ग्लोबल आइएमई बैंकद्धारा महिला सशक्तीकरण अभियानमा सहयोग
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब, काठमाडौँंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा पाँच लाख रूपैयाँ सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौँका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरेका हुुन् ।
उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरूसँगको सहकार्यमा प्रदेश दुईका विभिन्न विद्यालयहरूमा पुगेर करिब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरू सञ्चालन गर्नेछ । गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए । महिलाको आर्थिक सशक्तीकरणले सबै किसिमका समस्या समाधानमा सहयोग पु¥याउने बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले यस अभियानलाई आर्थिक सबलीकरण, नेतृत्व विकास र उद्यमशीलतासँग जोड्न आग्रहसमेत गरे ।
उनले बंैकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्राकृतिक विपत्ति, जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको बताए । बालविवाह देशकै एउटा ठूलो समस्या रहेको हुनाले संस्थाले सो क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको जोन्टा क्लबका अध्यक्ष ज्योतीले बताए । संस्थाले महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, जोन्टा क्लबका सीमा गोल्छालगायत बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।