उद्योग वाणिज्य महासंघमा झगडाको भित्री कारण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बिवाद सतहमा आएको छ । विधान समिति संयोजक चण्डीराज ढकालले पदबाट राजीनामा दिएपछि सो कुराको खुलासा भएको हो । महासंघको विधान संशोधन गर्ने विषयमा निवर्तमान अध्यक्ष पशुपति मुरारकासँग बैठकमै झगडा भएपछि पुर्व अध्यक्ष तथा महासंघका हर्ताकर्ता रहेका ढकालले तत्कालै राजिनामा दिएका हुन् । ढकालको राजिनामालाई लिएर अहिले सिङगो महासंघ नै बिभाजित भएको छ । महासंघको बिवादका कारण कार्यसमिति नै बिभाजित भएपछि ढकालको राजिनामा प्रकरणले उग्र रुप लिएको हो । उनले विधान समिति संयोजकबाट समेत राजीनामा दिएका छन् ।
महासंघलाई आफु अनुकुल सञ्चालन गर्दै आएका ढकालले विधान संसोधन गरी निर्वाचनबाट अध्यक्ष चुन्ने र कार्यसमितिको पदावधि दुई वर्ष बनाउने सुझाव दिएअनुसार बैठकमा उक्त प्रस्ताव पेश भएको थियो । विधान संसोधनका लागि चलिरहेको कार्यकारीणी समितिको बैठकले विशेष साधारणसभाको मिति तोक्ने ढकाल पक्षधरहरुको तयारी थियो । तर उनको प्रस्तावमा मुरारकाले विधानको दफा पढाउँदै प्रतिवाद गरेपछि बैठकमै झगडा भएको बताइन्छ । यसअघि पनि बारम्वार आफु अनुकुलका निर्णय गराउँदै आएका ढकालले यो पटक आफुले भनेबमोजिमको निर्णय गराउन नसकेकै कारण घुक्र्याउनका लागि राजिनामाको नाटक मञ्चन गरेको महासंघका एक केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
विधान संसोधन गर्नुपर्छ भन्ने पक्षमा ढकालसहित बर्तमान अध्यक्ष भवानी राणा, उपाध्यक्षहरु किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठलगायतको पनि सहमति थियो । तर पुर्व अध्यक्ष मुरारकासहित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतको असहमति रहेपछि यो स्थिति आएको बताइन्छ । दुई पुर्व अध्यक्षहरुको बिच झगडा शुरु भएपछि अध्यक्ष राणाले विधि र प्रक्रियाअनुसार विधान संशोधन हुने अडान राखेकी थिइन् । त्यसपछि ढकालले बैठक चलिरहेकै बेला अध्यक्ष राणालाई राजीनामा पत्र बुझाएका थिए । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ भने पदावधि ३ वर्षको छ । यो प्रावधान ४ वर्ष अघिको हो । यही प्रावधान अनुसार राणा अध्यक्ष बनेकी थिईन् । तर अहिले महासंघमा बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई अध्यक्ष बन्न नदिनका लागि ढकालले यो प्रपञ्च रचेको थाहा पाएपछि महासंघका पुर्व अध्यक्ष र पदाधिकारी नै बिभाजित भएका हुन् । पुर्व अध्यक्ष ढकालले आफ्नो मिसन पुरा हुने नदेखेपछि राजिनामाको नाटक मञ्चन गरेको उनलाई नजिकबाट चिन्नेहरुले बताउन थालेका छन् । ढकालको भित्री उद्देश्य भनेको शेखरलाई अध्यक्ष बन्नबाट रोक्नु र महासंघमा आफुअनुकुलको अध्यक्ष ल्याउने कसरत हो । यसका लागि उनले कार्यकारिणी सभाबाट बिधान संशोधनको कसरत गरेका हुन् ।
फुटको संघारमा महासंघ
