नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

काठमाडौँं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका हुुन् । सम्झौतापछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरूलाई महासंघको सिफारिसमा बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्नेछ ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजनासमेत हुने बताए ।श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको दुुई सय २१ वटै शाखा कार्यालयहरूबाट यो कर्जा लिन सकिने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीलले बैंकसँगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरूको वित्तीय पहुँचमा थप सघाउ पुग्ने जानकारी दिए । उनले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिसबमोजिम लगानी भएको कर्जामा संस्थागत जमानतसमेत रहने हुँदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने बताए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृत केशवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरू, महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार समितिका सभापति बासुदेव गिरी, महासचिव डम्बरप्रसाद रेग्मीलगायत महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ विभागका प्रमुख नारायणप्रसाद लामिछानेले कार्यक्रममाथि प्रकाश पारेका थिए भने उपप्रबन्धक रोहित रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।