कांग्रेसले सदन र सडक तताउने, कार्यकर्ता र जनतालाई कस्ले फकाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला सरकारविरुद्ध सडक र सदनबाट प्रतिरोध गर्ने घोषणा गरेको छ । कार्यसमिति वैठकमा प्रस्ताव पेश गरेपछि कसरी आन्दोलन गर्ने भन्ने विषयमा छलफल शुरु हुने जनाइएको छ । हरेक क्षेत्रमा वर्तमान सरकार असफल हँुदैछ भनेर कांगे्रसले आरोप लगाएपनि कांग्रेसले जनभावनाको प्रतिनिधित्व गरेर आफ्ना कार्यकर्ताहरुलाई समेत तताउने सकेको छैन ।
नागरिकको अधिकारमाथि सरकारले हमला गरेको भन्दै कांग्रेसले गुनासो गर्दै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले नेपाललाई कम्युनिष्ट राज्य नै बनाउन खोजेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय पत्रकार संगठन र प्रेस युनियनले संयुक्त रुपमा हालै काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकार प्रजातन्त्र विरोधी हुँदै गएको र सोही कारणले मानवअधिकार, प्रेस स्वतन्त्रता, मौलिक हक र प्रजातान्त्रिक अधिकार कटौती गरेको आरोप लगाए ।
त्यस्तै भ्रष्टाचारलगायतका विभिन्न १० वटा विषयमा आवाज उठाउने राजनीतिक प्रस्ताव ल्याएको कांग्रेसको केन्द्रीय समिति वैठकले तार्किक निष्कर्ष निकाल्न सकेको छैन । एजेन्डाहरु कमजोर हँुँदै गएको कांग्रेसले जनभावना अनुसार प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेको छैन । पार्टीका एजेन्डाहरु सार्वजनिक गर्दै जनमानसमा छरेर जनआकर्षण केन्द्रित कार्यक्रम ल्याउन नसकेको कांग्रेसले प्रधानमन्त्री केपी ओलीले विश्वका प्रजातान्त्रिक मूल्य मान्यताविरुद्ध सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्दै लगेको र सरकार अधिनायकवादी भएको आरोप मात्र वारम्वार लगाउँदै आएको छ ।
कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले केन्दीय समिति वैठकमा बोल्दै सरकारले काण्डैकाण्ड मच्चाउँदा पार्टी सडक र सदनमा प्रभावकारी रुपमा विरोध गर्न नसकेको भन्दै सरकारविरुद्ध ७७ जिल्ला र ७ प्रदेशका केन्द्रमा ठूला सभाहरू गर्न आवश्यक रहेको औल्याएका छन् ।
जागरण अभियानका नाममा यसअघि पनि कांग्रेसले नेताहरुलाई विभिन्न जिल्ला पठाएको थियो । विभिन्न कार्यक्रम गरेको थियो । तर त्यो अभियान त्यति सफल हुन सकेन । स्थानीय नेता, कार्यकर्तालाई जागरुक बनाउन पुगेका नेताहरुलाई उल्टै सुझाव दिएर पठाएका थिए । जिल्लास्थित नेता, कार्यकर्ताले पहिले केन्द्रीय नेताहरु नै जागृत हुनुपर्ने र उनीहरु एकतावद्ध नहुन्जेल पार्टी बलियो नहुने सुझाव दिएका थिए ।
कांग्रेसले राष्ट्रिय÷अन्तर्राष्ट्रिय एजेन्डाहरुमा प्रष्टसँग बोल्न सकेको छैन । विगतमा भारतले नाकाबन्दी गर्दा कांग्रेस बोल्न सकेन । कश्मीर प्रकरणमा पनि कांगे्रसले सरकार बोल्ने हो भनेर पन्छियो । सो प्रकरणमा सरकार पनि हालसम्म स्पष्ट रुपमा बोलेको छैन ।
पार्टी सभापति शेरबहादुर देउवाको नाम समेत जोडिएको बाईडबडी खरिदमा भएको घोटालाबारे कांग्रेस स्पष्ट बोल्न सकेको छैन । जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘हवाईजहाज काण्ड’ उल्लेख गरिएकोमा केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गरेका छन् ।
सहमहामन्त्री प्रकाशशरण महतले तयार पारेको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको ‘वाइडबडी काण्ड’ लाई लक्षित गर्दै ‘हवाईजहाज’ भन्ने शब्दावली प्रयोग भएकोमा प्रश्न उठाउँदै संस्थापन इतरका केन्द्रीय सदस्यहरुले ‘वाइडबडी’ लेख्न किन डराएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
केन्द्रीय सदस्यहरुले जहाज प्रकरण मात्र उल्लेख गर्दा लाउडा काण्ड, चेज काण्ड, विमान दुर्घटना हो कि वाइडबडी भन्न खोजिएको हो भन्ने भ्रम सिर्जना भएको भन्दै राजनीतिक प्रस्तावमा वाइडबडी भनेर किटानीसाथ लेख्नुपर्ने माग गरेका छन् ।
त्यस्तै केन्द्रीय सदस्य शेखर कोइरालाले पनि आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा असफल भएको सरकारविरुद्ध कांग्रेसले मौनता साधेर बस्न नहुने बताएका छन् । उनले वाइडबडीलगायत ठूला काण्ड र मुद्दाहरूमा पार्टीको औपचारिक धारणासमेत ल्याउन माग गरेका छन् ।
सहमहामन्त्री महतले भने ‘वाइडबडी’ मात्रै नभएर ‘न्यारोबडी’को अनियमितताको विषयसमेत आएकाले ‘हवाईजहाज काण्ड’ भनेर लेखिएको भन्दै नेतृत्वको वचाउ गर्न खोजेका छन् ।
सम्वैधानिक अंगलाई समेत आफ्नो तजविजमा राख्न खोज्ने, प्रेस स्वतन्त्रता र गुडी प्रथालाई कुण्ठित पार्न खोज्ने र संविधानप्रदत्त हकहितलाई सरकारको अनुकुल हुने गरी खुम्च्याउन खोज्ने प्रवृत्तिले सरकार प्रजातान्त्रिक विधिलाई विर्सिदै छ भन्ने सन्देश गएको राजनीतिक विश्लेषकहरुको पनि टिप्पणी छ । एक विश्लेषक भन्छन् “यस्ता हस्तक्षेपविरुद्ध जनता आन्दोलित भएको भए त्यसको केही अर्थ हुन सक्थ्यो । तर भुत्ते भइसकेको नेपाली कांग्रेसले जनभावनाका नाममा आफ्नो दुनो सोझ्याउने प्रयास गर्दै सडक र सदन तताउने उद्घोष गरेपनि त्यसले सरकारलाई त्यति ठूलो धक्का दिन सक्ने सम्भावना देखिदैन ।”