रंगशालामा फर्कियो खुशी
चितवन÷निर्माणाधीनबाट विचाराधीन हुन पुगेको दुई महिना नहुँदै गौतमबुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशाला क्षेत्रको खुशी फर्केको छ । ७ साउनमा पुनः काम शुरु भएको खुशीयालीमा स्थानीयले पहिलेभन्दा अझै खुलेर साथ दिएका छन् । एक साता नपुग्दै एक करोड रुपैयाँ भन्दा बढी नगद चन्दाका रूपमा उठिसकेको छ । श्रमशिविरमा चितवनका विभिन्न संघसंस्था लागिपरेका छन् । विवादास्पद बनाइएको पश्चिमपट्टिको बार तत्कालीन बन्दीसँगको सम्झौताअनुसार यथास्थानबाट पुरै लागिसकेको छ ।
डोजर प्रयोग भएका छन् । कामदार पुनः काम पाएको खुशीमा दंग छन् । नयाँ नयाँ रेष्टुरेण्ट खुलेका छन् । अवलोकनकर्ताको संख्या बढ्दै छ । केही स्थानीयका अनुसार बाहिर धेरै खुशी देखिए पनि बाटोको मुद्दालाई व्यक्तिगत मुद्दा बनाइएको घटनाबाट दुःखी मनहरूप्रति जिम्मेवार र आधिकारिक व्यक्तिहरू उदाशीन छन् । यस्तो उदाशिनताले गर्दा अपेक्षित उल्लासमा झिनो बादल देखिन्छ । त्यो बादललाई चिर्न निर्माणपक्षले इगो होइन दिगो समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्ने राय केही बुद्धिजीवीको छ । त्यो घटना रंगशालाको विरुद्ध नभई बाटो खुलाउने क्रमको प्राविधिक कारण भएकाले ती व्यक्तिलाई रंगशाला विरोधीका रूपमा नै हेरियो भने त्यो फाउण्डेशनको कमजोरी हुनेछ । उनीहरूको शुरुको सकारात्मक र रचनात्मक भूमिकामा आँखा चिम्लेर नजरअन्दाज गरियो र फेरि पनि कार्यशैलीमा परिवर्तन गरिएन भने कालोबादल भित्रको चाँदीको घेरालाई सदुपयोग गर्न चुकेको ठहर्ने छ ।