‘भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचार बढेको नभई, गिरफ्तारी बढेको दावी गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको वताएका हुन् ।
भ्रष्टाचारमा संलग्नलाई सानो ठुलो नभनी सबैलाई कारबाही हुने र भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विभिन्न ठाउँमा भू–माफियाले कब्जा गरेका सरकारी जग्गाहरु विधि पु¥याएर फिर्ता लिने वताउँदै प्रधानमन्त्री ओलीले ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको बताए ।
यही सरकारले जग्गा हडपेको जस्तो गरी प्रचारप्रसार भइरहेको गुनासो गर्दै प्रधानमन्त्री ओलीले आफू भन्दा अघिका सरकारहरुले के हेरेर बसेका थिए ? भन्ने प्रश्न गर्दै ओलीले त्यती बेला सरकारमा बसेका मान्छेले नै अहिले ठुला ठुला कुरा गरिरहेको बताए ।
प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओली समक्ष माग गर्दै एक ज्ञापन पत्र पनि बुझाएको छ । ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज रुपमा सेवा दिने आफ्नो नीति भएकोले इलाका प्रशासन कार्यालय स्थापना गर्न आफू सकारात्मक रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।