छोटियो दुरी, बढ्यो दाम, तीव्र गतिमा काम
काठमाडौं–तराई द्रुतगमार्ग
काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं–तराई द्रुतमार्गलाई तीव्र गतिमा अघि बढाउने प्रतिवद्धता जनाएको छ । ललितपुरको खोकनाबाट वारा जिल्लासम्मको ७२.५ किलोमिटर लामो सो सडक राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले २०७४ साल साउन २७ गते नेपाली सेनालाई निर्माणका लागि जिम्मा दिएको थियो ।
चार वर्षसम्ममा निर्माण गर्ने लक्ष्य राखिएपनि केही प्रकृयागत कामहरु अघि बढ्न नसक्दा आयोजना लम्विने संकेत देखिएको छ । आयोजनाको डिपिआरले पूर्णता पाउन नै दुई वर्ष लागेका कारण पनि सो सडक निर्माणमा ढिलाई भएको छ ।
कोरियन कम्पनीले डिपिआर बनाएर दिएको चार महिना अर्थात २०७६ साल भदौ ४ गते मात्र डिपिआर स्वीकृत भएको हो । नयाँ डिपिआर अनुसार सडकको दुरी छोटिएको छ भने लागत बढेको छ । निर्माण अवधि लम्विन सक्ने सडक आयोजनामा संलग्न सेनाका प्राविधिक अधिकारीहरुले बताएका छन् । एक खर्ब ७५ अर्ब रुपैयाँ अनुमानित लागत वताइएको सो आयोजनामा ४३ अर्ब लागत बढेको सैनिक अधिकारीहरुले बताएका छन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुुसार द्रुतमार्गको लागत मूल्य अभिवृद्धि करसहित कुल एक खर्ब ७५ अर्ब रहेको छ । निर्माणको समयमा आउने विविध र भैपरी खर्च नेपाल सरकारले उपलब्ध गराउने उनले बताएका छन् ।
सो सडकले प्राचीन सम्पदा मासिने भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका बेला सेनाले काठमाडौं–तराई जोड्ने द्रुतमार्ग बनाउँदा सांस्कृतिक सम्पदा वचाउने प्रतिज्ञा गरेको छ । खोकनाको सिकाली मन्दिर, कुदेस क्षेत्र लगायत ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरुको संरक्षण गर्न सेनाले रेखांकन परिवर्तन समेत गरेको जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले खोकनाको सांस्कृतिक र धार्मिक सम्पदा जोगाउन डिपिआरमा केही रेखांकन परिवर्तन भएको स्पष्ट पारे । ललितपुरको खोकना काठमाडौं–तराई द्रुगमार्गको जिरो किलोमिटर भएकाले त्यहीबाट सडक अघि बढाउने भएपछि स्थानीय वासिन्दाले विरोध गरेका थिए । उनीहरुले धार्मिक र सांस्कृतिक महत्वका मठ मन्दिर मासिने डर भएको भन्दै विरोध जनाएपछि त्यहाँबाट चार किलोमिटर पर फर्सिटोललाई प्रस्थान विन्दु बनाइएको बताइएको छ ।
सिकाली र कुदेसलाई वचाउँदै वागमति किनार छेउ हुने गरी नयाँ रेखांकन भएको छ भने साढे तीन वर्षभित्र सो द्रुतमार्ग निर्माण हुने कुरा सेनाले स्पष्ट गरेको छ । राष्ट्रिय गौरवको आयोजना जतिसक्दो चाँडो पूरा गरेर सरकारलाई सुम्पने वताउँदै सेनाले तीव्र गतिमा काम गर्ने जनाएको छ ।
सेनाका अनुसार द्रुतमार्गको ७२ दसमलव ५ किलोमिटर दुरी एक घन्टा दुई मिनेटमा पार गर्न सकिने छ । द्रूतमार्ग चार लेनको हुनेछ । पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने बताइएको छ । डिपिआर अनुसार यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य ७१ वटा बनाइने भएको छ । यो सडकमा तीन वटा सुरुङ मार्ग बन्ने भएको छ ।
महादेवडाँडामा ३ दशमलव ३५ किलोमिटर र छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलो मिटर सुरुङ मार्ग बन्ने छ ।
यसअघि एसियाली विकास बैकले छोक्रेडाँडा, ठिंगन र लेनडाँडामा १ दशमलव ३७ किलोमिटरको सुरुङमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ मार्ग बनाउन लागेको फास्ट ट्रयाक आयोजनाका प्रमुख सहायक रथी श्रेष्ठले बताएका छन् ।
द्रूतमार्गको सम्पूर्ण कामको ८ प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ । ७२ दशमलव ५ किलोमिटर सडकमध्ये ६.५ सुरुङमार्ग र १०.५९ किलोमिटरमा पुल बन्नेछन् । पुलको ८० प्रतिशत र सुरुङको ४६ प्रतिशत काम भइरहेको सेनाले जनाएको छ । द्रूतमार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने सम्भावना रहेको बताइएको छ ।