विषकाण्ड दोहोरिन नदिन प्रमको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र कर्मचारीहरुलाई आआफ्नो कार्यशैली सुधार्न निर्देशन दिएका छन् । सरकारी काममा ढिलासुस्ती भएको र समन्वय नभएको भन्दै रुष्ट भएका प्रधानमन्त्री ओलीले बिहीबारबाट सुरु मन्त्रालयहरूको वार्षिक समीक्षा सकिएपछि शुक्रबार दिएको सो निर्देशनलाई चेतावनीका रुपमा हेरिएको छ ।
दुई तिहाइको सरकारले काम कम, कुरा बढी गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्री र सचिवका हालको कार्यशैलीले सरकारको लक्ष्य हासिल हुन समस्या पर्ने चेतावनी दिएका छन् ।
विकास निर्माणका काममा गलत खालको ब्रिफिङ हुन नहुने भन्दै ओलीले उपलब्धि हुने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी, सिक्टा सिंचाई, काठमाडौंको धुलोधुवा, फोहोरलगायतका काममा किन ढिलाई भन्दै मन्त्री र सचिवहरुलाई प्रश्न गरेका छन् ।
मन्त्री र सचिवहरूको भनाइ र गराइ बाझिन थालेको भन्दै प्रधानमन्त्रीले समन्वय बढाई एउटै बोली बनाएर हिँड्न निर्देशन दिएका छन् । पछिल्लो समय मन्त्रालयबीच समन्वयात्मक कमजोरीकै कारण प्रधानमन्त्रीले समेत जनता समक्ष झुट बोलेर माफी माग्नुपरेपछि मन्त्री, मुख्य सचिव र सचिवहरुसँग ओली असन्तुष्ट वनेका छन् ।
विषादी परीक्षणसम्बन्धी निर्णयका क्रममा मन्त्रालयहरूबीच समन्वय अभाव प्रष्ट देखिएको थियो । एक मन्त्रीले अर्को मन्त्रीलाई दोष दिने, अर्का मन्त्रीले सचिवहरुलाई दोष दिने मात्र होइन प्रधानमन्त्री ओलीले भारतले पठाएको पत्रबारे जानकारी नदिएको विषयले सरकारको लगाम कहाँ छ ? भन्ने प्रश्न समेत खडा भएको छ ।
मन्त्री–मन्त्री र सचिव–सचिवहरुमा समन्वय हुन नसक्नु र कूटनीतिक निकायबाट आएको पत्र बारे आफूलाई थाहा नदिनुको प्रमुख गल्ती मुख्य सचिव लोकदर्शन रेग्मीबाट भएको बुझाइ प्रधानमन्त्री ओलीको रहेको वालुवाटार स्रोतले बताएको छ ।
शुक्रबार प्रधानमन्त्री ओलीले मुख्य सचिव रेग्मीलाई मुख्य प्रशासकको नाताले समन्वय, निर्देशन र काममा सबैलाई कडाइ गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन गराउने परिपाटी अब नचल्ने चेतावनी पनि दिएका छन् । गएको वर्ष शासकीय सुधार, कानुनी राज र सुशासनका क्षेत्रमा महत्वपूर्ण काम भएको र विकास निर्माणको आधार तयार भएको र आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा बढे पनि कतिपय कमजोरी रहेकाले अब त्यसलाई सुधार्न जरुरी रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
ओलीले जनताको काममा कुनै पनि हालतमा ढिलासुस्ती नगर्न पनि निर्देशन दिए । लोकतन्त्रमा तजबिजी अधिकार प्रयोग गरी ढिलासुस्ती गर्ने व्यवस्था नभएको उल्लेख गर्दै कार्यशैली सुधार्न निर्देशन दिएका छन् ।
सरकारका सबै सदस्य, उच्च प्रशासकले जिम्मेवारीबोध गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सबैले आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताएका छन् ।
भ्रष्टाचार र अनुचित काम क्षम्य नहुने दोहोर्याउँदै प्रधानमन्त्री ओलीले चेतावनी दिदै भने “अख्तियारका पदाधिकारी त कारबाहीमा परेका छन् भने अरूले भ्रष्टाचार गर्ने कुरा नचिताए हुन्छ, कसैलाई छोडिँदैन, आफू मातहतका कर्मचारीलाई भनिदिनुहोस्, हरेकको अनुगमन भइरहेको छ । सबैमाथि विश्वास गरिन्छ तर हरेकमाथि निगरानी पनि गरिन्छ ।”