भारतीय बिदेश मन्त्री किन आउँदैछन् नेपाल ?
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर भदौ ४ मा नेपाल आउने भएका छन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रिस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि नेपाल आउन लागेका हुन् । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हुन लागेको हो ।
नेपाल–भारतबीचको सम्वन्ध कसरी अघि बढ्छ भन्ने संशय अझै हट्न नसकिरहेको बेलामा हुन लागेको बिदेश सचिवको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ । भारतका नयाँ विदेशमन्त्री जयशंकरका पालामा भारतले नेपाल नीति परिवर्तन ग¥यो भने त्यो नेपालका लागि हितकर हुन्छ कि हुँदैन भन्ने बिषयमा नयाँ बहस शुरु भएको छ ।
नाकाबन्दीका बेला खलनायकको भूमिकामा देखिएका जयशंकर भारतीय प्रधानमन्त्रीका प्रिय पात्र हुन् । उनलाई प्रधानमन्त्री मोदीले अमेरिकाको राजदूतबाट सोझै विदेश सचिव बनाएका थिए । मोदीको दोस्रो कार्यकालमा उनलाई विदेशमन्त्रीको जिम्मेवारी दिइएको छ । उनका पिता के. सुव्रमण्यम पनि प्रसिद्ध रणनीतिक विश्लेषक मानिन्थे ।
चीनले अघि सारेको वीआरआई परियोजनालाई ठाडै अस्वीकार गर्ने, नरेन्द्र मोदीलाई अमेरिका भ्रमण गराउने र अमेरिकी राष्ट्रपति वाराक ओबामालाई सन् २०१५ मा भारत भ्रमण गराउने जस्ता भूमिका खेलेर जयशंकरले चर्चा पाए । तर छिमेकीप्रति उनको नीति निकै आलोचनात्मक देखिन्छ ।
नेपाल र भारतका प्रवुद्धवर्ग व्यक्ति समूहले संयुक्त रुपमा बनाएको प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्रीले आनाकानी गर्दा सो प्रतिवेदन अलपत्र अवस्थामा छ । सन् १९५० को सन्धि खारेज वा संशोधन गर्न भारत तयार नभएकाले नै प्रतिवेदन बुझ्न आनाकानी भइरहेको बुझिएको छ ।
व्यापार र पारवहन सन्धि, जलस्रोत, वातावरणलगायतका विषय उल्लेख गरिएको प्रतिवेदनमा नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा प्रस्तुत गरिएको हुँदा भारतले ती सबै कुरा नपचाएको देखिन्छ । डा. भेषबहादुर थापाले भने भारतीय पक्षको प्रतिक्रिया नआएसम्म अहिले नै त्यसबारे धेरै टिप्पणी गरिरहँदा अपरिपक्व हुने बताएका छन् ।