परिसंघले पूर्वाधार सम्मेलन गर्ने
काठमाडौ । नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वाधार सम्मेलनको तयारी पुरा भएको बताएको छ । परिसंघले नेपाल सरकार, लगानीबोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को मूलभावसहित आयोजना गर्न लागेको यो सम्मेलन सरकारले गतवर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फ्लोअप सम्मेलनका रुपमा रहने परिसंघको भनाई छ । लगानी सम्मेलनका क्रममा भएका कानूनी सुधारको गतिलाई अघि बढाउन सरकारसहित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा रहेको महासंघले बताएको छ । अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वाधारको अवस्था तथा अबको पूर्वाधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नुपर्ने बताइएको छ ।
सम्मेलनको तयारी बारे जानकारी दिन आईतबार परिसंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले पूर्वाधारमा गरिने उच्च लगानीको ‘मल्टिप्लायर इफेक्ट’अर्थात बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्ने बताए ।