देउवाविरुद्ध कांग्रेसमा मोर्चाबन्दी
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षविरुद्ध ध्रुविकरण बढिरहेको छ । १४ औ महाधिवेशनपछि शेरबहादुर देउवाको नेतृत्व अघि बढ्न नदिन सशांक कोइराला, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेताहरु आआफ्नै ढंगले मोर्चाबन्दी गरिरहेका छन् । शेखर कोइराला र सुजाता कोइराला मात्र होइन, सशांक कोइराला समेत देउवाका विरुद्ध एकजुट हुन थालेका छन् भने रामचन्द्र पौडेल आफूलाई भावी सभापति भन्दै लविङ गरिरहेका छन् ।
संशोधित नियमावलीबारे असन्तुष्टि जनाउँदै देउवाका विरुद्ध मोर्चाबन्दी गर्नेहरुले त्यसैलाई आधार बनाएको देखिन्छ । शुभेच्छुक संस्थाहरु समेत देउवाका विरुद्ध उभिनुको कारण पनि यही हो ।
रामचन्द्र पौडेल, कोइराला परिवार, प्रकाशमान सिंह, कृष्ण सिटौला आदि नेताहरुसँग निकट रहेका युवा नेता समेत देउवाका विरुद्ध एकीकृत भइरहेका छन् । संस्थापन पक्षसँग केही महिना अघिसम्म निकट रहेका कतिपय नेताको चरित्र दोधारे देखिएको छ ।
देउवा कमजोर हुँदै जाँदा उनीहरुले आफ्नो शिविर वदल्न सक्ने अनुमान गरिएको छ । यस्तो स्थितिमा जता काफल पाक्यो, उतै चरी नाच्यो भनेझै देउवा विरोधीहरु शक्तिशाली नेताको शरणमा पर्न सक्ने सम्भावना देखिन्छ । तर पार्टीभित्र देखिएको ध्रुविकरणले कुन नेता बलियो हुन्छन् र पार्टीको नीति कस्तो हुन्छ भन्ने नै अन्यौलमा परेको पुराना नेताहरु बताउँछन् ।
केन्द्रीय समिति बैठकमा संस्थापनइतर पक्षका नेताहरूले सभापति देउवासँग संक्रमणकालीन व्यवस्था र १४ औं महाधिवेशनको कार्यतालिका सम्बन्धमा ठोस प्रस्ताव ल्याउन माग गरेका छन् ।
शुक्रवार दिउँसो बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय समिति सदस्यहरूले सभापति देउवालाई समयमै महाधिवेशन हुने कुराको सुनिश्चितता गर्नुपर्ने माग गरेका हुन् ।
अस्तव्यस्त बन्दै गइरहेको पार्टीलाई जीवन्त बनाउनका लागि समयमै महाधिवेशन गर्नुको विकल्प नरहेको अधिकांश केन्द्रीय सदस्यको सुझाव छ । महाधिवेशन सार्ने खेलमा संस्थापन पक्ष लागेको भन्दै वरिष्ठ नेता पौडेलपक्षबाट बारम्बार खवरदारी गर्दै आएका छन् ।
गत पुसमा सम्पन्न कांग्रेस महासमिति बैठकमा नेता पौडेलले २०७६ सालको फागुनमा हुनुपर्ने महाधिवेशनको मितिसहित प्रस्ताव गरेका थिए । पौडेलकै दबाबमा जेठ २२ गते देखि शुरू भएको केन्द्रीय समिति बैठकको प्रमुख एजेण्डाका रूपमा १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरेर अघि बढ्ने प्रस्ताव लगिएको थियो ।
महाधिवेशन कार्यतालिकाको एजेण्डामा बिहीवारदेखि छलफल शुरू भएको थियो । बिहीवार राति अबेरसम्म चलेको बैठक निष्कर्षविहीन बनेको थियो । शुक्रबारको वैठकमा पनि सोही एजेण्डामा छलफल भएको थियो ।
शुक्रवार करीब ३ घण्टा बसेको बैठकमा केन्द्रीय सदस्य कृष्ण सिटौला, मिनेन्द्र रिजाल, प्रदीप पौडेल, रामकृष्ण यादव, एनपी साउद, पार्वती डीसी लगायतले आफ्नो धारणा राखेका थिए । केन्द्रीय समितिको बैठक आज पुनः बस्ने बताइएको छ ।
साठी र चालिस प्रतिशतको भागवण्डा मिलाएर प्रदेश समिति गठन गर्न सभापति देउवाले पौडेललाई प्रस्ताव गरे पनि उनले मानिरहेका छैनन् । यसले गर्दा केन्द्रमा देखिएको गुटबन्दीले वडातहसम्म जरो गाड्न थालेको छ । छलफल मात्र हुने र निचोडमा पुग्न विलम्व गर्ने प्रवृत्ति कांग्रेसको पुरानै रोग हो । तीन तहको चुनावमा परास्त भएपनि नेताहरुको वुद्धि नफिरेको भन्दै कार्यकर्ताहरुले आलोचना गर्दै नेतृत्वप्रति चर्को असन्तुष्टि जनाएका छन् । तर कैयन् वर्षअघिदेखि कांग्रेसमा मन, वचन र कर्मले योगदान गरिरहेका पुराना नेता÷कार्यकर्ता पार्टी परित्याग वा पलायन भएर कतै जाने अवस्थामा छैनन् । यसले गर्दा तत्काल कांगे्रसका समर्थकहरुलाई स्पष्ट विकल्प दिने अवस्था देखिदैन । निरासा बढ्दै गएको अवस्थामा संगठन कमजोर हुने र त्यसले आउँदा दिनहरुमा पार्टीलाई कमजोर बनाउने सम्भावना देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।