चिनियाँ राष्ट्रपति सी भारत जाँदै

नेपाल कहिले आउँलान् ?

काठमाडौं । चीनका राष्ट्रपति सी जिनफिङले तिब्बतमा चीनले नियन्त्रण गरेको ७० औं वार्षिकोत्सव समारोहमा तिब्बत भ्रमण गर्ने भएका छन् । सिन्धुपाल्चोक नजिकै खासाबाट चार सय किलोमिटर दुरीमा रहेको चीनको सिगाजे शहरसम्म उनको यात्रा हुने र सोही मौकामा उनी नेपाल आउन सक्ने कूटनीतिज्ञहरुको आँकलन छ ।
चीनका राष्ट्रपति असोज–कात्तिक भित्र नेपाल आउन सक्ने सम्भावना रहेकाले काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग धमाधम पुनर्निर्माण भइरहेको र यसको ठेक्कापट्टा चीनले पाएको हुँदा काठमाडौंस्थित चिनियाँ राजदूतले रुनवेको अवलोकन गरिरहेको समाचार सार्वजनिक भएको थियो । राष्ट्रपति सीले भारतभन्दा पहिला नेपाल भ्रमण गर्ने इच्छा रहेको काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतले बताएको छ । तर नेपालले आवश्यक तयारी नगरेका कारण उनी पहिला भारत जान लागेको बुझिएको छ ।
स्रोत भन्छ ‘राष्ट्रपति सीले अगस्ट या सेप्टेम्बरमा नेपाल भ्रमण गर्ने मनस्थिति बनाएका थिए तर नेपालको तयारी नपुगेको कारण उनी भारत जान लागेका छन् ।’
कम्युनिस्ट पार्टी एक भएर स्थिर सरकार निर्माण भएपछि नेपालको भ्रमण गर्ने उनको चाहना थियो । र, सोही अनुसार नेपाल पक्षसँग कुराकानी पनि भइरहेको थियो । तर नेपालको तर्फबाट आवश्यक तयारी नहुनुका साथै राजनीति पनि अस्थिर देखिएको चिनियाँ पक्षको बुझाई रहेको एक कूटनीतिज्ञले बताएका छन् ।
दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भएपनि एकताले पूर्णता पाएको छैन । एकता प्रक्रिया र पार्टीको सिद्धान्तलाई लिएर दुई खेमाबीच विवाद कायमै छ । त्यसको असर सरकारमा पनि परेको छ । त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ३०÷३० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको र सो सहमति पालना गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने सार्वजनिक रुपमै अभिव्यक्ति दिएर सरकार पनि स्थिर नरहेको सन्देश दिइसकेका छन् ।
राष्ट्रपति सी नेपाल आउने जतिबेला चर्चा चल्छ, त्यति बेला नै विभिन्न माग राखेर आन्दोलन हुने गरेका छन् । भारतलगायतका पश्चिमा शक्तिहरु नेपालमा चीन नजिक भएको देख्न चाहँदैनन् । उनीहरु राष्ट्रपति सीको नेपाल भ्रमण रोक्न चाहन्छन् । त्यसैले ती शक्तिहरुले बेलाबेलामा अनेक वहानामा चलखेल गरिरहेका छन् ।
राष्ट्रपति सी अक्टोवरमा दिल्ली हुँदै उत्तर प्रदेशको बनारस जान लागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वनारसमा आयोजना गरिने एक कार्यक्रममा सहभागी हुनका लागि त्यहाँ जान लागेका हुन् । भारतमा त्यसको तयारी चलिरहेको छ । चिनियाँ पक्षले वनारसको सुरक्षा अवस्थाको बारेमा जानकारी लिने काम गरिरहेको छ ।
चीनका राष्ट्रपति सी नेपाल भ्रमणमा मात्र आउने मात्र होइन, केही न केही ठूला प्रोजेक्टमा हस्ताक्षर पनि हुने छ । यसले नेपालका लागि ठूलो फाइदा हुने निश्चित छ । तर उनको भ्रमण रोक्न विपक्षी दलका नेता मात्र होइन, सत्तारुढ दलकै प्रतिपक्षी जस्ता नेताहरु पनि लागिपरेको स्रोतको दावी छ ।
भारतले चीनसँग विग्रेको सम्वन्ध सुधार गरेर राष्ट्रपति सीलाई भ्रमण गराउन सफल भएको छ । तर हाम्रो देश नेपालले भने चीनसँग वषौंअघिदेखि प्रगाढ सम्वन्ध हुँदा पनि राष्ट्रपति सीको भ्रमण गराउन नसक्नुलाई कूटनीतिक असफलताका रुपमा हेरिएको छ ।