सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने

काठमाडौं । कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ प्रदान गरिने भएको छ । ‘शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान’ भन्ने नारासहित आगामी साउन २६ गते एक भव्य समारोहका विच ७ प्रदेशका ७ जनालाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ बाट नगद पुरस्कारसहित अवार्ड प्रदान गरिने भएको हो । कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयतामा विगत १ दशकदेखि समाजिक सेवामा लोकप्रिय संस्था शिखर नेपालको आयोजनामा सो अवार्ड प्रदान गरिन लागेको हो ।
जसका लागि कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पशुपंछी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेश बाट उत्कृष्ट ५÷५ जना कृषकहरुको नामावली सार्वजनिक गरेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताएका छन् । एउटा प्रदेशबाट २२ देखी ४२ जना कृषकहरुको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरेर उत्कृष्ट ५ जनाबाट पनि सर्वोत्कृष्ट १ जना छनोट गर्न लागेको उनले बताए । ‘मुलुकमा कृयाशिल कृषकहरुको प्रोत्साहन बढाउनुपर्ने अहिलेको आवश्यकता छ’, अध्यक्ष खनालले भने, ‘मुलुकका सात वटै प्रदेशबाट ५÷५ जना प्रतिष्पर्धी कृषकहरुको योग्यता, क्षमता, दक्षता र व्यवसायीक सफलताको मापन गर्दै निर्णायक समितिको मूल्यांकनका आधारमा नै यो नामावली प्रकाशन गरिएको छ ।’
राष्ट्रिय सभा गृहमा उत्कृष्ट कृषक घोषणा कार्यक्रम गरिने समेत अध्यक्ष खनालले बताए । सोही दिन ‘राष्ट्रिय शिखर अनर अवार्ड–२०७६’ बाट विभिन्न १२ वटा विधामा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । शिखर नेपाल २०६४ सालदेखि विभिन्न विधामा विभिन्न सम्मान तथा अवार्ड निरन्तर रुपमा गर्दै आएको छ ।