बाढी–पहिरोले ११३ को ज्यान गयो, ४० बेपत्ता
गुल्मीमा मात्र १३ जनाको मृत्यु/पीडितको विचल्ली/डुवानको स्थायी समाधान खोज्न माग
काठमाडौं । यो वर्षको मनसुनपछिको वाढी–पहिरोका कारण देशभरमा ११३ जनाले ज्यान गुमाएको र ४० जना अझै वेपत्ता रहेको गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । सत्यवति गाउँपालिका वडा नम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा परि उनीहरुको मृत्यु भएको हो ।
केन्द्रका अनुसार सबैभन्दा बढी बाढीबाट ५८ जनाले, पहिरोबाट ४७ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् । रौतहटमा मात्र बाढीका कारण १० जनाले ज्यान गुमाएका छन् ।
केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएका छन् । बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् ।
अहिलेसम्म बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति भएको छ भने पहिरोबाट रु दुई करोडभन्दा बढीको क्षति भएको अनुमान केन्द्रको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएका छन् ।
सिराहामा सात र ललितपुरमा छ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच–पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार–चार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन–तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई–दुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक–एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । जसमध्ये डोल्पामा सात र लमजुङमा छ, सिन्धुलीमा चार, इलाम र मोरङमा तीन÷तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई÷दुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्चनपुरमा एक÷एक जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।
त्यस्तै पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् ।
गृहमन्त्रालयका अनुसार मकवानपुर र लमजुङमा आठ–आठ तथा काठमाडौँ, सिराहा र रौतहटमा पाँच–पाँच जना घाइते भए । मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एक–एक जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई–दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीन–तीन जना घाइते भएका छन् । घाइते मध्ये केहीको अझै उपचार भइरहेको र केही उपचारपछि घर फर्किएको बताइएको छ ।
बाढी÷पहिरोबाट हजारौ घर विस्थापित भएका छन् । पीडितहरु छाप्रामा भोकै÷तिर्खै बस्न वाध्य भएका छन् । उनीहरुले यथेष्ट राहत पाउन नसकेको गुनासो गरेका छन् ।
यसैबीच दश दिनपछि बसेको प्रतिनिधिसभा वैठकले सर्वसहमतिले विशेष प्रस्ताव पारित गर्दै बाढी पहिरोबाट पीडितहरुलाई उद्धार र उपचारमा कमि हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले भारतले बाँधेका बाँधलगायतका कारणले सीमा क्षेत्रमा डुवान बढेको स्वीकार गर्दै त्यस्तो डुवान रोक्न सरकारले प्रयास गरिरहेको बताएका छन् । गृहमन्त्री थापाले विपत्ति जोखिम न्यूनिकरणमा सरकार गम्भीर रहेको दावी गरेपनि नेपाली कांग्रेस र राजपाका सांसदहरुले वाढी पहिरोलगायतका विषयमा गम्भीर नदेखिएको भन्दै सरकारले लाखौ जनताको भावनासँग खेलवाड गरिरहेको आरोप लगाएका छन् ।
भारतका कारण तराईमा हजारौ विघा जमिन डुवानमा परेको हुँदा भारतसँग कूटनीतिक वार्ता गर्नुपर्ने प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाको धारणा छ । उनले हेलिकोप्टरबाट बाढी निरीक्षण गरेको भन्दै सरकारको आलोचना गरेका छन् भने दीर्घकालिन समस्या नखोजिएमा हरेक वर्ष बाढीले लाखौ जनतालाई सताइरहने देउवाको भनाइ छ ।
सत्तारुढ दलका सांसद प्रभु साहले आफ्नो प्रस्तावमा छलफल नभएको भन्दै संसदले अन्याय गरिरहेको र न्याय हारेको बताएका छन् । पीडितले न्याय नपाउँदा जनतामा निरासा बढेको उनको विश्लेषण छ । बाढी पहिरोमा परेर मृत्यु हुनेका परिवारलाई सरकारले एक÷एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर संसदले पीडितको उद्धार र राहतमा सरकारले विशेष ध्यान दिन नसकेको आरोप लगाएका छन् ।
बाढी पहिरो जस्तो विषयलाई राजनीतिक वहसमा ल्याउन नहुने कतिपय सांसदहरुको तर्क छ । नेकपाकी सचेतक शान्ता चौधरीले मानवीय विषयमा सबैले घाउमा मल्हमपट्टि लगाउनुपर्नेमा एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेको बताइन् भने कांग्रेस र राजपाको प्रस्तावमा आफ्नो पार्टीले समर्थन नगर्ने नेकपाकी सांसद रामकुमारी झाँक्रीको धारणा छ ।
पहाडमा पहिरो र तराईको डुवान हरेक वर्ष निश्चित जस्तै देखिएको राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको धारणा छ भने कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार हेलिकोप्टरमा होइन, जमिनमा भेटिनुपर्छ भन्दै सरकारको आलोचना गरेका छन् ।
गुल्मीमा मात्र १३ जनाको मृत्यु
गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परी मृत्यु भएका १३ जनाकै शव आफन्तले बुझेका छन् । बेपत्ता सबैको शव भेटिएपछि पोष्टमार्टम गरेर शुक्रबार आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् ।
गत मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ वर्षीय बालक सञ्जु बिकसहित तारा बिक, माया बिक, बबी बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमान्सु बिक, छली बिक, सिवानी बिक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।
पहिरोमा घाइते भएका ठूलो लुम्पेकका करिष्मा र धनी तरामुलाई भने दुई दिनपछि हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडौं लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले जानकारी दिइन् । उनीहरुको काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
मृतकका परिवारलाई तत्कालको लागि क्रियाखर्च गाउँपालिकाले दिएको र थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरिरहेको प्रमुख जिज्ला अधिकारी पौडेलले बताएका छन् ।
पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि हेलिकोप्टरमार्फत २० क्वीन्टल चामल, दुई क्वीन्टल दाल र एक क्वीन्टल चिउरा ठूलो लुम्पेकमा पु¥याइएको छ ।
पहिरोले ठूलो मानवीय क्षति भएकोले दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । पहिरो प्रभावित क्षेत्रमा ३ सय पशु चौपाया मरेको अनुमान गरिएको छ ।