जहाँ छौ तिमी आऊ भो सुशील तिमीविना जिउनै भो मुस्किल

चितवन÷सुशील केसी (खत्री) नहराएको भए ऐले १५ वर्षका अल्लारे हाम्राअघि हुने थिए । अहिले कस्काअघि छन् थाहा भएको भए हराए भन्नुपर्ने थिएन । रातदिन उनकै चिन्ता बोकेर हिंडेकी हजुरआमाले गहभरि आँशु पार्दै भन्नुभयो,– केटाकेटी उमेरमा चक्चके देखिए पनि मीठो बोलिचाली भएको टाँठो नाति २०७४ चैत ५ गते हराएदेखि मेरा आँखा ओभाना छैनन् । ऊ हरपल मेरा आँखा वरीपरी घुमिरहन्छ । जब ऊ हाँसेको, बोलेको, खेलेको सम्झना ताजा हुन्छ तब फेरि मन धरक्क हुन्छ र आँशु तरक्क चुहिन्छ यस्तै छ सर मेरो जिन्दगी ।
भरतपुर महानगरपालिका वडा नं. १६ छहारीचोक नजिकै घर भएका गोपाल केसी र मीना केसीका छोरा हुन् सुशील । २०६२ साल भदौ १८ गते जन्मिएका सुशील देख्न मात्रै राम्रा थिएनन् साथीभाइका नजरमा पनि राम्रा र प्रिय थिए । साथीका कुरा टार्न नसक्ने सुशील साथीहरूसित खेल्न र डुल्न थालेपछि घर जान र खाना खान पनि भुलिदिन्थे ।
जब नातिको याद आउँछ अनि खपि नसक्नु हुन्छ र देखेको सुनेको कुरो गर्न मन लाउँछ । नाति नै बदमास हो कि उसकी आमा कडा स्वभावकी हो भनेर छुट्टयाउन गाह्रो भएका धेरै अवस्था व्यहोरें । धेरै बोले घरमा गाह्रो पर्ला नबोले नाति हराएको पीडा कता पोखूँ मन त्यसै भक्कानिन्छ । हुन त बाउ आमाको मन त्यस्तो नराम्रो होला भन्न पनि सक्दिन ।
कहाँ छौ सुशील आउ छिट्टै घर बिर्सेर अतीत
बिसाउ दुःख आएर घर पीर व्यथा जति छ
जसले बुझ्छ त्यो तिम्रो मर्म उसैले समाल्छ
अरुलाई के छ म भनूँ क्यारी मलाई त पियार छ तिम्रो मलाई त पियार छ ।
कोठामा जाऊँ कि चोटामा बसूँ सम्झना तिम्रै छ
सपना देख्छुु प्रभूले भन्छन् सुशील जिम्दै छ ।
नसम्झ अरु आउ तिमी घर म माफी दिदिन्छु
भएका गल्ति लिएर जिम्मा शरणमा लिदिन्छु नाति शरणमा लिदिन्छु ।
हजुरआमा देवीमाया खत्रीले पटकपटक आँशु झार्दै पोखेका पीडा यस्तै भावनासित मिल्दा छन् । मेरो छोराले उसको छोरा सुशील हराएको सूचना रेडियो नेपाल र नेपाल टेलिभिजनमा बेलैमा दिएजस्तो लाग्दैन । दिएको भए भेटिन्थ्यो कि भन्ने लाग्छ सर । छोरो हराएपछि नेपाल प्रहरीको जागिर छाडेर घर बसेको धेरै पछि कालिका एफएममा जागिर शुरु ग¥यो । त्यहाँ जागिर खान थालेपछि कालिका एफएमबाट सूचना दिएको सम्झना भने छ । हुन त धेरै ढिलो भईसकेको छ तै पनि सरले चासो राख्नुभएकोले मन थाम्न नसकेर यति कुरा राखें जाति हुने हो कि होइन, जाति नभए पनि नाति भेटिए हुन्थ्यो अरु मलाई केही चाहिन्नथ्यो ।
हामी बूढाबूढीका सन्तान ५ छोरा हुन् । ती सबैका गरेर अहिलेसम्म ६ नाति र ५ नातिनी हुन् तीमध्ये एक नाति सुशील हो । उमेरअनुसारका साथीभाइ बनाएको थियो । खेल्न जान्थ्यो, रमाउँथ्यो । यहीँ कुरालाई लिएर बाउआमाले गाली गर्दा हामी हजुरबा हजुरआमाको मन बिग्रन्थ्यो र भन्नु पथ्र्यो सुशीललाई धेरै गाली गर्ने र पिट्ने काम नगर है । अनि हामी नराम्रो हुनुपथ्र्यो । हामी बूढाबूढीका दुःख यी पनि हुन् । हाम्रो माया नाति नातिनीमा हुन्छ किनकि छोराहरु त ठूला भईसके अब नाति नातिनी खुशी र आनन्दले हुर्किनु पर्छ । उमेर अनुसारको व्यवहार र स्वभावलाई बाउ आमाले बुझ्नु पर्छ । पिट्नु र श्राप दिनु नै समाधान होइन । कहिलेकाहीँ लाग्छ, साथीभाइको संगतले सुशील धेरै नै बिग्रेको हो कि त्यसैले बाउआमाको डर पनि बढ्यो कि ! हजुरबुवा कमल खत्रीले संक्षिप्तमा भन्नुभयो,– हो त नि अहिले हामी नाति हराएको पीडामा छौं । खै ! कता गयो कता ?
