‘प्रतिगामी’ सल्बलाएपछि सर्वदलीय वैठक

काठाडौं । सरकार असफल भएको सन्देश दिँदै अहिलेको व्यवस्थाप्रति नै जनतामा वितृष्णा फैल्याउने प्रयास भैरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आफ्नै निवासमा सर्वदलीय वैठक डाकेर प्रम केपी ओलीले राज्य प्रणालीमाथि प्रहार भइरहेको भन्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् । गणतन्त्रलाई कहीबाट पनि खतरा छैन भन्दै त्यसलाई जोगाउन सरकार सक्षम छ भन्ने प्रधानमन्त्री अचानक किन राज्य प्रणालीमाथि संकट भएको देख्न थाले भन्ने प्रश्न निकै जटिल बन्दै गएको राजनीतिक बिश्लेषकहरु बताउँछन् । कर मात्रै उठाएर स्वाहा पार्ने प्रदेश सरकार चाहिदैन भन्ने आवाजहरु उठ्न थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेको बताइन्छ । यसैगरी स्थानीय तह बलियो भए पुग्छ र संघ कमजोर भएपनि केही फरक पर्दैन भनेर संघीयताप्रति नै नकारात्मक प्रचार भएको पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा बताएका थिए । भ्रष्टाचार, ढिलासुस्ती, महंगी, कालोबजारी, राष्ट्रिय गौरवका आयोजनामा अलमल, विदेशीको थिचोमिचो, दवाव र प्रभाव बढेको भन्दै राजतन्त्र नै ठिक थियो भन्ने भ्रम छर्ने काम प्रतिगामीहरुले गरेको भन्दै प्रधानमन्त्री ओलीले सवै राजनीतिक दल मिलेर परास्त गर्नुपर्ने धारणा अगाडि सारेको बैठकमा सहभागि एक नेताले बताए ।
सरकार प्रजातन्त्र विरोधी भएको आरोप सर्वदलिय वैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले लगाएका थिए ।
देउवाले भने झै प्रेसलाई नियन्त्रण गरेर, मानवअधिकारलाई कुण्ठित बनाएर वा स्वतन्त्रता हनन गरेर संविधानको भावना र मर्मविरुद्ध काम गर्ने छुट कसैलाई हुँदैन । जनविद्रोहको आगो सल्किन थाल्यो भने त्यसबेला सर्वदलीय वैठक बोलाएर समस्याको समाधान हुने देखिदैन ।
सामाजिक सञ्जाल र मिडियालाई मात्र दोष दिनुको सट्टा सरकारले आफ्ना कमीकमजोरी सच्याउँदै प्रजातन्त्रका अन्तर्राष्ट्रिय मूल्य मान्यताको सम्मान गर्नुपर्ने भन्दै अधिकांश नेताहरुले सरकारको कामको निन्दा गरेका थिए ।