बुवालाई पनि आमालाई जस्तै श्रद्धा गरौं
प्रसंग पितृऔंशी
आमाको अगाडि ओझेल परेको माया हो बुवा । आमाको महिमा गाएरै नसक्ने नेपाली समाजमा बुवाको महिमा औसतमा गौण भएको छ । भौतिक स्पर्शले आमाजति नजिक नभए पनि बुवाको महत्वलाई कम आँक्न मिल्दैन । अपवाद छाडेर धेरैजसो विवाहित पुरुषहरू बच्चा चाहन्छन् । जसरी चाहन्छन् उसैगरी बच्चाको स्याहारसुसारमा तल्लिन रहन सबै पुरुष सक्रिय छन् भन्न मिल्दैन । यद्यपि बुवा बनिसकेपछि हुने जीवनको ओजका कारण बोझ नमानीकन दिने माया र जिम्मेवारीमा कमी छैन । बच्चाको लालनपालनलाई चाहिने आर्थिक व्यवस्थापन, रेखदेख, हेरविचार, सुरक्षा र भैपरि आउने हरेक किसिमका घटना र दुर्घटनाको जिम्मेवारी बुवामा पनि छ ।
पढाइ, लेखाइ, ज्ञान, बुद्धि, विवेक, क्षमता, कौशल बृद्धि, स्वास्थ्य र शारीरिक सुगठनलगायत जीवनभोगाइका अनेक चरणमा बुवाको साथ र सहयोग रहेको हुन्छ । हुन त अहिले आमा पनि शिक्षित, चेतनशील र क्षमतावान भईसकेको युग हो । अहिलेका अधिकांश आमाहरू केही कुरामा कमजोर छैनन् भने चित्त बुझ्ला । आमा बलिया भए पनि बुवाको महत्व कमजोर भएको छैन । बुवाले दिने आड भरोसाले छोराछोरीलाई थप उर्जा दिइरहेको हुन्छ । आमासँग नमिलेका विचारलाई बुवाले मिलाउने र बुवासँग नमिलेका विचारलाई आमाले मिलाउने कार्यले बच्चालाई विचारको द्वन्द्वमा निखार ल्याउन सहयोग पुग्छ ।
अधिकांश छोराछोरी आमाकै छत्रछायामा हुर्कनु स्वाभाविक हो । यो प्राकृतिक देन हो र सकारात्मक सोच राख्ने आमाका लागि बरदान हो । जसकारण बुवाको दाँजोमा आमाहरू छोराछोरीका प्रिय भएका छन् । आमाकै कुरा सुन्छन्, पत्याउँछन् र बुवालाई वास्ता गर्न चुक्छन् । बाहिर जसको भूमिका जति प्रशंसनीय रहे पनि घरमा प्रायः श्रीमान श्रीमतीबीचको कटू सम्बन्धले गर्दा छोराछोरीलाई भ्रम हुन्छ कि आमा सही वा बुवा ? आमाको सामिप्य पाएका छोराछोरीले आमाकै कुरामा विश्वास गर्छन् र बुवाको बारेमा गलत बुझाइ पाल्छन् । जबसम्म उनीहरूले विवेक प्रयोग गर्न सक्दैनन् आमाको रटानलाई किटानका साथ बुवाका विरुद्ध कायम राख्छन् । यो मनोदशा सबैका घरमा हुन्छ भन्ने दावी गर्न मिल्दैन तर अधिकांश घरमा यस्तै स्थिति छ । जे जसो भए पनि कसैका घरमा शारीरक रूपमा बुवा बलिया होेलान् त कसैका घरमा अन्य कुनै कारणले आमा बलिया होलान् । तर सबै कारणमा एकैजनाको बलबुता पर्याप्त हुँदैन त्यस अवस्थामा आवश्यकताअनुसार दुवैको महत्व रहन्छ ।
