काँग्रेसमा हिन्दु राष्ट्रको मुद्दा चर्कदै

काठमाडौं । संबिधानमा धर्म निरपेक्षता राख्न सहमति गरेको नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमा हिन्दुधर्मबारे बहस चलाएको छ । काँग्रेस बैठकमा उठेको यो बहस बेमौसमी भएको टिप्पणी हुन थालेको छ । यसअघि फाट्टफुट्ट धर्मबारे कुरा उठ्ने भएपनि बैठकमा यति लामो बहस हुन सकेको थिएन । राजनीतिक प्रस्तावमाथि जारी छलफलका क्रममा केन्द्रीय सदस्यहरूले पार्टीको सिद्धान्तसमेत धार्मिक स्वतन्त्रता रहेको भन्दै धर्म निरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्नुपर्ने सहितको माग उठेको हो ।
नेपाली काँग्रेसले धर्म निरपेक्षतामा सहमति गरेकोमा पार्टीभित्रबाट नै आलोचना भईरहेको थियो । नेताहरु केबी गुरुङ, लक्ष्मणप्रसाद घिमिरे, शंकर भण्डारीलगायत ले हिन्दु राष्ट्रको पक्षमा खुलेरै वकालत गर्दै आएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता बालकृष्ण खाँणले पनि हिन्दु राष्ट्रको मुद्दाप्रति अब पार्टी गम्भीर बन्नुपर्ने बताएका छन् । नेता खाँणले पार्टीको चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता हो र सरकार आफैंले राज्यकोषबाट होली वाइन जस्ता कार्यक्रम आयोजना गरेर आम नेपालीको धार्मिक आस्थामाथि प्रहार गरेको आरोप लगाएका छन ।
उता कांग्रेस नेता शेखर कोइरालाले आगामी पार्टी महाधिवेशनमा हिन्दु राज्य स्थापना गर्नेबारे पार्टीभित्रै ठूलै दबाब पर्न थालेको खुलासा गरेका थिए । तर उनीहरुको भनाईको प्रतिबाद गर्दै अर्का केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले केन्द्रिय समितिको बैठकमा महामन्त्री शशांक कोइराला र केन्द्रीय नेता शेखर कोइरालाप्रति लक्षित गर्दै हिन्दु राज्य स्थापनामा लागेको भन्दै आपत्ति प्रकट गरेका छन् ।
पार्टी सभापति निकट केन्द्रीय सदस्य एनपी सावदले पनि हिन्दु धर्मको पक्षमा धारणा राखेका थिए । नेपाली काँग्रेसमा अहिले हिन्दु राज्य र धर्म निरपेक्षताको पक्षमा जनमत बढ्दै गएको छ । नजिकिदै गएको चौंधौ महाधिवेशन सम्ममा पुग्दा यसले कुन रुप लेला भन्ने कुरा अहिले नै अनुमान लगाउन हतारो हुनेछ । हिन्दु धर्मको एजेन्डा पार्टीभित्र प्रवेश गराएर मुलुकलाई थप अन्योलमा धकेल्न नहुने भन्नेहरुको जमात पनि काँग्रेसभित्र ठुलै छ । सरकारका कमी कमजोरी प्रति प्रतिपक्षले खेल्नुपर्ने भुमिकाप्रति इंगित गर्दै नयाँ नयाँ एजेन्डा प्रवेश गराएर मुलुकलाई थप अन्योलमा पु¥याउन हुन्न, संविधानमा जे व्यवस्था छ, त्यसैलाई मानेर जानुपर्छ, एक केन्द्रिय सदस्यले बताए । बैठकमा केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, मीन विश्वकर्मा, उमाकान्त चौधरी, गोविन्द भट्टराई, अमृत अर्याललगायतले सरकारका विरुद्ध सडक र सदनमा प्रभावकारी प्रतिपक्ष बन्नुपर्ने बताएका थिए ।