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्ने समय नजिकिँदै गएसँगै बिबाद पनि झांगिँदै गएको छ । साथै बढ्दै गएको अस्वस्थ खेलले पछिल्लो समयमा महासंघमा फुटको संकेत समेत देखिन थालेको छ । दुई वर्षअघि मात्र बिधान संशोधन गरेर राणा अध्यक्ष चुनिएदेखि नै महासंघमा बिवादको बिजारोपण भएको हो । बर्तमान अध्यक्ष राणाले यो विवादलाई ध्यान नदिएकै कारण अहिले सोही विवादले उग्ररुप लिन पुगेको सदस्यहरुको आरोप छ । राणालाई अध्यक्ष बनाउन महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखेर विद्यमान विधानलाई संशोधन गरी महासंघमा आफ्नो दबदबा राखिराख्न विवादित व्यक्ति पूर्वअध्यक्ष चण्डीराज ढकाल सफल भए पनि संस्थाको साख गिर्दो अवस्थामा छ ।
गत वर्षको साधारणसभाबाट महासंघका पूर्वअध्यक्षहरू रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, पशुपति मुरारकाको समूहले भवानी राणालाई अध्यक्ष बनाउन विधानको प्रजातान्त्रिक विधिलाई लत्याउँदै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने, फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति पाँच वर्षपछि पदाधिकारीमा निर्वाचन लड्न र निर्वाचित हुन पाउने जस्ता दफाहरू राखेर संशोधन गरेको दुई वर्ष बित्न नपाउँदै सोही समूहका पशुपति मुरारका र चण्डीराज ढकालबीच पछिल्लो समयमा पानी बाराबारको अवस्थामा पुगेको बताइन्छ ।
महासंघमा बढ्दै गएको विवादकै कारण केन्द्रका र जिल्ला–नगर उद्योग वाणिज्य संघका कैयौं नेताहरू नेपाल चेम्बर अफ कमर्सको सदस्यता लिएर सक्रिय हुन थालेका छन् । यसले महासंघको साखमा गिरावट आएको प्रष्ट हुन्छ । भवानी राणा महासंघको अध्यक्ष भएदेखि नै पूर्वअध्यक्षहरूले वाणिज्य महासंघ पूर्वअध्यक्ष परिषद् गठन गरेर गतिविधि गर्दै आएका छन । बर्तमान अर्थात अहिलेको विधानअनुसार महासंघको अध्यक्ष हुने पालो शेखर गोल्छाको रहेको छ । तर, सोही विधानलाई संशोधन गर्ने भन्दै चण्डीराज ढकालले बैंठकमा प्रस्ताव राखेपछि विवादले उग्ररुप लिन पुगेको स्रोतले बतायो ।
राणा अध्यक्ष बनेपछि महासंघ अधिकांश समय चर्चा र विवादमा आइरहेको छ । अहिले बिधान संशोधनको बिषयलाई लिएर महासंघ फेरि एकपटक चर्चामा आएको हो । महासंघभित्रको सबैभन्दा प्रभावशाली निकाय कृषि उद्यम केन्द्रमा आर्थिक अनियमितता भएको भन्दै तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानका कारण महासंघ यस्तै बिवादमा फसेको थियो । उनको संलग्नता पुष्टि भएसँगै कार्यकारिणी समितिमा चर्को आलोचना पछि उनले राजीनामा दिएका थिए । महासंघमा अहिले अनियमितताको आरोपसँगै विधान संशोधनले समेत चर्चा पाएको छ ।
महासंघ लामो समयदेखि गुट र उपगुटमा विभाजित हुदैं राजनीति स्वार्थमा केन्द्रित भएर चल्दै आएको छ । अढाई दशकअघि तत्कालीन अध्यक्ष विनोद चौधरी दोस्रो कार्यकालका लागि अध्यक्षमा हारेदेखि शुरु भएको गुट र उपगुटले अहिले झनै तिव्रता पाएको छ । अध्यक्षमा हारेपछि चौधरीले महासंघकै समानान्तर जस्तै नेपाल उद्योग परिसंघको स्थापना गरेर लामो समय अध्यक्ष भएर महासंघ फुटाएका थिए । अहिले महासंघमा पुर्व अध्यक्ष ढकालले विधान विपरीत आफ्नो गतिबिधि र क्रियाकलाप अगाडि बढाएपछि महासंघ फुटको संघारमा पुगेको महासंघका सदस्यहरु बताउँछन् ।
