ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने

काठमाडौँ । ग्लोबल आइएमएई बैंकको विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गरेको छ । मंगलबार आयोजित विशेष साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन (डिडिए)का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गरेको छ ।
हाथवे फाइनान्सको प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्तापुँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।
विशेष साधारण सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमईले बैंकको शाखा सञ्जाल र पुँजीगत आधारसमेत सुदृढ गरी प्रतिस्पर्धी क्षमताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्राप्तिमा गएको बताए ।
तीन दिनभित्र घर कर्जा दिने
ग्लोबल आइएमई बैंक लिमिटेडले नौ दशमलव ९९ प्रतिशत ब्याज दरमा घर कर्जा (होम लोन) योजना ल्याएको छ । घर कर्जा आवेदन प्रक्रिया पूरा भएको तीन दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ ।
योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि एक करोड ५० लाख रूपैयाँसम्म कर्जा लिन पाउने बैंकले जनाएको छ ।