कमलको ‘बुबा’ उत्कृष्ट
काठमाडौँ । निजी क्षेत्रबाट मोवाइल सेवा उपलव्ध गराउँदै आएको एनसेलले सर्ट फिल्म प्रतिस्पर्धा आयोजना गरेको थियो । सो प्रतिस्पर्धामा कमल सुवेदी र उनको समूहले बनाएको फिल्म ‘बुवा’ उत्कृष्ट घोषित भएको छ ।
बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट इच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समावेश हुन आह्वान गरेपछि प्रतियोगितामा ७० भन्दा बढी सर्ट फिल्महरु आएका थिए ।
निर्णायक मण्डलले पहिले उत्कृष्ट १० र त्यसपछि बिजेता छानेका थिए । क्यूएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दिन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाईं निर्णायक रहेको प्रतियोगिताको मुख्य उद्देश्य भनेको युवा प्रतिभालाई आफ्नो सीप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकहरुका साथ सामाजिक सञ्जालमार्फत साझा गर्न मिल्ने सामग्रीहरु हेर्दै यो विशेष दिन मनाउनु रहेको छ ।
बुधबार क्यूएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियरसमेत गरिएको थियो । सो समारोहमा नेपाली चलचित्र उद्योगका अग्रज व्यक्तित्व, चलचित्रकर्मी, दिग्गज कलाकार, मिडियाकर्मीको सहभागिता रहेको थियो ।
उत्कृष्ट १० भित्र पर्न सफल फिल्म एनसेलले बुवाको मुख हेर्ने दिन अर्थात शुक्रबार आफ्नो सामाजिक सञ्जाल मार्फत सो भिडियो सार्वजनिक गरेको छ ।
सोही कार्यक्रममा उत्कृष्ट सर्ट फिल्मलाई एनसेलका चिफ टेक्निकल अफिसर मोहम्मद अदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेन्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा पहिलो पुरस्कार पाउने ‘बुवा’ले रु १ लाख नगद पुरस्कार र समूहका तीन जनाले प्रत्येक महिना १२ महिनासम्म १० जीबी डाटा पाएका छन् । त्यस्तै विशाल न्यौपाने र उनको समूहले बनाएको फिल्म ‘द इन्ड अफ कल्चर’ले दोस्रो पुरस्कार स्वरूप रु. ७५,००० नगद पुरस्कार र समूहका तीन जनाले प्रत्येक महिना १२ महिनासम्म १० जीबी डाटा प्राप्त गरेका छन् ।
द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ले सेकेन्ड रनर अप बन्दै रु ५०,००० नगद पुरस्कार जित्नुका साथै समूहका तीन जनाले प्रत्येक महिना १२ महिनासम्म १० जीबी डेटा पाएका छन् ।
कार्यक्रममा राजा महर्जन ‘बुवा’ र राइजिङ स्टार नेपालको ‘ड्याड, सन एन्ड ल्यापटप’ले सान्त्वना पुरस्कार हात पारेका थिए । सान्त्वना पुरस्कार अन्तर्गत यी दुई सर्ट फिल्मले रु २५, २५ हजारका साथै यी दुई सर्ट फिल्म निर्माण समूहका ३, ३ जनाले १० जीबी एनसेल डटा प्रत्येक महिना १२ महिनासम्म प्राप्त गर्ने एनसेलले जनाएको छ ।