‘रअ’ प्रमुखको रहस्यमय नेपाल भ्रमण

दाहाल र देउवासँगको भेटवार्ताले प्रम ओलीलाई चस्का !

काठमाडौं । भारतीय जासुसी निकाय रिसर्च एण्ड एनलाइसिस विङ ‘रअ’ का प्रमुख सामन्त गोयलको आकस्मिक र गोप्य नेपाल भ्रमणले नेपाली कूटनीतिलाई मात्र होइन, राजनीतिलाई समेत तताएको छ । प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी दलका सभापति शेरबहादुर देउवा, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतलाई भेटेर उनी फर्किएको समाचार सार्वजनिक भएपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्रीसँग उनको भेट नभएको स्पष्ट गरेका छन् भने सैनिक जनसम्पर्क निर्देशनालयले पनि विज्ञप्ति प्रकाशित गरेर सेनापतिसँग उनको भेट नभएको स्पष्ट पारेको छ ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने ‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेटेको हामीलाई थाहा छैन । रअका प्रमुख यदि आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्राटोकलकै आधारमा भेटघाट हुनुपर्छ । क–कसले भेट्नु भयो हामीलाई थाहा पनि छैन ।’
केही बानी परेकाहरुले भेटेको भए त्यो आफूहरुलाई थाहा हुने कुरा नहुने भन्दै प्रवक्ता वास्कोटाले थपे ‘प्रधानमन्त्रीले भेटघाट गरेका छैनन् । सञ्चार माध्यमले हुँदै नभएको कुइरिमण्डलको खेती नगरौँ । जस जसलाई भेट्ने बानी छ उनीहरुले भेटे होलान् ।’
उनले कसैलाई भेट्दैमा उसको पक्षधर भइनहाल्ने बताउँदै प्रवक्ता वास्कोटाले भने
‘फेरि भेट्नै नहुने भन्ने पनि हैन । जसलाई भेट्यो त्यही बन्ने भन्ने पनि हैन नि’ उनले भने, ‘फ्रान्सको आउलन, त्यसलाई भेट्दा त्यही हुने, कहिले चाइनाको आउलान्, उसलाई भेट्दा त्यही बन्ने भन्ने त हुँदैन नि ।’
त्यस्तै सैनिक निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानसेनापतिले रअका प्रमुखलाई भेटेर छलफल–वार्ता गरेको भनि अनलाइनहरुमा प्रकाशित समाचार झुटो, मनगढन्ते एवं सुनियोजित भएको भन्दै आपत्ति समेत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ– “नेपाली सेनाको छवीमै आँच पु¥याउन सक्ने तथा आमजनमानसमा सेना प्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने संवेदनशील विषयमा समेत यस संस्थाको आधिकारिक निकायसँग सूचनाको विश्वसनीयता प्रमाणित नगराई सस्तो लोकप्रियताको लागि कपोलकल्पित समाचार सम्प्रेषण भएको देखिन्छ, राष्ट्रकै संवेदनशील संस्थाको तेजोवध गर्नकै लागि गलत नियतसहित प्रकाशित सामग्रीप्रति नेपाली सेना खेद प्रकट गर्दछ ।”
नेपालका सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय कतै पनि जानकारी नदिइ भएको उनको भ्रमणलाई धेरैले रहस्यमय भनेका छन् । आइतबार उनले शेरबहादुर देउवासँग झण्डै चार घण्टा र पुष्पकमल दाहालसँग साढे दुई घण्टा भेटवार्ता गरेको बताइएको छ ।
सत्तारुढ दलका अध्यक्ष दाहाल, जो सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । प्रधानमन्त्री ओलीसँग ३०÷३० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको र सो सहमति कार्यान्वनय हुनुपर्ने दावी गर्दै आएका दाहाल तथा सरकारको चर्को आलोचना गर्दै आएको विपक्षी दलका नेता देउवाले विदेशी गुप्तचर प्रमुखलाई सरकारको जानकारी बेगर भेट्नुलाई राजनीतिक विश्लेषकहरुले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । उनको भ्रमण नेपालमा पुनः राजनीतिक अस्थिरता ल्याउने उद्देश्यमा केन्द्रित भएको हुन सक्ने आशंका पनि गरेका छन् ।
अझ रहस्यमय कुरा त के छ भने विमानस्थलबाट वौद्धस्थित ह्यात होटलमा पुगेपछि मात्र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको नेतृत्वमा सो टोली नेपाल आएको सुरक्षाका जिम्मेवार व्यक्तिहरुले चाल पाएको बुझिएको छ । भारतका मुख्यसचिव आउँदैछन् भन्ने प्रचार गरेर विमानस्थलबाट वौद्धस्थित होटलसम्म स्कर्टिङ लगायत सम्पूर्ण सुरक्षा व्यवस्था गरेपछि अन्त्यमा मात्रै उनी गुप्चतरका प्रमुख हुन् भन्ने कुरा सुरक्षा निकायका उच्च व्यक्तिहरुले चाल पाउनुले एकातिर सुरक्षाकै मामिलामा उच्चपदस्थहरुको आँखामा छारो हाल्न खोजिएको देखिन्छ भने अर्कोतिर भोलिका दिनहरुमा त्यस्तै शैली अपनाएर कुनै अवाञ्छित विदेशीले सुरक्षा प्रवन्धको दुृरुपयोग गरेभने त्यसको परिणाम के हुन्छ भन्ने प्रश्न उठेको छ ।