आमा मीनाका कुरा
छोरो हराएको करिब डेढ वर्षसम्म अत्तोपत्तो नभएको अवस्थामा बुझ्न जाँदा आमाको मन न हो गहभरि आँशु देखिए । हेर्नुस् सर छोराछोरीको माया नलाग्ने बाऊ आमा को होला र ! कक्षा ५ सम्म घरनजिकैको बोर्डिङ (चितवन शिक्षा सदन) मा राम्रो नंबर ल्याएर उत्तिर्ण भएको छोरो बोर्डिङमै पढ भन्दाभन्दै नमानेर सरकारी स्कुल (दुर्गा शेषकान्त मा.वि. विजयनगरमा पढ्न जान जिद्दि ग¥यो । त्यहीँ विषयमा १५–२० दिनसम्म घरमा हाम्रो खट्पट प¥यो । त्यति राम्रो पढेको छोराको मति देखेर हामी बाऊ आमालाई पर्नु पीर परेको थियो । साथीभाइको सङ्गतले बिग्रेको संकेत पाएर हामी चिन्तित थियौं र भयौं । राम्रै बोल्ने, काममा सघाउने, टाँठो बाठो छोरो भनेर गर्व गर्दागर्दै छोराले संगत बिगारेको चाल पाएपछि घरमा चिन्ता र कलह थपिएको पीडा बाहिर भन्दै हिंड्न नमिल्ने ! यो पीडा नबुझ्नेले बाऊ आमाको गल्ति पनि भन्लान् तर दीनदशा बिग्रेपछि नसोचेको हुँदो रैछ भन्नुबाहेक अर्को उपाय पनि छैन आमा मीना केसीले गहभरिका आँशु चुहाउँदै भन्नुभयो । साथीभाइको संगतले छोरो बिग्रने डरले तातो रिसमा एकछिन् गाली गरिन्छ, अनि सम्झाइन्छ । सम्झाएर पनि नभएपछि पिटेर हुन्छ कि भनेर डर पनि देखाउनु प¥यो । कहिलेकाहीँ जसको घरमा पनि विवाद हुन्छ यसैलाई लिएर नराम्रो सोंच्नुभन्दा त्यो छोराको राम्रै खबर पाएर भेट्न पाए पुग्छ सर मलाई ।
उसले पटकपटक गाडीको डाइबर बन्छु भन्थ्यो । पहिला पढ भो भन्दाखेरि शनिवार शनिवार भए पनि जान दिनु है भन्थ्यो । बाबू अहिले त डाइबर बन्न पनि पढ्नु पर्छ पढ् अनि डाइबर बन्लास् । लाइसेन्स निकाल्ने पैसा बरु मैले दिऊँला भनेकी हुँ । डाइबर बन्छु भन्दै स्कुल नजिक पर्ने नारायणीको सेरोफेरोमा हिंड्ने टिप्परमा पनि हिंडेछ र दुई पटकजति त दुई चार दिनमा भेटिएर घरमा ल्याएको पनि हो तर तेस्रोपटक ऊ फर्केर आएको छैन । डाइबर बन्यो कि के बन्यो मलाई थाहा पाउने इच्छाको भिक्षा माग्नु परिरहेको छ । अनि कहाँ कहाँ खोज्नुभयो त ? कति खोजियो कति । माइतबाट भाउजूलाई लिएर खोज्न गइन कि घरबाट परिवारका मानिस लिएर गइन कि ! त्यसबेला मेरो मोबाइल हराएर भर्खरै नयाँ नंबर लिएकी थिएँ । उसलाई आफ्नो बाबाको नंबर कण्ठै थियो तर अन्तिम परीक्षा छोडेर हिंडेको डरले हो कि अहिलेसम्म फोन नआएको भन्ने लाग्छ । खोज्ने र हेराउने ठाऊँ बाँकी छैनन् । पितृ हेराउन जाँदा जहाँ गए पनि काममा लागेको छ फर्केर आउँछ भन्छन् तर कहिले आउँछ भन्न सक्ने कोही नहुँदा पर्नु पीर पर्छ ।
