प्रचण्डलाई ‘राजतन्त्रवादी’को राप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल दश वर्षको द्वन्द्वकालमा मात्र होइन, अहिले पनि बेलाबेलामा विवादमा आइरहन्छन् । एउटा मानिसले फरक विचार राखेपनि त्यसको सम्मान गर्नुपर्छ भन्ने प्रजातान्त्रिक मूल्यमान्यता र अन्तर्राष्ट्रिय प्रचलन रहेको छ भने प्रजातन्त्रको सौन्दर्य पनि त्यही हो ।
पुष्पकमल दाहालले राजतन्त्र फर्काउन खोजे वा गणतन्त्रको विरोध गरेमा पूर्वराजालाई अहिलेको अवस्थाबाट समेत धकेलेर घरवारविहीन बनाइदिने चेतावनीलाई नेकपाका कैयन् नेताहरुले समेत पचाउन सकेको देखिदैन ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा सामान्य नागरिक सरह जीवनयापन गरिरहेका पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै दाहालले अशिष्ट र अमर्यादित विचार व्यक्त गरेकोमा कडा आलोचना भइरहेको छ ।
राजपाठ बुझाएर सामान्य नागरिक सरह जीवनयापन गर्दै आएका पूर्वराजाले बोल्नै नपाउने भन्ने हुँदैन । सामान्य नागरिकलाई प्राप्त हुने अभिव्यक्ति अधिकार उनलाई पनि छ ।
स्वतन्त्र अभिव्यक्ति दिन पाउने संविधानप्रदत्त हकविरुद्ध दाहालले दिएको अभिव्यक्ति यो पहिलो भने होइन, यसअघि पनि दाहाल, बाबुराम भट्टराई, माधव नेपाललगायतका कतिपय नेताले पूर्वराजालाई लक्षित गर्दै घोचपेच गरेका थिए । त्यसबेला पनि विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधारणले पूर्वराजाले पनि बोल्न पाउँछन् भन्ने अभिव्यक्ति दिएर उनीप्रति सहानुभूति राखेका थिए ।
सिंगो समाज एकातिर भएपनि फरक चिन्तन गर्नेहरुले फरक कुरा बोल्न सक्छन् । तर त्यसको अर्थ बोल्नै नपाउने भन्ने होइन । दाहालले सार्वजनिक समारोहमा “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा शरण पर्न आएकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संरक्षण दिइएको हो, बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्न सक्नेछन् ” भनेका थिए ।
राजतन्त्रवादीले मात्र होइन, कतिपय गणतन्त्रवादीहरुले समेत प्रजातन्त्रमा सवैलाई स्वतन्त्रता हुन्छ भन्दै निरंकुशता प्रदर्शन नगर्न दाहाललाई चेतावनी दिएका छन् । दाहालको यो अभिव्यक्तिले पार्टीलाई समेत विवादमा तानेको छ ।