१६ प्रतिशत भन्दा बढी ब्याज लिए सहकारीलाई कारवाही
काठमाडौं । सहकारीमा नयाँ ब्याजदर निर्धारण भएको छ । जस अनुसार सहकारी संस्थाहरुले अब लगानीमा (ऋणमा) अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउनेछन् भने बचतमा कम्तिमा १० प्रतिशत ब्याज दिनुपर्ने भएको छ ।
पछिल्लो समय सहकारीले ऋणमा उच्च ब्याजदर लिने तर सो अनुपातमा निक्षेपको ब्याज नदिने गुनासो बढ्दै गएपछि ब्याजदर निर्धारण गर्नु परेको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिएका छन् । डा. पाण्डेका अनुसार सो व्याजदर आजबाट लागू हुने छ ।
ऋण र बचतमा ब्याजदरको अन्तर (स्प्रेडदर) ६ प्रतिशतभन्दा बढी हुन नहुने उनले बताएका छन् ।
सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को नियम २३ मा तोकिएको आधार र सामान्य भार समेतको आधारमा सो ब्याजदर निर्धारण गरिएको विभागका रजिष्ट्रार डा. पाण्डेले बताएका छन् ।
यो ब्याजदर लागु भएपछि विगतका निक्षेप (डिपोजिट) लाई पनि समायोजन गरी सोही अनुसार लागु गर्नुपर्ने विभागका रजिष्ट्रार डा. पाण्डेले बताएका छन् । देशभरका सहकारीमा सन्दर्भ व्याजदर एकसाथ लागु हुनेछ । हाल देशमा ३४ हजार ८ सय ३७ सहकारी सँस्था छन् ।
सहकारी विभागका रजिष्ट्रार डा. पाण्डेको संयोजकत्वमा गठन भएको समितिले ब्याजदर निर्धारण गरेको हो । समितिमा राष्ट्रिय सहकारी महासंघ, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थमन्त्रालय राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड लगायतका प्रतिनिधि सम्मिलित १० सदस्यीय समिति गठन भएको थियो ।
कर्जामा १६ प्रतिशत भन्दा बढी ब्याज लिएमा सहकारी ऐन २०७४ अनुसार कारबाही हुने विभागले जनाएको छ । ऐनको १२४ मा गरिएको व्यवस्था अनुसार नगरे दफा १२५ अनुसार कारबाही हुने बताइएको छ । ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा बढी कायम गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।