मेद्वार बनाउन चुकेकाले पार्टीले चुनावमा युवा जमातको समर्थन गुमाउने जनाएको छ । यस्तै तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइराला शारीरिक रूपले कमजोर रहेकाले चुनाव प्रचारमा उपस्थित हुन नसक्ने र पार्टीका धेरै असन्तुष्ट नेताले आफ्नै उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दिनसक्ने उल्लेख छ ।
यस्तै कांग्रेस नेतृत्वको सरकारले मधेशी शक्तिलाई बढी अधिकार दिएको भन्दै पहाडमा बस्नेहरु रिसाएको र पार्टीको गढ मानिने तराई क्षेत्रमा बसोबास गर्दै आएका धेरै पहाडेमूलका कांग्रेस समर्थकले पनि सोही कारण एमालेलाई भोट दिनसक्ने थापाले आँकलन गरेको रिपोर्टमा उल्लेख थियो ।
रिपोर्टमा थापालाई उद्धृत गर्दै माओवादीले नेपाली कांग्रेसको आधार इलाकामा आफ्नो सामथ्र्य केन्द्रित गर्दै एमाले गढमा भने पन्छिने रणनीति अबलम्वन गरेकाले नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसक्ने उल्लेख गरिएको छ ।
त्यतिबेला नेपाली कांग्रेसबाट समानुपातिक सभासदका लागि प्रस्तावित गणतन्त्र पक्षधर चर्चित विद्यार्थी नेता थापाले विजयकुमार गच्छदारले समानुपातिक सुचि दर्ता गरेकाले निर्वाचन रोक्न सम्भव नभएको बताएको अमेरिकी रिपोर्टमा उल्लेख भएको समाचार सार्वजनिक भएको थियो । सो रिपोर्टसहितको समाचार प्रकाशित भएको केही दिन मौन बसेका थापाले शुक्रबार ट्वीटर लाइभमा सो समाचारको स्पष्टिकरण दिएका छन् । २०६८ सालमा विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजमा भएका कुरा केही आफूले भनेको तर त्यो गोप्य नभई सार्वजनिक रुपमै भन्दै आएको बताएका छन् । उनले आफू राजनीतिक व्यक्ति भएकाले कूटनीतिज्ञहरुसँग पनि भेटघाट भएको र भेटघाटमा भएका कुराकानीका आधारमा दूतावासले रिपोर्ट बनाएको हुन सक्ने भन्दै थापाले आफूमाथि अमेरिकी दूतावासका लागि काम गर्ने व्यक्तिका रुपमा चित्रित गरिनु गलत भएको बताएका छन् । उनले सो आरोपलाई आफूमाथिको षडयन्त्रका रुपमा लिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रत्यक्ष भिडियो सन्देश जारी गर्दै नेता थापाले वर्षौंअघि सार्वजनिक तथा गुगलमा उपलब्ध दस्तावेजका आधारमा समाचार लेखेर आफूलाई वद्नाम गर्न खोजिएको आरोप लगाएका छन् । थापाले राज्यको गोप्यता कहिल्यै कसैसमक्ष नखोलेको र भविष्यमा पनि यस्तो कार्य आफूबाट नहुने बताएका छन् ।
‘कि कन्ट्याक्ट’ भन्ने शव्दावली अमेरिकाका लागि सामान्य भएको भन्दै थापाले आफ्नो वद्नाम गर्न मात्र यस्तो प्रचार गरिएको आरोप लगाएका छन् । थापाले भने झै नेपालस्थित अमेरिकी दूतावासले पनि आफ्ना गोप्य कूटनीतिक पत्राचार (केबल) मा कुनै व्यक्तिलाई ‘दूतावासको मुख्य सम्पर्क’ अर्थात् ‘कि एम्बेसी कन्ट्याक्ट’ उल्लेख गर्नु सामान्य प्रशासनिक पदावली भएको स्पष्ट पारेको छ । अमेरिकी दूतावासकी एक अधिकारीले ‘कि एम्बेसी कन्ट्याक्ट’ शव्द आफूहरुसँग धेरै कुरा गर्ने व्यक्तिलाई जनाउने सामान्य प्रशासनिक पदावली मात्र भएको र अरू कुनै अर्थ नरहेको बताएकी छिन् ।
नेता थापाले सोही दस्तावेजमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, कांग्रेस नेतृ सुजाता कोइराला, विजयकुमार गच्छदार, प्रकाशशरण महत, तत्कालिन माओवादी तथा हालका सभामुख कृष्णबहादुर महरा, अनिल झालगायत नेपालका अन्य नेता तथा व्यापारीहरुलाई पनि ‘क्लोज एम्बेसी कन्ट्याक्ट’, ‘अमेरिकी दूतावाससँग प्रत्यक्ष काम गर्ने नियमित सम्पर्क व्यक्ति’ (रेगुलर एम्बेसी कन्ट्याक्ट, वर्क डिरेक्ट्ली विद दि एम्बेसी), ‘कि एम्बेसी कन्ट्याक्ट’ जस्ता पदावली प्रयोग भएको भन्दै उनीहरुबारे कुनै समाचार सार्वजनिक नहुनु र आफ्नो बारेमा मात्र समाचार प्रकाशित हुनुले षडयन्त्रमूलक ढंगले आफ्नो राजनीतिक भविष्यलाई धक्का दिन खोजिएको बताएका छन् । तर उनले यस्तो षडयन्त्रबाट आफू विचलित नभई निरन्तर राजनीतिकर्ममा लागिरहने बताएका छन् ।
हालै हार्डवर्ड विश्वविद्यालयमा अध्ययनका लागि गएका कारण पनि आफू अमेरिकाका लागि काम गर्ने गरेको भन्ने भ्रम परेको हुनसक्ने भन्दै नेता थापाले आफू विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर कार्यक्रममार्फत् हार्डवर्डमा अध्ययनका लागि गएको स्पष्ट पारेका छन् ।
यो कार्यक्रममार्फत् हरेक वर्ष युवा नेताहरुलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनको मौका दिने भन्दै उनले यही वर्ष सिङ्गापुरमा अध्ययनका लागि जाने पनि बताएका छन् ।
नेता थापाले विदेश भ्रमण तथा भेटघाटहरु भइरहने भन्दै आफ्ना स्वभाविक भ्रमण र भेटघाटमा के भन्न हुन्छ, के हुँदैन भन्ने बारे आफू जानकार रहेको बताएका छन् ।
थापाले आफ्नो राजनीतिक उचाइ घटाउन षड्यन्त्र भइरहेको बताएको अघिल्लो दिन बिहीबार धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुईजना आठ लाख घूससहित रंगेहात पक्राउ परेका थिए । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई अख्तियारले पक्राउ गरेको थियो । सो समाचारमा पनि थापाको नाम जोडेर विभिन्न अनलाइनहरुले ‘गगन थापाले नियुक्त गरेका उपकुलपति घुससहित पक्राउ’ परेको भन्दै समाचार प्रकाशित गरेका छन् ।