के गर्दैछ काँग्रेस ?
काठमाडौं । नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसले कात्तिक मसान्तभित्र अन्तरिम संरचना गठन गर्ने कार्यविधि र निर्देशिका पारित गरेको छ । केही दिनअघि बसेको केन्द्रीय समिति वैठकले त्यस्तो निर्णय गरेको हो । संघीयता अनुसार पार्टीको अन्तरिम संरचना गठन गर्न भदौको पहिलो सातासम्ममा प्रतिनिधि खटाइसक्ने र भदौ २० गतेभित्र अन्तरिम संरचना बनाइने सहमति भएको पनि नेताहरुले वताएका छन् ।
केन्द्रीय सदस्यहरुलाई नै प्रतिनिधिका रुपमा खटाउने तयारीमा सभापति शेरबहादुर देउवा पक्ष रहेपनि रामचन्द्र पौडेल पक्षले विरोध जनाएपछि पार्टीले बनाएको निर्वाचत समितिले प्रतिनिधि खटाउने तयारी गरेको हो ।
१३ औं महाधिवेशनमा चयन भएका क्षेत्रीय प्रतिनिधिलाई आधार मानेर क्षेत्रीय कार्यसमितिको नेतृत्व टुंगो लगाइने छ । यस्तै प्रदेश समितिको पनि टुंगो लगाउने तयारी गरिएको र पुरानो २ सय ४० निर्वाचन क्षेत्र मध्ये १ सय ६५ क्षेत्रमा वरिष्ठताका आधारमा नेतृत्व सुम्पिने व्यवस्था गर्न लागिएको एक केन्द्रीय सदस्यले बताएका छन् । हाल १ सय ६५ निर्वाचन क्षेत्रमा वरिष्ठताका आधारमा नेतृत्व गर्ने भनिएपनि त्यसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडललगायत विभिन्न नेताको भागवण्डा मिलाउनुपर्ने भएकाले विवाद उस्तै रहेको पाइएको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको जुहारीले केन्द्रीय समितिदेखि वडास्तरसम्म पार्टीभित्र ध्रुविकरण बढाउँदै लगेको नेताहरुले स्वीकार गरेका छन् ।
यसैबिच नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा सभापति शेरबहादर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बाहेकबाट सभापति चयन हुने ठोकुवा गरेका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रहेका कोइरालाले यथास्थितिमा काँग्रेस चल्न नसक्ने भएकाले नेतृत्व परिवर्तन अवश्यम्भावी भएको बताए ।
अब नेपाली काँग्रेस जसरी अहिले चल्दै आएको छ त्यसरी चल्न सक्दैन, कोइरालाले भने, देउबा र पौडेलजीबाहेकबाट सभापति बन्नुपर्छ । सभापतिका लागि आफूले पनि उम्मेदवारी दिनेबारे सरसल्लाह गरिरहेको बताए । तर, उम्मेदवारी घोषणा गरिनसकेको उनको दावी थियो । पार्टीका साथीहरुसँग सरसल्लाह गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।
समयमै महाधिवेशन नहुँदा पार्टीलाई असर पर्ने उनले बताए । संसद र स्थानीय निकायको निर्वाचनमा समेत असर पर्न सक्ने भएकाले समयमै महाधिवेशन गर्नुपर्नेमा उनको जोड थियो ।
अर्को एक प्रसंगमा कास्की २ मा वामदेव गौतम उम्मेदवार भए हराइदिने उनले बताए । गौतम उम्मेदवार भए नेपाली काँग्रेसलाई जित हासिल गर्न सजिलो हुने दाबी गरे । उनले भने, वामदेव उम्मेदवार भए झन् हामीलाई जित्न सजिलो हुन्छ । सरकार बदनाम भइसकेकाले चुनावमा काँग्रेसले राम्रो नतिजा ल्याउन सक्ने उनले बताए ।