नेतादेखि कर्मचारीसम्मलाई गाइजात्रे झटारो
काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित साक्षात्कार कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर नेतादेखि कर्मचारीसम्मलाई झटारो हानेका छन् । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार आयोजित ‘गाइजात्रा विशेष’ साक्षात्कार कार्यक्रममा हाँस्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई व्यङग्यका निसाना बनाएका थिए ।
देशमा ब्याप्त भ्रष्टाचार, बलात्कार, ठगी र सामाजिक संजालमामाथिका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङ्ग्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिंखडाले समाजमा घटिरहेका विभिन्न प्रकारका घटनाको बारेमा व्यङ्ग्य गरेका छन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको भन्दै उनले नेताहरुका आसेपासेहरुले देश लुटिरहेको गहिरो व्यङ्ग्य प्रस्तुत गरे । ‘गाउँको हजारौ विघा जमिन बाँझै छोडेर नेतालाई भोट हाल्ने युवाजति सबै विदेशमा रहेका र नेताले आफ्ना सात पुस्तालाई पुग्ने सम्पत्ति कमाउने धन्दामा रहेकाले देश विकासमा ध्यान नदिएको व्यङ्ग्य गरे ।
प्रधानमन्त्री केपि शर्मा ओली तथा काँग्रेस सभापती शेरवहादुर देउवाको शैलीलाई बोलीमा उतार्दै उनले समय र परिवेश अनुरुप देश अगाडी नबढेको बताए ।
त्यस्तै कार्यक्रममा हाँस्यकलाकार दमन रुपाखेतीले वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाएका छन् । सरकार जनताका जनजीविकाप्रति संवेदनशील नभएको, हत्याहिँसा र बलात्कारका घटना दिनानुदिन बढिरहेको भन्दै उनले गणतन्त्रको नाममा जनतालाई करले थिचिरहेको बताए । उनले उखान टुक्काले मात्र देशमा रहेका विसंगतिको अन्त्य नहुने पनि बताए ।
त्यस्तै अर्का कलाकार जोगेन्दर पानवालाले विकसित तथा विकासोन्मुख देशमा राजनैतिक व्यङ्ग्य नहुने जनाउँदै हाम्रो देशमा पनि राजनितीमाथीको व्यङ्ग्यको अन्त्य हुुनुपर्ने दिनको पर्खाईमा जनता रहेको बताए ।
दुई तिहाईको शक्ति रहेको सरकारले विकासका काममा ध्यान दिन आवश्यक रहेको बताउँदै उनले देशमा व्याप्त भ्रष्टाचार, विषादियुक्त भान्सा, जनतामाथी सरकारको हैकम, करको दायरा बढाउँदा जनताको दैनिकीमाथी प्रभाव, लुटेरा भ्रष्टलाई दिने तक्मा तथा सम्मान र नेताको विकास सम्बन्धी योजनाहरुका बारेमा व्यङ्ग्य प्रस्तुत गरेका थिए ।
कलाकार राजाराम पौडेलले पछिल्लो समय राजतन्त्र फर्कने हल्ला चलिरहदा नेताको व्यवहारबाट वाक्क भएका र राजाले देश बेच्न नसक्ने जनाए । उनले भने ‘राजाले बरु अंगुरको वाइन खालान् तर होली वाईन खाँदैनन् ।’
अहिलेको संघीयताले पनि देशलाई कंगाल बनाउँदै लगेको आरोप लगाउँँदै उनले जनताले सोचे जस्तो देशमा परिवर्तन नआएको, प्रदेश सांसद तथा माननियहरुले राजा भन्दा पनि माथीको शैली देखाई रहेको बताए ।
सामाजिक सञ्जालमा बढेको विकृतिविरुद्ध प्रहार गर्दै उनले भने ‘अहिलेका सामाजिक सञ्जाल के भएका ? दिसा पिसाव गरेकोे समाचारलाई प्राथमिकता दिएर प्रसारण प्रकाशन गरिरहेका छन् । वास्तविक पत्रकार को हो भन्ने छुट्टयाउन गाह्रो, जता पनि जात्रा नै जात्रा ।’
त्यस्तै डा.घनश्याम खतिवडाले देशमा व्याप्त समस्याको बारेमा भित्र सम्मै समस्या रहेको जनाउँदै हरेक क्षेत्रमा भ्रष्टाचार र अनियमियताले प्रसय पाएको आरोप लगाए । सामाजिक संजालको दुरुपयोग दिन दुई गुना रात चार गुनाले बृद्वि भईरहेको भन्दै उनले भने ‘श्रीमान विदेशमा हुनेहरुका श्रीमती व्याइफ्रेन्ड बनाउँदै हिडेका छन् । अनुसन्धानको दायरामा आउनुपर्ने भिडीयोहरु युट्युवबाट हेर्न मिलिरहेको छ । मेसिनरीसंगको सम्बन्धले हाम्रो धर्म, संस्कृतिमाथी हस्तक्षेप भईरहेको छ ।’