पहाड चढ्दै सीके
काठमाडौं । स्वतन्त्र मधेशको राजनीति परित्याग गरेर देश टुक्र्याउने नीति विर्सदै मुलधारमा आएको भनिने सिके राउतले शक्ति संचयका लागि प्रयास गरिरहेका छन् । तराईमा मात्र केन्द्रित उनको जनमत पार्टीको संगठन पहाडी जिल्लाहरुमा विस्तार गर्न थालेका छन् ।
निर्वाचन आयोगमा दल दर्ता गराएपछि उनले तराईका विभिन्न जिल्लाका साथै ६ वटा प्रदेशमा संगठन बनाएका छन् । १, २ र ५ नम्वर वाहेक उनको संगठन पहाड केन्द्रित हुने बताइएको छ । आउँदो चुनावमा विभिन्न देशी–वैदेशिक शक्तिको मद्दतले केही सिट जित्न सकिन्छ भन्ने उनको विश्लेषण रहेको उनी निकटस्थहरु वताउँछन् ।
संसदीय उपनिर्वाचनमा आफै उम्मेदवार भएर सिके संसदबाटै आफ्ना कुरा राख्न खोजिरहेका छन् । यस्तो स्थितिमा उनको एजेन्डालाई सवैले समर्थन नगरे पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आफूले मान्यता र ‘माइलेज’ पाउँदै जाने राउतको उद्देश्य देखिन्छ ।
प्रधानमन्त्री केपी ओलीले नाटकीय ढंगले सार्वजनिक समारोहका बीच सम्झौता गरेपछि ठूला वैधानिक दलका नेतासँग झै प्रचारप्रसारको छुट पाएका हुन् । राउतको राजनीतिक शैलीलाई इमानदारीपूर्ण प्रयास भन्दा पनि आफ्नो भविष्य सुरक्षित गर्दै अघि बढ्ने रणनीतिका रुपमा हेरिएको छ ।