गुप्तचर प्रमुखको गुप्त भ्रमण

काठमार्डाैं । विदेशको गुप्तचरप्रमुखले नेपालको राष्ट्रिय राजनीतिमा समेत गम्भीर प्रभाव पार्नसक्छ भन्ने कुरा हालैको घटनाक्रमले देखाएको छ । सरकारी प्रवक्ताले कसले ‘कसलाई भेटे हामीलाई थाहा छैन, भेट्नै हुँदैनथ्यो भन्ने पनि हामीलाई लाग्दैन । सुन्दर देश छ, पशुपतिनाथ छन्, आइरहन्छन्, हाम्रा कर्मचारी र कूटनीतिज्ञ पनि गइरहन्छन्’ भन्दै साउन ९ गते टिप्पणी गरेपनि वास्तवमा भारतीय गुप्तचर प्रमुखको भ्रमणले राजनीतिक, कूटनीतिक वृत्त र सामाजिक सञ्जालमा समेत निकै चर्चा, वहस र विवाद देखिएको छ ।
महत्वपूर्ण राजनीतिक भेटघाट गरेर विदेशी गुप्तचर प्रमुख स्वदेश फर्किएको कैयन् दिनसम्म पनि यसबारे नेपालको संसद र नेपाली जनता अन्यौलग्रस्त देखिएका छन् । साढे दुई घण्टा जति प्रधानमन्त्रीसँग गोप्य वार्ता गरेको भन्दै सञ्चारमाध्यमहरुले विश्लेषणात्मक सामग्री प्रकाशित गरेका छन् ।
सरकारका प्रवक्ताले प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेटे भन्नेहरुले प्रमाणसहित पुष्टि गरे भइहाल्यो नि भनेका छन् । तर उच्चसुरक्षा स्रोतले महत्वपूर्ण राजनीतिक व्यक्तिहरुसँग भारतीय गुप्तचर प्रमुखले भेटेको तर त्यो राष्ट्रको जानकारीमा भने नआएको खुलासा गरेका छन् ।
नेपालमा भएका रहस्यमय घटनाहरु वारम्वार चर्चामा आउँछन् र सेलाउँछन् । तर भविष्यमा त्यस्तो नहोस् भनेर खबरदारी गर्ने कुनै सशक्त निकाय नहुँदा राष्ट्रिय राजनीति र सुरक्षालाई नै हल्लाउन सक्ने गतिविधि भइरहेको देखिन्छ ।
विभिन्न देशको आन्तरिक राजनीतिमा पसेर दरार पैदा गर्ने र आफ्नो प्रभाव जमाउने खेलमा विदेशी गुप्तचर संस्था सक्रिय रहने गरेका छन् । पूर्वप्रधानसेनापति गौरव शमशेर राणाले गत आइतबार प्रकाशित नेपाल पत्रिकामा उल्लेख गरे जस्तै ‘केही चाल चल्ने वातावरण बुझ्न राजनीतिक तहमा भेटघाट भएको छ । अब त्यो चाल ‘रअ’ को राडारमार्फत हुन्छ भन्ने सन्देश उसले दिएको छ ।’
यस्तै भारतमा बसेर नेपाली राजदूतको भूमिका खेलिसकेका दीपकुमार उपाध्यायले वंगलादेश जन्मिए झै रअले नेपालमा खेल्न सक्ने विश्लेषण गरेका छन् । जेठ ८ गते प्रकाशित नयाँ पत्रिकामा उनले नाकाबन्दीकै बेला त्यस्तो सम्भावना देखिनथालेको बताउँदै अहिलेलाई नेपालमा अर्को वंगलादेश बन्ने खतरा भने टरेको बताएका छन् ।
अनौपचारिक तरिकाले भारतीय गुप्तचर प्रमुखले खेल्न थालेपछि नेपाली राजनीति अस्थिर हुन सक्ने र त्यसले नेपालको राष्ट्रिय सुरक्षालाई नै तरंगित बनाउने सम्भावना बढेको भन्दै विभिन्न विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
भारतका तत्कालिन गुप्तचर अधिकृत आरएन काओ (रामनाथ काओ) द्वारा स्थापित रिसर्च एण्ड एनालिसिस विङ (रअ) अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । सन् १९७५ मा सिक्किमलाई भारतमा विलय गराउन र त्यो भन्दा पहिले पूर्वी पाकिस्तानलाई वंगलादेश बनाउँदा त्यसको भूमिका निकै सक्रिय देखिएको पुराना कूटनीतिज्ञहरुले बताएका छन् ।
दक्षिण एसियाका विभिन्न राष्ट्रमा मात्र होइन, युरोप अमेरिकामा समेत ‘रअ’का गतिविधि फैलिदै गएका छन् । यसै मेसोमा नेपाल चीनतर्फ ढल्किएको भन्दै छटपटाइरहेको भारतले सो संस्थाका प्रमुख समान्तकुमार गोयललाई काठमाडौं पठाएर प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष तथा पूर्वप्रम पुष्पकमल दाहाल, पूर्व प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेट गरेको हुन सक्ने विश्लेषकहरुको तर्क छ ।
रअका दुई जना निर्देशक र नेपाल स्टेसन हेर्ने अभिजित हल्डरसमेतले प्रधानमन्त्री ओलीसँग वालुवाटारमा र अध्यक्ष दाहालसँग खुमलटारमा भेटवार्ता गरेको बताइएको छ । विपक्षी दलका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने रअ प्रमुखलाई भेट्न नेपालस्थित भारतीय दूतावास पुगेको बताइएको छ । तर उनीहरुले गुप्तचर प्रमुखसँग भएको भेटवार्ता र विषयबारे गुप्त नै राखेका छन् । सरकारले संसद, नेपाली जनता र सञ्चारमाध्यमहरुलाई जानकारी नगराइनुले संवैधानिक, राजनीतिक र नैतिक रुपमा प्रश्न उठेको छ ।
यस्तो प्रवृत्तिले सरकारको मात्र होइन, राजनीतिक प्रणालीकै विश्वसनीयतामा आँच आउने अवस्था छ । परराष्ट्र मन्त्रालय सुत्रले समेत भारतीय गूप्तचर प्रमुखको भ्रमणबारे अनभिज्ञता जनाएको छ । अधिकांस मन्त्रीहरु यो बारे अनभिज्ञ देखिएका छन् । संसदलाई कुनै जानकारी गराइएको छैन । अमेरिकालगायतका मुलुकमा सरकारी निकायले गलत सूचना प्रवाह गरे भने त्यसलाई सत्ताको दुरुपयोग मात्र होइन, ठूलो अपराध मानिन्छ ।