बुवा गोपाल केसी
बुवा गोपाल केसीले पनि भावुक भएर छोरा हराएको पीडा पोख्दै भन्नुभयो,–दाहिने आँखा थोरै टेंढो र दुब्लो पातलो देखिए पनि भित्रको बाठो थियो जोसुकैले झुक्क्याउन र छल्न सक्दैनन्् भन्ने लाग्थ्यो । तर निकै चलाख हुने स्वभावले गर्दा हो कि हामीसित पनि अटेरी गथ्र्यो, त्यहीँ स्वभावको नतिजाले आज ऊ हराएको हो जस्तो लाग्छ । साथीभाइ भएपछि घरका मान्छे नचाहिने बानी परेको थियो । नजिकका केही साथीसंगतीका कारण भोला र चुरोट खाने बानी परेको हो कि साथीभाइका लागि राख्दिएको हो थाहा भएन एक दुई पटक उसको साथबाट भोला र चुरोट भेटियो अनि गाली गर्दै सम्झाउनु परेका क्षणहरूलाई तीतो माने पनि सम्झनु परेको छ ।
मेरो पोष्टिङ सर्लाहीमा थियो, छोरो घुमोस्, ठाऊँ देखोस् चिनोस् भनेर वर्षे विदामा १५÷१६ दिन त्यहाँ राखेर पठाएँ । त्यसबेला पनि कति कुरा देखाएँ, सम्झाएँ । कुनचाहिँ बाबुआमाले आफ्नो छोरो बिग्रेको देख्न सक्ला र ? धेरै कोसिस गरियो तर सप्रनुको सट्टा घर नै छोडेर हिंड्यो । अब जे भो भो नराम्रा दिन बिर्सेर ऊ पनि सुध्रने गरी घर आए गाली र पिटाइ नगरीकन माफी दिन हामी तयार छौं । हाम्रो डरले सम्पर्कमा नआएको भए नडराऊ, सबै कुरा बिर्सेर घर आऊ तिमीलाई बाबुआमा हुनुको नाताले माफी दिन्छौं भन्न चाहन्छु । तिम्रा भाइबैनीले दाइ खोजेका छन् । हजुरबा हजुरआमाले नाति खोज्नुभएको छ । अनि आफन्त र साथीभाइले पनि तिमीलाई खोजिरहेका छन् ।
अन्जानमा जे ग¥यौ किशोर वयमा त्यो गल्ति थियो तर
गर्दियौं माफ तिमीलाई ल छोरा फर्केर आऊ घर
नडराउ छोरा सुशील तिमी, नहोउन पर पर
बिर्सिदेउ विगत जो तीतो थियो फर्केर आऊ घर
बनौला डाइबर गरौला पूरा जे छ तिम्रो रहर
तिम्रै पर्खाइमा छौं सबैजना फर्केर आऊ घर ।।
बुवा गोपालको आसय यिनै भावनासित मिल्दो छ ।
सुशीललाई देखें, भेटें भन्ने जोसुकैले सके घरमा पु¥याइदिन नसके खबर गर्न सक्नुहुन्छ । त्यसका लागि हाम्रो सम्पर्क नंबर ९८६५३ ९२९५१ (आमा, मीना केसी)
९८४५३ ४६२६१ (बुवा, गोपाल केसी), ९८४५१ ७८७९७ (हजुरबा कमल खत्री र हजुरआमा देवीमाया खत्री) ।