‘ठेकेदारले गरेको लापरवाहीको दोष सरकारले किन लिने’
काठमाडौं । भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले निर्माण व्यवसायीको लापरवाहीका कारण सरकारले दोष खानुपरेको बताएका छन् ।
सञ्चारकेन्द्र नेपालले आयोजना गरेको ‘पूर्वाधार निर्माणका चुनौती र अव लिनुपर्ने बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै सांसद बस्नेतले सो कुरा बताएका हुन् । निर्माण व्यवसायीहरु पनि यो देशका जिम्मेवार नागरिक भएकाले जिम्मेवार नै भएर प्रस्तुत हुन उनले व्यवसायीसंग आग्रह गरे । बिकास निर्माण मुलुुकको मेरुदण्ड हो, त्यसकारण जनप्रतिप्रनिधि मात्र होइन निर्माण व्यवसायी पनि सक्रिय र उत्तिकै जिम्मेवार हुन आवश्यक छ सांसद बस्नेतको भनाइ थियो । निर्माण व्यवसायी पनि सरकारका प्रतिनिधि भएकाले सोहि किसिमको जिम्मेवार भएर काम गर्नुपर्नेमा उनको जोड छ ।
तर निर्माण व्यवसायीहरुले अहिले त्यसो नगरेकोले दोषजति सरकारलाई आउने गरेको बताए । भौतिक पूर्वाधार निर्माण जनताको माग र सरकारको प्राथमिकता भएको बताउँदै उनले निर्माणका क्षेत्रमा देखिएका विविध समस्यालाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका पूर्वाधार सदस्य डा. केपी ओलीले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भयो तर पनि सोचमा परिवर्तन हुन सकेन । सोहि कारण पनि पूर्वाधार निर्माणका क्रियाकलाप प्रभावकारी हुन नसकेको उनले बताए । उनले मुलुकमा हाल २१ वटा राष्ट्रिय गौरवका आयोजना निर्माणाधिन अवस्थामा रहेकाले यस्ता आयोजना चाँडै सम्पन्न भएमात्र मुलुकले भौतिक पूर्वाधार निर्माणको लक्ष्य प्राप्त गर्नसक्ने उनको भनाइ थियो ।
नेपाल सरकारका पूर्वसचिव सुरेश प्रधानले मुलुक सङ्घीयतामा गई तीन तहको सरकार बनेको र कसले के काम गर्ने भन्ने तत्काल अन्योल रहेकाले पनि पूर्वाधार निर्माणमा असर परेको बिचार व्यक्त गरे । सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईं, निर्माण व्यवसायी महासङ्घका उप–महासचिव टङ्क चौलागाईं, सोसाइटी अफ कन्सल्टिङ आर्चिटेक्चर एण्ड इञ्जिनियरिङ फर्म नेपालका सचिव इञ्जिनियर कृष्णप्रसाद सापकोटालगायतले निर्माण व्यवसायीले भोग्नुपरेको समस्या बारेमा चर्चा गरेका थिए ।