नेपालको राष्ट्रिय सुरक्षासँग बढी चासो राख्ने भारतीय गुप्तचर संस्थाका प्रमुखलगायतका विदेशीलाई केही वर्षयता नेपाली नेताहरु आफ्नो उचाइ र कूटनीतिक मर्यादा बिर्सेर उनीहरु बसेकै ठाउँमा भेट्न जाने गरेका छन् । यस पटक पनि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ‘रअ’ प्रमुखलाई भेट्न भारतीय दूतावासमै पुगेका थिए । तर ‘रअ’को टोलीले पुष्पकमल दाहाललाई भेट्न उनको निवासमै पुग्नुले देउवालाई भन्दा दाहाललाई बढी महत्व दिएको पाइएको छ । यसलाई पनि धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।
कुनै पनि विदेशीलाई भेट्दा परराष्ट्र मन्त्रालय मार्फत चाँजोपाँजो मिलाउनुपर्ने सरकारले नै निर्णय गरेपनि जिम्मेवार व्यक्तिहरुले विदेशी गुप्तचर प्रमुखलाई भेट्दा समेत त्यसबारे सरकार अनभिज्ञ जस्तो देखियो । परराष्ट्र मन्त्रालयले भारतीय गुप्तचर प्रमुखको यात्राबारे आपूmहरुलाई जानकारी नै नभएको बताएको छ ।
नेकपाका नेता भीम रावलले ‘रअ’ का प्रमुख गोयलको सक्रियताप्रति आपत्ति जनाएका छन् । मंगलबार ट्विट गर्दै नेता रावलले नाम उल्लेख नगरी भारतीय दूतावासको सक्रियताप्रति आपत्ति जनाएका हुन् । रअ प्रमुख गोयलसहितका केही उच्च सुरक्षा अधिकारी आएको अवसरमा भारतीय दूतावासले जलपानका लागि नेता, सांसदलाई निम्ता गरेको थियो ।
दूतावासले सांसद, पत्रकार र नेतालाई बोलाएर अर्ती दिनु कूटनीतिक मर्यादा विपरित भएको उनको भनाइ छ । उनले यस्ता गतिविधि रोकनुपर्ने उल्लेख गरेका छन् ।
‘कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कूटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्छ’, रावलले ट्विटमा लेखेका छन्, ‘नेपालमा शान्ति प्रक्रियाको समयमा वाह्य शक्तिको अचाक्ली चलखेल थियो । रोक्ने सामथ्र्य सरकारसंग थिएन’, हाल संविधान र जनताको बहुमतले सरकारलाई अधिकार र सामथ्र्य दिएको छ ।’
काठमाडौं आएको रअको टोलीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न महिला सांसदहरुसँग पनि भेट गरेको थियो । सांसदसँग गरिएको भेटपछि राजदूत मञ्जिवसिंह पुरीले ट्वीटरमा एउटा तस्वीरसमेत सार्वजनिक गरेका छन् । तस्बिरमा सत्तारुढ नेकपाकी सांसद गंगा सत्गौवा, नविना लामा र कोमल वलीसमेत देखिएका छन् ।
तस्वीरसहित राजदूत पुरीले ट्वीट गरेका छन्, ‘नेपालका केही महिला सांसदसँग राजनीतिमा महिला सशक्तीकरणको विषयमा छलफल गर्न पाउँदा हर्षित छु ।’
यसरी खुलेआम विदेशी दूतावास र गुप्तचरहरुले नेपालका उच्चपदस्थ राजनीतिक नेता र जनप्रतिनिधिहरुसँग भेटेर नेपाली राजनीतिलाई प्रभावित पार्ने प्रयास गरेको भन्दै नेकपाकै नेता रावललगायतका नेताले आलोचना गरेका छन् ।
नेपालमा आफू अनुकुलको सरकार बनाउन शुरुदेखि नै प्रयास गर्दै आएको भारत ओली सरकारप्रति सन्तुष्ट छैन । भारतले पुष्पकमल दाहाल र शेरबहादुर देउवा जस्ता नेताहरुलाई एकजुट गराएर राजनीतिक समीकरण वदल्ने प्रयास गरिरहेको बताइएको छ । केही महिनाअघि प्रधानमन्त्री ओली दिल्ली गएका बेला दाहालले पार्टी एकीकरण शुरु गर्दा ओली र आफूले ३०÷३० महिना सरकार चलाउने सहमति भएको प्रशंग बाहिर ल्याएका थिए ।
ओलीलाई अपदस्थ गरेर आफू प्रधानमन्त्री बन्न चाहेको दाहाल र विपक्षी दलका नेता देउवासँग लामो भेटवार्ता हुनुले भारतीय गुप्तचर प्रमुखको नेपाल भ्रमणले राजनीतिक अस्थिरता ल्याउने संकेत देखिएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
सत्ताको समीकरण वदल्नकै लागि सत्तारुढ दल नेकपामा विभिन्न विवाद सिर्जना गराउनेदेखि विभिन्न दलहरुबीच ध्रुविकरण गराउने प्रक्रिया शुरु भइसकेको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको एकता तथा नेपाली कांगे्रस र राजपाको कार्यगत एकताको प्रयास, समाजवादी र राजपाबीचको एकता प्रयास एवं कतिपय साना दलको छटपटिले समेत कतै न कतै नयाँ समीकरणको प्रयास भइरहेको आशंका गर्न सकिने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
यस्तो स्थितिमा सत्तारुढ दलले आन्तरिक एकता वचाउन सकेन भने त्यसबेला माक्र्सवाद वा समाजवादको बाटो भन्दा पनि फरक ढंगले राजनीतिक अस्थिरता शुरु हुन सक्ने चेतावनी विश्लेषकहरुको छ ।