‘हेडमास्टर’ बन्ने होडले नेकपाको एकतामा ठक्कर
काठमाडौं । सत्तारुढ दल नेकपाको एकता प्रक्रियाले पूर्णता पाउनै लाग्दा स्कुुल विभाग कसले सम्हाल्ने भन्ने विवाद वाधक बनेको छ । पूर्वएमालेका नेता ईश्वर पोखरेल र पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठले स्कुल विभागको नेतृत्वमा दावी गरेपछि पूर्वएमाले र पूर्व माओवादी नेताहरुबीच ध्रुविकरण बढेको छ ।
पार्टीको सिद्धान्त, दर्शन र आदर्शबारे शिक्षा दिने गुरुकुल मानिएको स्कुल विभागको नेतृत्वमा देखिएको दुई पक्षको होडबाजीले शरीर एक भएपनि मन एक हुन सकेको छैन भन्ने प्रष्ट भएको छ । यो विवादले पार्टीको एकीकरण प्रक्रियालाई समेत हल्लाएको छ । पार्टीले कस्तो डक्ट्रिन बनाउने भन्ने कुरामै विवाद भएकाले अहिले सार्वजनिक गरिएको राजनीतिक प्रतिवेदन काम चलाउ मात्र होला भन्ने देखिन्छ ।
महाधिवेशनसम्म पुग्दा नपुग्दा नेकपाभित्र कुनै ठूलो दुर्घटना हुन सक्छ कि भन्ने समेत आशंका गर्न थालिएको छ । एकातिर प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बढेको चिसो र अर्कातिर पार्टीभित्र देखिएको विवाद एकै पटक सार्वजनिक हुँदा धेरै नेता, कार्यकर्ताले आशंकाको दृष्टिले हेरिरहेका छन् ।
पोखरेलले स्कुल विभाग हाँकेको खण्डमा जवज अनुसार पार्टीको धार अघि बढ्ने धेरेको बुझाइ छ । त्यसैले प्रचण्ड लगायतका नेताहरु पार्टीको केन्द्रदेखि तल्लोतहसम्म एमालेको वैचारिक छाया पर्न नदिन श्रेष्ठलाई स्कुल विभागको नेतृत्व दिनुपर्ने पक्षमा छन् ।
पोखरेल र श्रेष्ठबीचको विवाद चुलिएपछि त्यसको निर्णय गर्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल समेत अनिर्णयको बन्दी बनिरहेका बेला स्कुल विभागको नेतृत्व लिन चाहनेहरुको संख्या पनि थपिदै गएको छ । घनश्याम भुषाल र डा. वेदुराम भुषालले पनि स्कुल विभागको इन्चार्ज बन्ने दावेदारी प्रस्तुत गरेका छन् ।
अध्यक्ष ओली र दाहालबीच पाखेरेल, श्रेष्ठ र भुषालद्वयको विकल्पमा झलनाथ खनाललाई स्कुल विभागको नेतृत्व दिने बारेमा छलफल गरेको स्रोतको दावी छ । यता पूर्व एमाले नेताहरुले विकल्पका रुपमा संगठन विभाग पोखरेललाई दिएर वामदेव गौतमलाई स्कुल विभागको नेतृत्व दिने बारेमा छलफल गरेको बुझिएको छ ।
पार्टीको अन्तरिम कार्यदिशा जनताको जनवाद भनिएको छ । यसमा एमाले र माओवादी पृष्ठभूमिका नेताहरु सामान्यतया सहमत देखिएका छन् भने महाधिवेशनसम्म यही कार्यदिशा लिएर अघि बढ्ने सहमति समेत भएको छ । तर तत्कालिन एमालेले विगतमा लिएको लाइन त्याग्न हुँदैन भन्ने ठूलो समूह नेकपामा भएकाले उनीहरु पार्टीलाई माओवादीको लाइनमा हिडाउन चाहँदैनन् ।
झलनाथ खनाल माओवादीका प्रिय मानिन्छन् । द्वन्द्वकालमा समेत उनले लखनौ, दिल्लीलगायतका विभिन्न ठाउँमा पुगेर माओवादी नेताहरुसँग वार्ता गरेका थिए । तसर्थ स्कुल विभागको नेतृत्व खनाललाई दिँदा उनले एमाले पृष्ठभूमिका नेताहरुलाई मात्र होइन, माओवादीलाई समेत चित्त बुझाउन सक्छन् भन्ने दाहालहरुको धारणा रहेको एक नेताले बताएका छन् ।
नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोके पनि स्कुल विभागको विवादले ३२ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख एवं २२ वटा जनसंगठनका इन्चार्ज र सहइन्चार्ज तोकिएको छैन ।
८३ जना जिल्ला÷महानगर इन्चार्ज र १५२ जना सहइन्चार्ज सहित २३५ जनालाई भूगोलका आधारमा जिम्मेवारी दिइएको छ । सोह्र जिल्लामा सहइन्चार्ज तोक्न बाँकी छ । दुई अध्यक्ष वाहेक ४३५ जनाले जिम्मेवारी पाउँदा पार्टी देशभर अझ सक्रिय हुने नेताहरुले दावी गरेका छन् ।
सम्वन्धित जिल्लाकै गाउँगाउँ घुमेर पार्टीका काम गरेका व्यक्तिलाई जिम्मेवारी दिँदा विश्वसनीयता र लोकप्रियता बढ्न सक्ने नेताहरुको धारणा छ । स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टीमा कार्यविभाजन र जिम्मेवारी बाँडफाँड गर्दा योग्यता, क्षमता, अभिरुचि र सम्वन्धित व्यक्तिको पृष्ठभूमिलाई समेत हेर्नुपर्ने सुझाव दिएका छन् ।
स्कूल विभागको काम के ?
पार्टी नियमावली २०७५ मा ३२ विभागकै जिम्मेवारी तोकिएको छ । नियमावलीमा स्कूल विभागको जिम्मेवारीलाई आठ बुँदामा उल्लेख गरिएको छ ।
नियमावलीमा भनिएको छ, ‘पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरुप आफ्नो तहमा नियमित वा आवधिक पार्टी स्कूल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी आफ्नो तहको पार्टी कमिटी समक्ष प्रस्तुत गर्ने ।’
यस्तै यो विभागले पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने नियमावलीमा उल्लेख छ । त्यहाँ थप बुँदामा भनिएको छ, ‘पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्ने । पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने ।’
यस्तै यो विभागले प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख पनि राख्नेछ । त्यसबाहेक स्वदेश तथा विदेशका पार्टी स्कुलहरूसँग अनुभव आदान–प्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गर्नुपर्ने छ । त्यसबाहेक सम्बन्धित कमिटीले तोकेका अन्य काम पनि गर्ने छ ।