अझै पनि नेपाली समाजमा आमा गृहिणीको रूपमा र बुवा बाहिरतिर पेशा, व्यवसाय, जागिर वा अन्य कुनै सामाजिक गतिविधिमा संलग्न रही आर्थिक जोहो गर्ने जिम्मेवारीमा रहनेको बाहुल्य छ । यस्तो अवस्थामा अधिकांशतः आमाले भन्दा बुवाले देश, काल, परिस्थिति, व्यवहार बढी बुझेका हुन्छन् । धेरैभन्दा धेरै जनसम्पर्क हुने, पढाइ र भोगाइका हिसाबले पनि बढी जानकार हुने भएकाले छोराछोरीले बुवाको महत्व पनि बुझ्न जरुरी छ र बुवाको महिमा बढाउँदाको फाइदा छोराछोरीलाई नै बढी हुन्छ । आमाको मायामा पुल्पुलिएका आजका छोरा भोलिका बुवा हुन् र ती छोराले त अझै त्यो भविष्य पनि सोचेर बुवाप्रतिको अपरिपक्व व्यवहारमा परिवर्तन ल्याउनै पर्छ । हुन त अहिलेका धेरै आमाहरू सामाजिक संजालबाट संसार बुझ्न थालेका छन् यद्यपि गृहिणी आमाका कुरा सुनेर घरभित्रका कुरामात्र सिकिन्छ भने बुवाका कुरा सुनेर संसारका कुरा सिकिन्छ भन्ने बुझ्ने हो भने बुवाका कुरामा पनि ध्यान दिने गर्नुपर्छ ।
आमा र बुवाको महिमा जाँच्ने तराजुको खाँचो देख्नु जरुरी छैन तर आ–आफ्नो ठाउँमा दुवैको महत्व कम छैन भन्ने बुझेर र बुझ्ने कोसिस गरेर समय सन्दर्भमा उचित मूल्यांकन गर्न सक्ने छोराछोरीले आमाको मुख हेर्ने दिन र बुवाको मुख हेर्ने दिन पर्खनु पर्दैन । जसका बुवा आमा हुनुहुन्छ उहाँहरूलाई छोराछोरीले समान श्रद्धा र विश्वासको व्यवहार गर्नु पर्छ । जे होस् आमाको महिमा नघटाइकन बुवाको महिमा बढाउने सूत्र के हो भने आमाको ज्ञान र जीवनभोगाइका कुरा अनि बुवाको ज्ञान र जीवनभोगाइका कुराको यथेष्ट फाइदा लिने प्रयास गर्दै बुवा र आमाप्रति समभाव र सद्भावको अभिबृद्धि गर्नु असल छोराछोरीको कर्तव्य हो । बुवा नहुनेले बुवाको मुख हेर्ने दिनमा बुवाको उत्तम विचार र भावनाको कदर हुने कार्य गर्ने संकल्प गरौं । बुवा हुनेले बुवाका असल भावनाको कदर गरौं । बुवाको महत्वलाई बुझेर दुःखी, पीडित, रोगी भए स्याहार सुसार सहयोग र संरक्षणमा लागौं । समग्रमा बुवाको सहारा बनौं । छोराछोरीप्रति आमाबुवाले देखेका सपना साकार पार्ने सत्मार्गमा लागौं । छोराछोरीप्रति हरेक आमाबुवाको आशा यहीँ हुनुपर्छ । यो आशालाई निराशाले नरुवाउनु नै बाबुआमाप्रति छोराछोरीको धर्म हो । मुख हेर्ने दिन भनेर बजारका मिठाइ र स्टोर गरेका फलपूmल लगेर स्वास्थ्य बिगार्नुभन्दा स्वास्थ्यबद्र्धक खानेकुरा र बुवाआमाको तत्कालको आवश्यकता के हो ? सकिन्छ भने त्यो खाँचो बुझेर सोही अनुसारको व्यवहार गर्नु बुद्धिमानी हुनेछ । नसके जे सकिन्छ राम्रो मात्र गरौं देखासिकीको नाममा हानी हुने चीज खुवाएर, पियाएर मुख हेरेको फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेर गर्व नगरौं ।