उद्योग वाणिज्य महासंघ दुई गुटमा बिभाजित छ र ती दुई गुटको नेतृत्व दुई पूर्व अध्यक्षहरुले गरिरहेका छन् । अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाबीच संवादहिनताकै अवस्था छ । त्यसैगरी पछिल्लो समयमा ढकाल र मुरारका बीच ठूलै टकराव छ । यि दुई बिवादित गुटको नेतृत्व पूर्वअध्यक्ष चण्डीराज ढकाल तथा अर्को समूहको नेतृत्व निवर्तमान अध्यक्ष पशुपति मुरारकाले गरिरहेका छन् । महासंघमा अहिले पनि हालिमुहाली गरिरहेका ढकाल अध्यक्ष राणाको कार्यकाल ०७७ साल चैतमा सकिएपछि पनि आफ्नो राज कायमै राख्न चाहन्छन् । यहि कारण ढकालले वरिष्ठ उपाध्यक्ष गोल्छा अध्यक्षमा निर्वाचित भएको खण्डमा आफ्नो योजना पूरा हुन नसक्ने देखेपछि अनेकौं खेल खेलेर बिधान संसोधन गर्न खोजेका हुन् ।
महासंघले विशेष साधारणसभामार्फत विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान हटाउन खोजेपछि बिवाद सतहमा आएको बताईन्छ । बैठकमा यो विषय प्रमुखताका साथ उठेपछि निवर्तमान अध्यक्ष मुरारका समूहले बैठकमै असहमति गरेसँगै विवाद चर्किएको हो । पूर्वअध्यक्ष ढकाल जो आफैं विधान संशोधन समितिका संयोजक हुन् ‘उनले आफ्नो हात जगन्नाथ’ भने झै गरी बिधान संसोधन गर्न खोजेपछि सिङ्गो महासंघ नै बिभाजित भएको छ । जिल्ला र नगरमा पकड राख्ने ढकाल तिनै संघलाई उपयोग गरेर विधान संशोधन गर्न चाहन्छन । तर, यस विषयमा मुरारका समूहले खुलेरै विमति राखेपछि ढकाल अहिले मुरारका समूहमाथि खनिएका छन् । वस्तुगततर्फका उपाध्यक्ष चन्द्र ढकाल भने यस विषयमा ढुलमुले व्यवहार देखाउँदै आएका छन् । कतिपय सदस्यहरु एकपटक गोल्छालाई अध्यक्ष बनाएर पछि मात्र विधान संशोधनमा जानु उचित हुने बताउँदै आएका छन् भने अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठलगायत अन्य केही सदस्यहरु ढकालको पक्षमा उभिएका छन् ।
महासंघमा अर्को लफडा
यसैबीच ढकाल समूहले मुरारका समूहमाथि कृषि उद्यम केन्द्रको विवाद अघि सारेर अख्तियारमा मुद्दा हाल्नुको उद्देश्य अध्यक्ष राणालाई पदच्यूत गरेर गोल्छालाई कार्यवाहक अध्यक्ष बनाउन सो विवाद गरेको आरोप सार्वजनिक रुपमै लगाइरहेको छ । वर्षाैंदेखि एउटै व्यक्तिको निश्चित स्वार्थको वरिपरि महासंघ घुमिरहनु आफैंमा लज्जाजनक परिस्थिति भएको भन्दै सो कार्य तत्काल बन्द गरिनुपर्ने माग सदस्यहरुको रहेको छ । सो संस्थाभित्र निर्वाचित हुनेले अर्को पक्षलाई पेलेर जाने र अर्को पक्षले निर्वाचित नेतृत्वलाई असहयोग गर्ने अलोकतान्त्रिक परिपाटीको शिकार हुँदै आएको छ । अहिलेको विवाद भनेकै विधान संशोधनका नाममा कसैलाई नेतृत्वमा आउन नदिन गरिएको षड्यन्त्रको प्रतिशोध नै हो भन्ने आरोप मुरारका समूहको रहेको छ ।
निजी क्षेत्रको छाता संगठनको हैसियतमा रहेकाले महासंघले निजी क्षेत्रको भावना नीति निर्मातासम्म पु¥याउने गहन जिम्मेवारी समेत पूरा गर्न सकेको छैन । महासंघको केन्द्रीय कार्यालय टेकुमा गत साउन १५ गते बसेको कार्यकारिणी समितिको १२ औं बैठक चण्डीराज र पशुपतिबीच भएको दोहोरो वाकयुद्धका कारण आजसम्मकै विवादित बैठक बन्नपुगेको बताइन्छ ।