युवा उद्यमशीलतामा लगानी

काठमाडौं । उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निर्शत लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिना धितो लोन र ब्याज अनुदानको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्ने भन्दै नेपाल युबा उद्यमशील सम्पन्न भएको छ ।
नेपालका अधिकांश युवाहरु रोजगारीको लागि बिदेसिन बाध्य छन् । तर सरकार भने देशको अर्थतन्त्र बलियो बनाउन युवा उद्यमशीलतामा लगानी बढाउनु पर्ने निश्कर्षमा पुगेको छ । यो अवधारणासहित दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ काठमाडौंमा सम्पन्न भएको छ । ४३ जिल्लाका करिव ५ सय युवा प्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुँदें घोषणा पत्र पनि जारी भएको छ ।
प्रदेश ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउण्डेसनको सहआयोजनामा उक्त सम्मेलन भएको थियो । सम्मेलनको समापन सत्रमा आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाहरुको बिजनेश प्लान माथि सरकार र निजी क्षेत्र लगानी गर्न तयार हुनु सकारात्मक पक्ष भएको उनको दाबी थियो । यो सम्मेलनले युवाहरुमा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टाटप कम्पनी खोल्न सहयोग पुर्याउने बताए ।
सो कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले बिगतका कमी कमजोरी र गलत प्रबृतिका कारण युवाहरुले बिदेश पलायन हुनुपरेको बताए । अब दुई तिहाई प्राप्त यो सरकारले ब्यवस्थित योजनाका साथ युवाहरुको आइडिया माथि लगानी गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले नयाँ युवाहरुको सोच माथि लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजिकरण गर्नुपर्नेमा जोड दिए । ढकालले उद्यमी बन्न त्यति सहज नभएको भन्दै ठुला भन्दा ठुला चुनौतीको सामना गर्न सक्ने युवा मात्र सफल उद्यमी बन्नसक्ने बताए ।
सम्मेलनमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेँल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, शंकरप्रसाद कोइराला, प्रदेश ३ उद्योगमन्त्री अरुण नेपाल, पुर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, बरिष्ठ उद्यमी हरिभक्त शर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण केसी, दिलिप अग्रवाल, बैंकर अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेतलगायत ४० भन्दा बढिले कार्यक्रममा आफनो धारणा राखेका थिए ।