प्रतिवन्धित पार्टीको शक्ति विप्लवमै केन्द्रित
काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्दले पार्टीमा शुद्धिकरण गर्न भन्दै स्थायी कमिटी र पोलिटव्यूरो भंग गरेका छन् । पाँच जनाको स्थायी कमिटी र ११ जनाको पोलिटव्यूरो भंग गरेर सम्पूर्ण कमाण्ड चन्द आफैले सम्हालेका छन् । पार्टीभित्र सरकारका गुप्तचर समेत सक्रिय रहेको भन्दै पार्टीका केही बर्खास्तीमा परेका छन् । चन्दसँग असहमति राख्ने धेरै नेता वर्खास्तगीमा परेको बताइएको छ । नयाँ ढंगले जिम्मेवारी दिएर चन्दले नयाँ शैलीमा पार्टी अघि बढाउने बताइएको छ ।
पहिले पुष्पकमल दाहालको नेतृत्वमा काम गरेका सन्तोष बुढामगर, धर्मेन्द्र वास्तोला, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली लगायतलाई सचिवालय सदस्यको मात्र जिम्मेवारी दिइएको छ । यसले गर्दा चन्द र ती नेताबीच दुरी बढेको बताइएको छ ।
केही दिनअघि बसेको पार्टी स्थायी समितिको बैठकले पोलिटब्युरो सदस्य कृष्ण धमलासहित १८ जनालाई केन्द्रीय समितिको जिम्मेवारीबाट हटाएको छ ।
आजाद केसी, भेषराज भुसाल, सन्ध्या, सम्झना घर्ती, बाबुराम विक, प्रतीक, मकर, उत्तम, असिनालगायतलाई केन्द्रीय समितिको जिम्मेवारीबाट हटाइएको विप्लव नेकपा निकट स्रोतले जनाएको छ ।
१२ सदस्यीय सचिवालयमा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्तामा खड्गबहादुर विश्वकर्मा प्रकाण्ड यथावत् छन् । यसअघि स्थायी समितिमा रहेका विप्लव, खड्गबहादुर विक, हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला र सन्तोष बुढा मगर सचिवालयमा छन् । वीरजंग र अनिल शर्मा विरहीसहितका पोलिटब्युरो सदस्यलाई पनि समेटेर सचिवालय गठन गरिएको स्रोतले जनाएको छ ।
सरकारले गत २८ फागुनमा प्रतिबन्ध लगाएपछि विप्लव नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्य मोहन कार्कीसहित माथिल्लो स्तरका नेता कार्यकर्तालगायत ६ सय भन्दा बढी पक्राउ परेका छन् । पक्राउ परेका केहीले पार्टी छोड्ने प्रतिवद्धता जनाउँदै छुट्ने गरेका छन् ।